
२६ साउन, काठमाडौं । गोंगबुमा सुटकेशमा भेटिएको शवको अनुसन्धानमा प्रहरीले छोटो समयमै सफलता हात पारेको छ ।
प्रहरीले मृतकको पहिचान गर्नुका साथै हत्यामा संलग्न भएको आशंकामा एक महिलालाई चितवनबाट पक्राउ गरेको छ ।
आइतबार सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भएको झोला भेटेको थियो । तर मृतकको पहिचान नभएपछि फोटो सार्वजनिक गर्यो ।
त्यस आधारमा विभत्स हत्या गरिएका व्यक्ति कृष्णबहादुर बोहोरा भएको खुल्यो ।
प्रहरीले अपराध भएको घरमा बस्दै आएकी कल्पना शाहीलाई पक्राउ गरेको छ । चितवनको टाढीबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
प्रारम्भिक सोधपुछमा उनले कसूर स्वीकारेकी छन् ।
९ महिनादेखि गेस्ट हाउसमा थिए बोहोरा
प्रहरी स्रोतका अनुसार कृष्णबहादुर पछिल्लो ९ महिनादेखि मित्रनगरस्थित एक गेस्ट हाउसमा बसेको खुलेको छ ।
उनको कल्पनासँग लेनदेन सम्बन्धी विवाद पनि हुनसक्ने देखिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार बोहोराले एक जनासँग ५० लाख रुपैयाँ लिनुपर्ने र उनलाई धेरै प्रयासपछि शनिबार भेटेको आफन्तसँग बताएका थिए । बोहोराले भनेको व्यक्ति तिनै महिला हुन् वा अरु कोही भन्ने खुलिसकेको छैन ।
तर शनिबार शाहीले खानपिनका लागि बोलाएको र केही दिन नआउन सक्ने भन्दै होटलबाट निस्किएका थिए ।

प्रहरीले होटलबाट बोहोराको नागरिकता, एटीएम कार्ड लगायत पनि बरामद गरेको छ । महिला र बोहोराको सम्बन्ध लेनदेनको मात्र हो वा अन्य केही थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार शनिबार राति नै बोहोराको हत्यापछि शवलाई सुटकेश र झोलामा लगेर सडकमा फ्याँकिएको पाइएको छ । त्यसपछि उनी भागेर चितवन गएकी थिइन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
यो पनि पढ्नुस्
प्रतिक्रिया 4