Comments Add Comment

सुन्दरका विद्युतीय बसमा अब कार्डबाटै भाडा तिर्ने सुविधा

३२ साउन, काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अहिले भाडा लिन-दिन संक्रमणको जोखिम छ । तर, अब विद्युतीय कार्डबाटै भाडा तिर्न सक्ने व्यवस्थाका लागि निजी कम्पनीहरु अग्रसर हुन थालेका छन् ।

संक्रमणको जोखिम लामो समयसम्म रहे सार्वजनिक सवारीमा समस्या पर्न सक्ने भन्दै नेपालको पहिलोपटक विद्युतीय बसमार्फत यातायात सेवा दिइरहेको सुन्दर यातायात प्रालिले विद्युतीय भुक्तानी थाल्ने भएको छ ।

सुन्दर यातयात प्रालि र आई-पे प्रालिबीच सार्वजनिक सवारी साधनमा डिजिटल पेमेन्ट सिस्टम लागू गर्नेबारे सम्झौता भएको छ । आइतबार एक कार्यक्रमका बीच कम्पनीका अध्यक्ष भेषबहादुर थापा र आई-पे प्रालिका कार्यकारी निर्देशक अमितमान तुलाधर सम्झौतामा हस्ताक्षर गरे ।

अब बजारमा २०० र ५०० मूल्यका कार्डहरु उपलब्ध हुनेछन्, १ बर्षको म्याद भएका कार्डमार्फत सहजै भुक्तानी गर्न सकिने छ ।

कार्ड सार्वजनिक सवारी मात्र नभएर डिपार्टमेन्टल स्टोरसहित विभिन्न ब्यापारिक पसलमा पनि प्रयोग गर्न सकिनेछ । रिचार्ज गर्ने सुविधा पनि दिइने छ ।

डिजिटल पेमेन्ट कार्ड छिट्टै अनलाइनमार्फत पनि खरिद गर्न सकिने छ । नेपाल सरकारले ल्याउन लागेको डिजिटल प्रणालीमा समेत सोहि कार्ड प्रयोग गर्न मिल्ने कम्पनीले बताएको छ ।

यात्रुलाई कार्डमा उल्लेखितभन्दा बढी भाडा बराबरको सुविधा दिइने सुन्दर यातायात कम्पनीले जनाएको छ । यो कार्ड विद्यार्थी, असक्त वा अन्य साधारण व्याक्तिका लागि फरक-फरक प्रकारका छुट दिने गरी कार्ड उपलब्ध गराइने भएको छ । यसबाट यात्रु ठगिने सम्भावना नहुने अध्यक्ष थापा बताउँछन् ।

पैसा खर्च नभए वा फिर्ता लिन चाहेमा तोकेको स्थानमा गएर फिर्ता लिन वा अन्य सामान खरिद गर्न पनि सकिनेछ ।

उक्त ई-पेमेन्ट कार्डमार्फत जुनसुकै प्रकारका सवारी साधनमा विद्युतीय माध्यमबाट सवारीको भाडा तिर्न सकिने छ । त्यसका लागि कम्पनीले तोकेको सिस्टम भने जडान गरेको हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment