+
+
Shares

येन बद्धो बलिराजा…(फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १९ गते १२:१७

१९ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राहृमण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

यसै दिन ब्राहृमण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ ।

यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रहृमसूत्र अथवा ज्ञानको धागो भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण भीड कम गर्न सरकारले आह्वान गरेको छ । कुनै पनि समारोह वा उत्सव आयोजना गर्दा भौतिक दूरी कायम गरी २५ जनाभन्दा कम उपस्थित हुनुपर्ने नियम छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेकामा यस वर्ष कोरोनाको भएकै कारण उत्सव छैन ।

यस पर्वका अवसरमा केही वर्षअघिसम्म सार्वजनिक बिदा दिर्ने गरिएकामा हाल कटौतीमा परेको छ ।

तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?