+
+
Shares

ठेक्का लागेको झोलुंगे पुल समयमा नबन्दा तुइनबाट खसिन् फूलमाया

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २० गते २०:३१
फाइल तस्वीर

२० साउन, पोखरा । २०७२ सालको असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्रमा देशलाई तुइनमुक्त बनाउने घोषणा गरे ।

सरकारको योजनाअनुसार लमजुङको दोर्दी गाउँपालिका कीर्तिपुरवेशी र सरानचोकवेशीका दुईवटा तुइन हटाएर झोलुंगे पुल हालियो । ३ वर्षअघि कीर्तिपुरवेशी र सरानचोकवेशीको तुइन हटाउँदा माझखर्क गाउँ र कर्पीवेशी जोड्न भने तुइन बनिरहेको थियो।

दोर्दी–७ को माझखर्कबेसीमा जलकन्या देवीको मन्दिर छ । त्यहाँ जनैपूर्णिमामा मेला लाग्छ । दोर्दी खोला तर्ने पुल हुन्थ्यो भने जम्मा ५ मिनेटकै समयमा जलकन्या देवीको दर्शन गर्न पुग्न सकिन्थ्यो । तर, पुल नबनेपछि स्थानीयले त्यही ठाउँमा तुइन हालेर १ घन्टाको बाटोलाई ५ मिनेटमा छोट्याएका थिए ।

‘यता सरकारले तुइन हटाउने भनेर योजना अगाडि बढाइरहेको थियो । उता माझखर्कवेशीमा भने स्थानीयले तुइन हालिरहेका थिए,’ दोर्दी गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले भने, ‘केही समयअघि जीर्ण र जोखिमयुक्त भएपछि त्यो तुइन पनि हटाइएको थियो ।’

प्रदेश सरकार गठन भएपछि तुइन बिस्थापित गर्ने संघीय सरकारको योजनाअनुसारै त्यो ठाउँमा पुल बन्ने भयो । प्रदेश सरकारले त्यही ठाउँमा झोलुंगे पुल बनाउनका लागि ५८ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

असारभित्रै काम सक्ने गरी ठेक्का लगाएर काम भइरहेको थियो । पुल बनाउनका निम्ति सामान ओसार–पसार गर्न फेरि त्यही ठाउँमा तुइन हालियो । ‘एकातिर रुखमा र अर्कोतिर खाँबो गाडेर तुइन जोडिएको थियो । खासमा त्यो मान्छे जान–आउनभन्दा पनि सामान ओसार्नका निम्ति थियो,’ गाउँपालिका उपाध्यक्ष दिलबहादुरले भने, ‘तर, मान्छेहरु बाटो छोटो हुने भएकाले त्यही तुइनबाट पनि हिँड्न थाले ।’

असारभित्रै सक्ने भनिएको पुल निर्माण चलिरहेको थियो, देशमा कोरोनाको माहामारी सुरु भइहाल्यो । लकडाउन भएपछि सबै काम नै रोकियो । छोटो बाटो पर्ने भएकाले त्यही तुइन प्रयोग गर्दा मंगलबार १ जनालाई बेपत्ता बनाएर कहाँ पुर्‍यायो अत्तोपत्तो छैन ।

दोर्दी खोलामाथिको तुइनको डोरी चुँडिएर दोर्दी–६ सिमी घर भई कीर्तिपुरबेंसी बस्ने २५ वर्षीया फूलमाया गुरुङ बेपत्ता भएकी हुन् । उनी जनैपूर्णिमाको दिन जलकन्या मन्दिरमा पूजा गर्न जाँदै थिइन् ।

सँगै गएका १७ वर्षीय विकास घलेले भने खोलामा खसेपछि तुइनको डोरी समातेर ज्यान बचाए । कीर्तिपुरबेंसीका स्थानीयले अहिले पनि जोखिम मोलेर त्यही तुइन प्रयोग गर्दै आएका थिए । १ घन्टाको दूरी छोट्याएर ५ मिनेटमै मेलापात गर्न, जलकन्या मन्दिरमा पूजा गर्न र गाडी चड्ने स्थानसम्म पुग्न केही स्थानीयले तुइन प्रयोग गर्ने गरेका थिए ।

‘घुमेर जाँदा १ घन्टा लाग्थ्यो । तुइन चढेर जाँदा ५ मिनेट । पुल निर्माण हुँदै गरेकाले त्यो सामान ओसार्न लगाइएको थियो । तर, मान्छेले घुमाउरो बाटो नहिँडेर छोटो बाटो खोज्दा घटना घट्यो,’ उपाध्यक्ष दिलबहादुरले भने ।

कीर्तिपुरबेसी र सरानचोकवेसीवासीका खेतबारी जान आउन पनि त्यही तुइन प्रयोग गर्ने गरेका थिए । त्यहाँ २० घर जति रहेको उनले जानकारी दिए ।

त्यहाँबाट मान्छे हिँड्न थालेपछि धेरै पनि रोकिएकोसमेत उनले बताए । दोर्दीमा अहिले त्यही एउटामात्र तुइन रहेको र त्यही तुइनका कारण दोर्दीले मान्छे बेपत्ता पारेको उनको भनाइ छ ।

‘देशमा कोरोनाका कारण लकडाउन नभएको भए अहिलेसम्म पुल बनिसक्थ्यो । तर, कोरोनाकै कारण पुल बन्न सकेन । अहिले मान्छेकै क्षति भयो,’ उनले भने, ‘पहिले त्यो ठाउँमा तुइनै थिएन । गाउँले छोटो पर्ने भएकाले तुइन हालेपछि सरकारले पुलको योजना ल्याएको थियो ।’

दोर्दीमा बेपत्ता परेकी फूलमाया अझै भेटिएकी छैन । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?