Comments Add Comment

बाबुरामको प्रश्न : अहिले राम मन्दिर बनाउने कि अस्पताल ?

३० साउन, गोरखा । जनता समाजवादी पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराइले राम मन्दिरको कुरा छाडेर अस्पताल र आइसोलेसन निर्माणमा जोड दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

शुक्रबार गृह जिल्ला गोरखा आएका नेता भट्टराईले राम मन्दिरको चिन्तन छाड्न सुझाव दिदै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे, ‘अहिले राम मन्दिर बनाउने समय हो कि अस्पताल बनाउने ?’

अस्पताल र भेन्टिलेटर अभावका कारण मानिसहरु मरिरहेको भन्दै नेता भट्टराईले जनताको स्वास्थ्यप्रति गम्भीर हुन प्रधानमन्त्रीलाई आग्रह गरे ।

‘कोरोनाको यो महामारीको समयमा सरकारले अस्पतालमा उपकरण जुटाउने, भेन्टिलेटर बनाउने तिर समय दिनुपर्ने हो,’ शुक्रबार गृह जिल्ला आएका भट्टराईले पत्रकारसँगको कुराकानीमा भने, ‘तर प्रधानमन्त्रीको ध्यान भने अयोध्या र राम मन्दिर बनाउने तर्फ छ ।’

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको उनको आरोप छ । ‘दृष्टिविहीनले हात्ती छाम्दा चाल नपाएजस्तो कोभिड-१९ को बारेमा सरकारले अहिलेसम्म केही भेउ पाएको छैन,’ उनले भने ।

चार महिनाको बन्दावन्दीमा जुन तयारीका साथ सरकारअघि बढ्नुपथ्र्याे त्यसमा पनि चुकेको भन्दै उनले सरकारको आलोचना गरे ।

पीसीआर परीक्षणको दायरा बढाउन, क्वारेन्टिन र भेन्टिलेटर सहितको उपचारको व्यवस्था, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सुरक्षा व्यवस्थालगायतका कुरामा सरकार चुकेको उनको भनाइ छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारको भर नपर्ने उनले आग्रह गरेका छन् । ‘हामीले यस्तो नेता छानेका छौं, जो कोरोना बेला पार्टीको झगडाका निम्ति महिनौ बैठक गर्छन्, फेरि केपी ओली र प्रचण्डको बैठक डोनाल्ड ट्रम्प र सिजिङ पिङको बैठक जस्तो महत्व दिएर सबैको ध्यान त्यसमै, यो बेला त्यो जस्तो मजाक अरु के हुन्छ ?,’ भट्टराईले भने ।

प्रधानमन्त्री ओली गैरजिम्मेवार रहेको र उनी सत्तामा रहेसम्म देश र जनताले दुःख पाइरहने भन्दै भट्टराइले असन्तुष्टि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment