Comments Add Comment
साहित्यिक पत्रिकाको इतिहास :

नेपाली साहित्यका जब्बर काँध

३१ साउन, काठमाडौं । ‘म पनि अब एउटा साहित्यिक पत्रिका निकाल्छु ।’

उमेरले भर्खरै २० टेकेका बेला रोचक घिमिरेले यो कुरा सुनाउँदै हिँड्दा कसैले पत्याएनन् । विसं. २०१८ सालको समय थियो त्यो ।

वीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकार अपदस्त गरेर राजा महेन्द्र आफैं शासन चलाइरहेका थिए । साहित्यिक प्रकाशनलाई समेत कडा सेन्सर गरिन्थ्यो । छापाखाना शुल्क उत्तिकै महङ्गो थियो ।

घिमिरे पत्रिका निकाली छाड्ने अठोटमा थिए । उनले पत्रिकाको नाम जुराए– ‘रचना’ । प्रकाशक/सम्पादकमा आफ्नै नाम राखेर दर्ता गराए ।

‘त्यतिबेला मनमा युवा जोश त थियो, तर पत्रिका चलाउने कुनै मेसो थिएन’, रचनाको गर्भकाल सम्झिँदै घिमिरे भन्छन्, ‘र पनि, २०१८ सालदेखि ०४६ सम्म आफ्नै बलबुँतामा पत्रिका चलाएँ ।’

२०४६ पछि चार वर्ष खर्चले धान्न नसकेर रचना बन्द भयो । रचना ननिस्कँदा घिमिरेलाई आफू श्रीहीन भएजस्तो लाग्यो । नेपाली साहित्य क्षेत्रमा ‘रचना छ, रोचक छ’ भन्ने धारण बनिसकेकाले उनलाई उकुस–मुकुस भयो ।

‘अन्ततः गुनिला साहित्यसेवीहरूको सहयोगमा आर्थिक कोष बनाएर रचनालाई ब्युँताएँ’, उनी सम्झन्छन् । त्यसयता रचना नियमित छ ।

घिमिरे आफैं ८० वर्ष पुगिसके । तर, २०१८ सालको जोश हराएको छैन । चौमासिक रचनालाई उनले त्रैमासिक हुँदै अहिले द्वैमासिक बनाएका छन् । पत्रिकाको १७५ पूर्णाङ्क प्रकाशित भइसकेको छ ।

रोचककै जस्तो इतिहास छ अर्का साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको पनि ।

क्रमश: – ‘अभिव्यक्ति’का प्रकाशक/सम्पादक नगेन्द्रराज शर्मा र ‘रचना’का रोचक घिमिरे

उनको ‘अभिव्यक्ति’ प्रकाशन हुन थालेको पनि ५० वर्ष पुगिसक्यो ।  २०२७ फागुनबाट सुरू भएको अभिव्यक्तिको २०४ पूर्णाङ्क नेपाली साहित्यानुरागी पाठकको हातमा पुगिसकेको छ ।

‘म एक्लैले सुरू गरेको पत्रिका आजसम्म एक्लैले चलाइरहेको छु भन्दा मैले आत्मालाई ढाँटेको ठहर्दैन’, ८३ वर्षीय सम्पादक/प्रकाशक शर्मा भन्छन्, ‘विशेषाङ्क प्रकाशित गर्दा साथीहरूको सहयोग लिन्छु, नत्र आफैं काम गर्छु ।’

घिमिरेजस्तै शर्मा पनि रिपोर्टर, प्रुफ रिडर, सम्पादक, हकर सबै आफैं हुन् । अधिकांश समय आफैं काममा खटेर पत्रिका निकाल्छन् शर्मा । ५० वर्ष यसरी नै बितेको छ ।

‘देशभरिको साहित्य समेट्ने रहरले सुरू गरेको पत्रिका मेरो अस्तित्वसँग जोडियो’ शर्मा भन्छन्, ‘रहरले गरेको दुःख पनि आफ्ना लागि सुख हुँदोरहेछ । अभिव्यक्तिको यात्रामा म खुसी पाउँछु ।’

विगतलाई एक धर्कोमा सम्झिँदा सब कुरा सामान्य लाग्छ । पत्रपत्र केलाउँदा भने त्यसभित्र अनेक कष्ट, अभाव र असन्तुष्टि भेटिन्छन् । साहित्यिक पत्रिका चलाउँदाको दुःखका फेहरिस्त छ शर्मा र घिमिरेसँग । दुवैले सुरूदेखि अहिलेसम्म आफ्नै गोजिको पैसा हालेका छन् । दुवैका अरू दुःख पनि समान छन् । साहित्यिक पत्रिका निकाल्दाको सन्तुष्टि पनि समान छ ।

दुवैजना आफैं पनि सिद्वहस्त साहित्यकार हुन् । शर्माको प्रवीणता कथामा छ भने घिमिरे समालोचनाका लागि चिनिन्छन् । यही लगावले दुवैलाई नेपाली भाषा–साहित्यरूपी मरूभूमिका जब्बर सिउँडी बनाएको छ ।

काठमाडौं खाल्डोबाट अलिकति पूर्व बनेपामा नेपाली साहित्यका यस्तै अर्का विशालकाय सिउँडी छन्– मोहन दुवाल ।

काठमाडौंको साहित्यिक मण्डलीको चस्कोमा परेका दुवालले २०२७ वैशाखदेखि ‘विगुल’ साहित्यिक पत्रिका निकाल्न थालेका थिए । त्यसबेला काठमाडौं न्हायकँ टोलमा तीर्थमान ज्यापूले प्रेस चलाउँथे । पत्रिका निकाल्ने समय आएपछि  दुवालको अड्डा त्यहीँ हुन्थ्यो ।

२०२९ को एकदिन विगुल छापिँदै थियो । त्यस अंकमा विषेशतः शक्ति लम्सालको लेख र राल्फाली गीतहरू थिए । त्यही बेला अञ्चलाधीश कार्यालयको टोलीले आएर छापिँदा छापिँदैको विगुल जफत गरिदियो । त्यसरी बिगुलको असामयिक अवसान भयो ।

विगुल रोकियो, तर दुवाल रोकिएन । यसपछि केही समय उनले ‘वेदना’ निकाले, ‘उत्साह’ सम्पादन गरे । अनि २०३९ मा विचारप्रधान ‘जनमत’ पाक्षिक पत्रिका सुरू गरे । सरकारको आँखा छल्न उनले प्रकाशकमा लक्ष्मण सुन्दर सैंजु र सम्पादकमा भारती श्रेष्ठ (दुवालपत्नी) को नाम राखेका थिए ।

‘जनमतलाई २०४५ माघदेखि साहित्यिक मासिक बनाएर निरन्तरता दिएको छ’, ७१ वर्षीय दुवाल भन्छन्, ‘अहिलेसम्म २७३ अङ्क प्रकाशित भइसकेको छ ।’

साहित्यिक पत्रिका निकाल्न दुवालले पनि कम दुःख गरेका छैनन् । प्रेसको ऋण तिर्न श्रीमतिको दुई तोला सुन १० हजार रूपैयाँमा बेचेको उनी सुनाउँछन् । ‘तर, जनमत निकाल्न भएको खर्चमा कहिल्यै दुःख मानिनँ’, उनी भन्छन् ।

कुनै समय नेपालभरका पाठकले पर्खेर बस्ने मधुपर्कको अहिले त्यो ओज र गरिमा हराएको छ । त्यस्तै अर्को ओजश्वी साहित्यिक मासिक ‘गरिमा’लाई त साझा प्रकाशनभित्रको झगडाले बन्द नै गरिसक्यो

भाषासेवी कमलमणि दीक्षितको सम्पादनमा निस्कने २०१६ सालदेखि नियमित प्रकाशित हुँदै आएको ‘नेपाली’ त्रैमासिक भने अहिले स्थगनमा परेको छ । २२९ पूर्णाङ्क प्रकाशित भएको नेपाली दीक्षितको निधनपछि मदन पुरस्कार गुठीले बन्द गरेको छ ।

नेपालीका उप–सम्पादक तथा मदन पुरस्कार गुठीका सदस्य–सचिव दीपक अर्याल ‘कमलमणि दादाको निधनपछि तीन अंक निकालेको र अहिले कोभिड–१९ लगायत विविध कारणले रोकिएको बताउँछन् ।

साहित्यिक पत्रिकाहरू प्रकाशक/सम्पादकको अदम्य साहस र मोहले मात्र नभई स्तरीय नेपाली भाषा–साहित्यका पाठकको प्रेम र रायसुझावको बलले पनि टिकेका हुन् । नेपाली भाषा–साहित्यको श्रीवृद्विमा यी पत्रिकाहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् । यी लगायतका पत्रिकाहरू नै हुन्, जसले उम्दा साहित्यकारहरू जन्माए ।

यही महत्त्वको कारण बन्द भएपनि ‘रूपरेखा’ अविस्मरणीय बनेको हो । २०१७ सालदेखि दुई दशकसम्म चलेको रूपरेखाबारे आज पनि नेपाली साहित्यका हरेक विद्यार्थी र पाठक जानकार छन् । ‘वेदना’, ‘साहित्य सन्ध्या’, ‘बगर’ लगायतका साहित्यिक पत्रिका बन्द भएकोमा ननिको मान्ने पाठक पनि अहिलेसम्म निकै छन् ।

सरकारी थेगभर छैन 

माथि नै उल्लेख भयो, नेपाली साहित्यिक पत्रिकाहरूको टिकाउपन सम्पादक/प्रकाशको गोजी र गुणग्राही पाठकमा निर्भर छ । अहिले प्रेस काउन्सिलका सदस्य रहेका ‘कौशिकी’ द्वैमासिकका सम्पादक चेतनाथ धमला साहित्यिक पत्रिकामा सरकारको निकै कम चासो रहने बताउँछन् । उनको अनुभवमा सरकारले दिने विज्ञापनमा राष्ट्रिय दैनिक पत्रिका र टेलिभिजनहरू प्राथमिकतामा पर्छन् ।

२०७५ सालमा मात्र ‘साहित्यिक पत्रिका वर्गीकरण मापदण्ड’ बन्नुले पनि धमलाको भनाइलाई पुष्टि गर्छ । साहित्यिक पत्रिका वर्गीकरण मापदण्ड– २०७५ बनेपछि हरेक वर्ष एकजना साहित्यिक पत्रकारलाई काउन्सिलले पुरस्कृत गर्न थालेको छ ।

रचनाका सम्पादक/प्रकाशक रोचक घिमिरे २०५३ मा आफू प्रेस काउन्सिलको सदस्य हुँदा साहित्यिक पत्रिकाहरूको वर्गीकरण र प्रोत्साहनको पहल गरेको तर सञ्चार मन्त्रालय र सूचना विभागबीच समन्वय गराउनै नसकेको सम्झन्छन् ।

अभिव्यक्तिका सम्पादक/प्रकाशक नगेन्द्रराज शर्मा भन्छन्, ‘५० वर्षमा दर्जनौं सञ्चार मन्त्रीलाई भेटेर हाम्रा कुरा सुनायौं, तर साहित्यिक पत्रिकाको हुलाक दर्तासम्म सरकारले दिएन ।’

पञ्चायतकाल त पञ्चायतकाल नै भइगयो, बहुदलीय व्यवस्थामा पनि सरकारले साहित्यिक पत्रिकालाई आवश्यक पर्ने टेलिफोन जडान सुविधासम्म नदिएको शर्मा बताउँछन् ।

२०१८ सालमा रू.५०० ले पाँचसय प्रति रचना निकालेका रोचक घिमिरे अहिले त्यति नै पत्रिका निकाल्न ५० हजार पर्ने बताउँछन् । हरेक पटक उनी यति रकम आफ्नो गोजीबाट निकाल्न बाध्य छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले ‘क’ वर्गका साहित्यिक पत्रिकालाई दिने गरेको वार्षिक १० हजार रूपैयाँले मुस्किलले स्केचको पैसा तिर्न पुग्ने घिमिरे बताउँछन् ।

सरकारी संस्थानहरूले निकाल्ने साहित्यिक प्रत्रिकाहरूलाई भने स्रोतको समस्या छैन । साहित्यिक गुणवत्ता पहिल्याउन नसक्नु तिनीहरूको समस्या भएको पाठकवर्गको अनुभव छ । त्यसको ज्वलन्त उदाहरण गोरखापत्र संस्थानको ‘मधुपर्क’ हो ।

कुनै समय नेपालभरका पाठकले पर्खेर बस्ने मधुपर्कको अहिले त्यो ओज र गरिमा हराएको छ । त्यस्तै अर्को ओजश्वी साहित्यिक मासिक ‘गरिमा’लाई त साझा प्रकाशनभित्रको झगडाले बन्द नै गरिसक्यो ।

सरकारी संस्थानहरूले वार्षिक रूपमा निकाल्ने साहित्यिक पत्रिकाहरूमा नेपाल राष्ट्र बैंकको ‘मिर्मिरे’, राष्ट्रिय वाणिय बैंकको ‘मनोभाव’ कृषि विकास बैंकको ‘समष्टि’ र नेपाल विद्युत प्राधिकरणको ‘ज्योति’ उल्लेख्य छन् ।

नयाँ पुस्ताले सकेन

काठमाडौंका युवा साहित्यकारको समूहले २०७१ सालमा निकालेको ‘पाण्डुलिपि’ मासिक नवौं अंकपछि बन्द भयो । ‘हुने विरूवाको चिल्लो पात’ भनेझैं उम्दापन देखाइरहेको यो पत्रिका अर्थाभावले असमयमै ओइलायो ।

