Comments Add Comment

कोरोना रोकथामका लागि प्रदेश २ ले संघीय सरकारसँग माग्यो विशेष प्याकेज

२५ साउन, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना रोकथामका लागि विशेष प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग आग्रह गरेको छ ।

तीन दिनअघि काठमाडौं पुगेको मुख्यमन्त्री लालबाबु राउतको टोलीले आइतबार संघीय सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, श्रम मन्त्री रामेश्वर राय यादवसँग भेट गर्दै प्रदेशमा फैलिरहेको कोरोना भाइरस रोकथामका लागि विशेष प्याकेज ल्याउन आग्रह गरेका छन् ।

प्रदेश २ बर्तमान समयमा कोरोना भाइरसबाट अति प्रभावित भएकाले तत्काल विशेष प्याकेज ल्याउन आग्रह गर्दै मुख्यमन्त्री राउतले प्रशासन तथा सुरक्षा निकायलाई थप चुस्त दुरुस्त रुपले काम गर्न लगाउनुपर्ने र सीमा क्षेत्रमा कडाई गराउन आग्रह गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलसँगको भेटमा मुख्यमन्त्री राउतले प्रदेशका गम्भीर बिरामीलाई तत्काल काठमाडौं पु¥याउन हेलिकप्टर स्ट्याण्डबाई राख्न तथा कोरोना उपचार सम्बन्धमा कुनै कमी हुन नदिन माग पनि गरे ।

यस्तै, प्रदेशमा चिकित्सकहरुको विशेषज्ञ टोली तत्काल पठाउनुपर्ने तथा सबै निजी अस्पतालहरुमा कम्तीमा २० प्रतिशत आइसोलेसन बेड उपलब्ध गराउन पनि मुख्यमन्त्रीले आग्रह गरे ।

छलफलका क्रममा उपप्रधानमन्त्री पोखरेलले वीरगञ्ज नेशनल मेडिकल कलेजमा कोभिड उपचारका लागि ५ सय वेडको आइसोलेसन वार्ड तुरुन्त व्यवस्थापन गर्ने गरी संघीय सरकारबाट निर्णय गर्न लागिएको बताए ।

तत्काल ५० हजार भीटीएम रिएजेन्टको उपलब्धता तथा पीसीआर परीक्षणका लागि दुई वटा आरएनए मेसिन उपलब्ध गराउनेबारे समेत छलफल भएको प्रदेश सरकारले बताएको छ ।

छलफलका क्रममा वीरगंजस्थित नारायणी अस्पताललाई सामान्य अस्पतालको रुपमा राख्ने तथा बिरामी भर्ना एवं उपचारमा लापरवाही गर्ने निजी अस्पताललाई कारवाही गर्ने विषयमा सहमति जुटेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री राउतको नेतृत्वमा सामाजिक विकास मन्त्री नवलकिशोर साह, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा काठमाडौं गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment