३ भदौ, काठमाडौं । सुनिल नारिनले अलराउण्ड प्रदर्शन गरेपछि ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
ट्रिनिडाड एण्ड टोबागोमा मंगलबार भएको खेलमा ट्रिनबागोले गुएना अमेजन वारियर्सलाई ४ विकेटले पराजित गरेको हो । वर्षाको कारण ढिला सुरु भएको खेल १७ ओभरमा छोट्याइएको थियो । जसमा गुएनाले टस हारेर पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर १४४ रन बनाएको थियो ।
जवाफमा ट्रिनबागोले २ बल अगावै ६ विकेट गुमाएर १४७ रन बनाउँदै खेल जितेको हो । जितपछि ट्रिनबागोले २ अंक जोडेको हो । ट्रिनबागोको जितमा सुनिल नारिनले २८ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा ५० रन बनाए । यस्तै डारेन ब्राभोले ३० तथा लेन्डन सिमोन्स र कोलिन मनरोले समान १७ रन योगदान गरे । गुएनाका लागि नभिन उल हक र इमरान ताहिरले २-२ विकेट लिए ।
त्यसअघ ट्रिनबागोले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गुएना अमेजनले शिमरोन हेतमायरको अर्धशतक मद्दतमा १४४ रन बनाएको थियो । हेतमायरले ४४ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा अविजित ६३ रन बनाए । यस्तै रोस टेलररे ३३ रन जोडे । ट्रिनबाऊका लागि सुनिल नारिनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।
प्रतिक्रिया 4