‘सबै आय पत्रिकामै हाल्दा पनि चलाउन गाह्रो भयो’ पाण्डुलिपिका प्रकाशक विष्णुकुमार पौडेल भन्छन्, ‘लेखकहरूलाई एकदमै कम लेखकस्वमा मनाउँदा पनि डिजाइन र प्रिन्टिङ खर्च मासिक डेढ लाखभन्दा तल नझरेपछि बन्द गर्नुको विकल्प रहेन ।’

विज्ञापन नपाइने र अरू पत्रिकाको तुलनामा बिक्री नहुने हुँदा साहित्यिक पत्रिका चलाउन नसकिने कटु अनुभव उनी सुनाउँछन् । ‘वेदना’, ‘बुकी’ र ‘अकाल कुसुम’ साहित्यिक पत्रिका निकालेर बन्द गरेका मातृका पोखरेल, नरेन्द्रकुमार नगरकोटी र विश्व सिग्देलको अनुभव पनि पौडेलको जस्तै छ ।

लामो समय वेदना त्रैमासिकको सम्पादक रहेका पोखरेल भन्छन्, ‘साहित्यिक लेख–रचना प्रकाशित गर्ने मात्र नभई लोकतन्त्र स्थापनामा समेत महत्त्वपूर्ण भूमिका खेलेका पत्रिका बन्द हुनु लेखक, पाठक सबैका  लागि घाटा हो ।’

उत्साहका साथ सुरू भएर निराशाले घेरिएर बन्द भएका साहित्यिक पत्रिका पुनः प्रकाशन हुने सम्भावना कमै हुन्छ । अझ संस्थागत रूपमा नभई व्यक्तिगत प्रयासमा निस्केर बन्द भएको पत्रिका पुनः प्रकाशन हुने सम्भावना कम छ ।

वि.सं. १९९१ मा ऋद्धिबहादुर मल्लले सुरू गरेको सुप्रसिद्व ‘शारदा’ साहित्यिक मासिक भने बन्द भएको लामो समयपछि विमल भौकाजीको सम्पादकत्वमा पुनः सञ्चालन भएको छ । बनारसबाट निस्कने शारदाजस्तै उच्च कोटीको ‘उदय’ केही वर्षदेखि बन्द छ ।

साहित्यिक पत्रिकाहरूमा अहिले रचना, अभिव्यक्ति, जनमतसँगै ‘शाल्मली’, ‘सुलेख’, ‘नवप्रज्ञापन’, ‘कलाश्री’, ‘हिमाली गुराँस’, ‘अन्तर्बोध’ ‘आलेख’, ‘महामण्डल’, ‘शब्दाङ्कुर’, ‘दायित्व’, ‘शिवपुरी सन्देश’को प्रकाशन जारी छ ।

नयाँ पुस्ताका कवि–लेखकहरुले व्यक्तिगत रुपमा अरु पनि साहित्यिक पत्रिका चलाइरहेका छन्, तर ति जति छन् सबै मुस्किलले चलेका छन् । धेरैजसो त नियमित नै छैनन् । कतिले स्तरतिर ध्यान नदिदा साहित्यका पाठकले नरुचाउने सामग्री प्रकाशन गरिरहेका छन् ।

तीन दशकभन्दा बढी साहित्यिक पत्रकारिता गरेका अविनाश श्रेष्ठ साहित्यिक पत्रिकाले निरन्तरता पाउन गुणस्तर पनि आर्थिक जतिकै महत्वपूर्ण हुने बताउँछन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ‘समकालीन साहित्य’, ‘कविता’, ‘प्रज्ञा’ र साझा प्रकाशनको गरिमा मासिकको सम्पादनमा डेढ दशकभन्दा बढी बिताएका उनी निजी स्तरबाट यी गुणस्तर र आर्थिक जुटाउनुलाई बडा साहसको काम भन्छन् ।

उनको अनुभवमा, स्रोतसाधन सम्पन्न सरकारी साहित्यिक प्रकाशनहरुमा आफ्नो मानिसलाई सम्पादक राख्न हानथाप हुन्छ । ‘त्यस्ता सम्पादक न आफ्नो निर्णयमा अडिन सक्छन् न त गुणस्तर कायम गर्न सक्छन्’, श्रेष्ठ भन्छन्, ‘परिणाम, पत्रिकाले स्तर गुमाउँछ र पाठक भाग्न थाल्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment