Comments Add Comment

अँधेरो पूर्णिमा

चन्द्रमाको चहकमा पृथ्वी लोलाएको छ । पुलको ठीक बीचमा बसेर म आफ्नो महत्त्वाकांक्षालाई अन्तिम दृढता दिन उभिरहेको छु ।

निकै वर्ष पहिले, एउटी अधबैंसे महिलाले यही पुलबाट खोलाको छातीमा आफ्नो जिन्दगी सुम्पिदिएकी थिई । उसको अस्थिपञ्जरलाई कहिल्यै पनि छालले किरानामा छोडिदिएन । हुन सक्छ, ऊ जलजीवको आहारा भई । ऊ पूर्ण प्रकृतिको चक्रसँगै माटोमा सम्मिलित भइसकी ।

उसको यस प्रकारको मृत्युसँग म कहिलेकाहीँ तर्कना गरिदिन्छु र सोच्छु– जुन प्रथाले उनको हत्या गर्‍यो, त्यसको संवेदनाले उसको लास देख्न पाएन । उसले मृत्युबाट आफ्नो शालीन विद्रोहको दृष्टान्त दिएकी हो ।

समयको बहावमा त्यो घटना १३ वर्ष पुरानो भए पनि स्मृतिसँग निकै समीप छ । हो, उनी मेरी आमा थिइन् । त्यस रात उनीछेउ मस्त निदाइरहेको थिएँ म ।

सम्झनाको सिलोटमा त्यसदिन (आत्महत्याअघि) प्रस्फुटित भएका उनका भावहरू यति स्पष्ट छन् कि म अझै पनि आफूलाई ती सन्त्रासयुक्त खैरा आँखामा अल्झिरहेको पाउँछु ।

ती आँखा– जुन केहीबेरअघि मानिसहरूबाट बोक्सीको परिचयसँग साक्षात् भएका थिए । ती आँखा– पूर्णिमामय आकाशबीच टोलाइरहन्थे । ती परिवर्तनका माग गर्थे । ती सहनशीलताप्रति प्रश्न उठाउँथे ।

म मान्छु कि मान्छेले आफूभित्र सिङ्गो युग बोकेर हिँडेको हुन्छ । वर्तमानसम्म मैले स्थापित नैतिकताको पालना गरिरहेँ । अब आफ्नो आधा युगमा मैले नवीन मान्यतालाई समर्थन गर्नुपर्छ, भविष्यको हिस्सेदार बन्नुपर्छ ।

१३ वर्षअघिको त्यो क्रूर रातमा मलाई एक कठोर विवशताले समातेको थियो । म विकल्पहीन भई त्यसलाई महसुस मात्र गरिरहन्थेँ । मसँग त्यति साहस थिएन कि म परम्परामा गढेको अवैधानिक पक्षलाई मेरा आवाजहरूले खण्डित तुल्याइदिऊँ । आखिर क्रान्तिका केही विध्वंशित प्रहार आवश्यक छन्, जसले मानिसका संरचित विश्वासलाई चुनौती दिन सकोस् ।

(आमा– जीवन बाँच्ने रहरबीच मर्ने प्यास र मर्ने प्यासबीच बाँच्ने रहरको सिँगौरी मात्र होइन ।)

मेरी मामाघरको बहिनीलाई पनि ‘बोक्सी’को अप्रमाणित आरोपहरू आउन थालेपछि नै पितृसत्तात्मक प्रथाप्रति सुस्त रहेको आक्रोश एकाएक जुर्मुराउन थालेको हो, ममा । आजको पूर्णिमाको चहकले मलाई कताकता संकेत गर्छ– आज फेरि मृत्युको रात दोहोरिएको छ ।

ज्याकेटभित्र लुकिरहेको एउटा खुकुरी छ । यो झनै भारी लाग्न थालिरहेछ मलाई ।

स्मरणको एक चित्र 

पहाडको अँगालोमा बेरिएको एक अविकसित गाउँ थियो, त्यो । जहाँ शिक्षा र सुविधाहरू अपरिपक्व भएर आइदिन्छन् । जहाँ आधुनिकतालाई प्राचीन मान्यताहरूले परास्त गरिदिन्छ । जहाँ शासक र शोषित दुवै आफ्नो परिभाषामा राम्ररी अटाएका छन् । जहाँ अन्धविश्वासले समानतालाई कैद गरिदिन्छ । जहाँ सामन्ती संस्कृतिअघि सामाजिक संवेदना घुँडा टेकिदिन्छ ।

जहाँको मानिसलाई बन्धक बनाइदिन्छ देवलछेउको ढुङ्गाले पनि । क्षितिजको असीमिततालाई पनि त्यहाँको आँखाले सीमित देख्छ ।

यही गाउँको पधेँरो, वन, खेतबारी, मैदान, गोरेटो इत्यादि गर्दै बितेका दिनहरूले मेरी आमाको हत्केलामा ठेला उमारेर गइदिन्थे । मलाई योसम्म थाहा छैन, घाँस काट्दै विरह गीत गुनगुनाउनु, ठेकीमा मोही तयार पार्नु, आदि क्रियाबाट जीवनलाई कस्तो आश्वासन दिइरहेकी थिइन् उनले ? के साँच्चै उनी घर नफर्किएको एक लाहुरेको तस्वीरमा जीवनसाथीको आभास पाउँथिन् ?

अहो ! ती पर्खाइले गम्भीर बनेका आँखामा कसरी छचल्किन्थे जिन्दगीका गतिहीन गतिशीलताहरू ।

कामज्वरोले ठूलोबुबाको अकाल मृत्यु भएपछि घरमा एक प्रकारको असन्तुष्टि व्याप्त थियो । मेरी आमा, घरका बाँकी सदस्यअघि एकदमै लाचार देखिनुहुन्थ्यो । कति राम्ररी बुझेकी थिइन् उनले जीवनको रीतिलाई ।

त्यसैबीच, एकदिन जब मुर्दाको खप्परअघि रुद्राक्षको माला लगाएर ढ्याङ्ग्रो ठोक्दै एउटा झाँक्रीले घोषणा गरिदिन्छ– मेरी आमा बोक्सी हुन् । उनले ठूलोबुबालाई बिगार गरेको कारण उनको ज्यान गयो । मेरो सानो मस्तिष्कमा त्यस कुराप्रति विश्वस्त हुने केही आधार थिएन र अहिले पनि छैन ।

तर त्यहाँ उपस्थित भिडको आँखामा अनौंठोपन छ्याङ्गिसकेको थियो । त्यस झाँक्री एउटा लामो चाबुकले बारम्बार आमाको पिठ्युँमा हिर्काइरहेको थियो र उनी बारम्बार आफू निर्दोष रहेको कुरा अवरूद्ध कण्ठमा भनिरहेकी थिइन् । उनको याचना र चित्कारमा मानिसहरू मौनदर्शक बनिरहे । सबैजना एउटा विषम धैर्यमा नियालिरहेका थिए– ‘अब के हुन्छ ? गाउँ निकाला गरिन्छ वा दिसा खुवाइन्छ ?’

त्यहाँका मानिस यति क्षुब्ध थिए कि कसैले पनि उनको सरल व्यवहारलाई त्यस दोष विपरीतको प्रमाण बनाउन सकेनन् । उनको तातो आँसुलाई सबै गाउँलेले स्वाद मानेर निलिदिए । अन्ततः उनलाई गाउँबाट बहिस्कार गरियो ।

अवचेतन मनमा ठूलो पीडा बोकी म पनि आमाको पछि लागेको थिए । रात छिप्पिन थालिसकेको थियो । हामी एउटा सानो चौतारोमा बसेका थियौं । आमाको शरीरभरि चोटैचोट थियो । ममताले विह्वल उनी शब्दविहीन थिइन् । म पनि केही बोल्न सकिरहेको थिइनँ । उनी आफ्नो अपमानित अवस्थामा निकै अप्ठ्यारो मानिरहेकी थिइन् । त्यसैले उनी पछ्यौराले अनुहार पन्छाएर चुपचाप बसिरहिन् । बिस्तारै उनी केही सजक भएजस्तो देखिन थालिन् ।

त्यसैबेला उनको हातले मेरो टाउको मुसारिरहेका थिए । एकोहोरो मेरो अनुहारमा हेर्दै भनेकी थिइन्–

‘तिमी यो दिन कहिल्यै नबिर्सिनू’

म विस्मित भएर उनलाई हेरिरहेँ । एउटा अव्यक्त सम्बन्धको आभास हामीले पाइरहेका थियौं । त्यस्तो सम्बन्ध जुन नवीन अध्यायको सुरूवात र पुरानो संगतिको विराम बीचको खालीपनमा स्थापित हुन्छ ।

उनले अड्कँदै फेरि भनिन्–

‘तिम्रो बुबा आउँदैनन् । तिमी अब मामाघरमा गएर बस्नू ।’

(साँच्चै, बुबा आएनन् पनि ।)

अबेरसम्म उनी सुस्केरा हाल्दै बसिरहिन् र म उनको छेउमै निदाएँ । बिहान उठ्दा, पाखाहरूमा विरह गीत गाउँदै जंगली फूल बटुलिरहने एउटा निस्कपट जिन्दगी सधैंका लागि समाप्त भइसकेको थियो ।

*****

मलाई लाग्न थाल्छ– अब यस विचलित भावनालाई ठोस घटनामा परिणत गरिदिनुपर्छ । जतिजति म अगाडि बढिरहन्छु, त्यति नै म भ्रमको संघार छेउ पुगिरहेको आभास हुन्छ ।

झाँक्रीको घर अब आधा किलोमिटरको दुरीमा छ । आसपासका घरहरू सबै निद्रालाई थुनेर बन्द छन् । नजिकैको खोल्सामा रमाइरहेका झ्याउँकिरीको स्वर मेरो कानमा परिरहन्छ ।

केही परको झाँक्रीको घर पनि अन्धकारमय देखिन्छ । सम्भवतः ऊ निदाइसक्यो । आफ्नो चाललाई स्वाभाविक बनाउने चेष्टा गर्दै म जोड–जोडले उसको ढोका ढक्ढकाउँछु । ऊ एक्लै बस्छ, यो मलाई थाहा थियो । म परिवेशसँग सावधान रहन टाढा–टाढासम्म नियाल्छु । कतै पनि मानव आकृतिको भान पाउँदिन ।

यद्यपि हृदय कुनै निश्चित गति समात्दैन । शरीरको बढ्दो तापक्रममा म भिज्न थालिसक्छु । बुढो झाँक्री जबर्जस्ती निद्रालाई धपाउँदै ढोका खोलिदिन्छ । मलाई देखेर ऊ कति पनि सन्दिग्ध हुँदैन, आँखाभरि प्रश्न झुण्डाएर मेरो उपस्थितिको कारण सोध्छ । म ज्याकेटभित्रको खुकुरी छाम्दै याचना भावमा बोल्छु–

‘मेरो मामाकी छोरी एकदम साह्रो भई । तपाईं तुरुन्तै गइदिनु पर्‍यो ।’

ऊ मलाई सजिलै पत्याइदिन्छ । ‘एकछिन है’ भन्दै ऊ फेरि आफ्नो सामान लिन कोठाभित्र पस्छ । मेरो मनोबल अब भत्किन थाल्छ । ‘के म यत्रो अपराध गर्न सक्छु ?’ तर यो त मेरो आत्माकै पुकार थियो । ‘बाल्यकालदेखि हृदयमा सल्केको आगो मत्थर पार्न मैले यो मनोवृत्तिलाई साकार पार्नै पर्छ’, मनले यस्तै सोचिरह्यो ।

घर भित्रबाट झाँक्री हत्पताउँदै बाहिर आउँछ । मलाई लाग्छ– ‘उसको बाँच्नुको सार्थकता अब एकैछिनमा नष्ट हुनेछ । यो समयमा टाढा कतै कराइरहेको स्यालको आवाज पनि पातलिँदै गएको छ । यो ठीक समय हो ।’

बुढो झाँक्री मछेउ आएर उही साधारण तरिकाले भन्छ–

‘जाऔं… !’

कताकता मलाई आफ्नो स्थिति शंकास्पद लाग्छ । मभन्दा तीन कदम अगाडि हिँडरहेको झाँक्रीको चालमा कुनै सन्देह देख्दिनँ । डरले यति दबाइरहेको छ कि म आफूलाई पनि कतैबाट छल्न सक्दिनँ । हो, उसको अनुहार जति नै साधारण देखिए तापनि त्यसले नजानिँदो तरिकाले मेरो संकल्पलाई ठूलो चुनौती दिएको छ ।

म आफ्नो सचेतनालाई इन्द्रियको बोधसँग थाम्न खोजिरहन्छु । बिस्तारै ज्याकेटभित्रबाट चम्किलो खुकुरी निकाल्छु । त्यसको दाप पनि हटाएर नाङ्गो पार्छु । ऊ यहीबेला पछाडि फर्कियो भने यहाँ स्थिति अनियन्त्रित भइदिन सक्छ वा उल्टिन सक्छ सबै रहस्य !

अहिले ऊ एकोहोरो बाटो पहिल्याइरहेको छ । म खुकुरी जोडले समात्छु । त्यसपछि निकै कम अन्तर रहन्छ, ऊ पछाडि फर्कनु, खुकुरीको टुप्पोले उसको घाँटीका नसा काटिनु, उसको आँखा एकचोटि निकै भयभित हुनु, चोटको आघातमा ऊ लड्नु ।

जति म उसको घाँटीमा खुकुरी रेट्दै जान्छु, उति ऊ एक मुठ्ठी विद्रोहको श्वास जम्मा गर्न खोजिरहन्छ । म चाहन्छु– ऊ अझै तड्पियोस्, जसरी मेरी आमा तड्पिएकी थिइन् । ऊ कराओस्, चिच्याओस्, बिलौना गरोस्, जीवनको पुकारा गरोस् र उसले यस विकृतिमा कतैबाट कुनै सहयोग नपाओस् । ऊ आशारहित भई पूर्णरूपमा टुक्रियोस् । मृत्यु भोग्नुअघि उसले जीवनको सबैभन्दा कठोर अनुभूति पाओस् र उसको दिव्य निष्कर्षमा आफू एक संकुचित परम्पराको कुरूप पात्र भएको ज्ञात होस् ।

म चाहन्छु– झाँक्रीको हत्याको सन्त्रासबाट अन्धविश्वासलाई चेतावनीको धक्का परोस् ।

उसको देहमा खुकरीको अन्तिम प्रहार गरेर म लासलाई लावारिस छोडिदिन्छु । सन्तुष्टिजस्तो केही मभित्र टाँसिन आउँछ । आफ्नो भर्खरको क्रिया एकदम विचित्र लागे पनि मेरो निम्ति यो पश्चातापको विषय होइन ।

यो गाउँप्रति मेरो दायित्व सकिसकेको छ । अन्यायविरुद्ध एउटा विद्रोह घटित् भइसकेको छ ।

हो, नवयुगको द्वार मैले रगतले पोतिदिएको छु । मैले यस अपराधमा आफूलाई पिल्साउनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment