Comments Add Comment

बढ्ता नबोल्नुस् ! समातेर लैजाम् ?

निषेधाज्ञामा अत्यावश्यक सेवासमेत प्रभावित

४ भदौ, काठमाडौं । समयः बिहान ०७ : ३० बजे । स्थान : काठमाडौं महानगरपालिका- १६, एकलटार

एक पुरुष र एक महिला ग्राहक पाल्पाली डेरी एन्ड बेकरी सपतिर जाँदैछन् । त्यहीबेला बा१झ ७४५५ नम्बरको प्रहरी भ्यान साइरन बजाउँदै आइपुग्छ ।

प्रहरी : तपाईंहरू किन निस्किएको ? ए ! सुन्नुभएन ? तपाईंहरू जानुस् ।

पुरुष ग्राहक : बिहान दूध त किन्न पाउन पर्‍यो नि सर ।

गाडीबाट निस्किँदै महिला प्रहरी : यत्रो बेरसम्म के हेरेर बस्नुभएको थियो ?

महिला ग्राहक ; हैन, दूध किन्न त पर्‍यो नि ।

पुरुष ग्राहक : अघि दुईपटक आउँदा दूध आएकै रहेन छ । बच्चालाई खुवाउने दूध त लान पाउन पर्‍यो नि ।

पुरुष प्रहरी : दूध नआउने हाम्रो समस्या होइन । बढ्ता नबोल्नुस्, समातेर लैजाम् ?

प्रहरी र ग्राहकबीचको भनाभनपछि डेरी सञ्चालक महिलाले ‘अत्यावश्यक सेवा त चल्न पाउँछ नि’ भन्छिन् र डेरीको सटर तान्छिन् ।  ग्राहकले दूध लैजान पाउँदैनन् । प्रहरीहरू केही जवाफ नदिई हिँड्छन् ।

भदौ ४ गते बिहान ६ बजेदेखि नै प्रहरीहरू टोलका खाद्यान्न, तरकारी, दुग्ध डेरीलगायतको पसल बन्द गर्दै हिँडेको स्थानीयहरूले बताए । कालीमाटीबाट तरकारी ल्याउने बित्तिक्कै प्रहरी आएर पसल बन्द नगरे उठाएर लैजाने धम्की दिएको एकलटारकै गोरखा धावा एबीसी फलफूल तथा तरकारी पसलका सञ्चालकले बताए ।

निषेधाज्ञाको समया पनि तरकारी, फलफूल, दूध खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको व्यापार हुने समाचार सुने पनि प्रहरीले दुःख दिएको पसल सञ्चालकहरूको गुनासो छ । प्रहरीले औषधि पसलबाहेक अन्य सबै सेवा रोकेको बालाजु क्षेत्रका पसलेहरूले बताए ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले काठमाडौं-१६, माछापोखरी क्षेत्रमा प्रहरीले सबै सेवा बन्द गरेको सूचना फेसबुकमा पोस्ट गर्दै जिल्ला प्रशासनको निर्देशनलाई प्रहरीले फरक ढंगबाट बुझेकाले समन्वय गर्न आग्रह गरेका छन् ।

निषेधाज्ञा भनेको कर्फ्यु हो : प्रहरी

अत्यावश्यक सेवा सञ्चालन सम्बन्धमा जिल्ला प्रशासनको आदेश र प्रहरीको एक्सन किन बाझिएको भन्ने प्रश्नमा केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले यसमा आफू पनि अन्यौलमा रहेको बताए ।

‘बैङ्कको सेवा पनि रोकिएको भन्ने सुनेको छु, अरू पनि गुनासो आएका छन्’, उनले भने, ‘यसबारे महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा धेरै जानकारी होला ।’

नेपाल सरकारको निर्णय भए त्यसबारे प्रहरी पूर्ण जानकार हुने तर निषेधाज्ञा जिल्ला प्रशासनले जारी गरेकाले त्यसबारे आफू पनि अलमलमा रहेको एसएसपी कडायतले बताए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भने निषेधाज्ञा भनेको कर्फ्यु नै भएकाले सोही अनुसार कडाइ गरिएको जनाएको छ । नेपालीमा निषेधाज्ञा भनेको अंग्रेजीमा कर्फ्यु हुने भएकाले मानवीय गतिविधि शून्य बनाउनुपर्ने कुरा प्रहरीले बुझेको कार्यालयका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले बताए ।

जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले गरेको निर्णयअनुसार प्रहरी खटिएको, जे आदेश भएको छ त्यही पालना गरेको उनले बताए ।

‘पसलहरू खोल्दा चहलपहल बढ्छ । पहिलेको लकडाउनभन्दा कडा गर्न नपरेको भए किन निषेधाज्ञा जारी हुन्थ्यो ?’, एसएसपी यादवले भने, ‘फेरि स्थानीय प्रशासन ऐनअनुसारको कर्फ्यु कडा नै हुन्छ । यसमा पुनर्विचार भएको भन्ने आदेश जिल्ला प्रशासनबाट आए प्रहरीले त्यहीअनुसार गर्छ ।’

प्रशासनको निषेधाज्ञा आदेशमा के छ ?

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशमा अत्यावश्यक वस्तु तथा सेवा निषेधाज्ञाको समयमा निर्वाध सञ्चालनमा आउने उल्लेख छ । निषेधाज्ञा आदेशको ६ नम्बर बुँदामा औषधि, खाद्य वस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल दूध ढुवानी तथा बिक्री, विद्युत् र दूरसञ्चार सेवा, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन सेवालाई यो बेलामा रोकतोक नहुने उल्लेख छ ।

यस्तै, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य सहभागी हुनुपर्ने सवारी साधन लगायतका सेवा यो समयमा निर्बाध सञ्चालनमा आउने उल्लेख छ ।

उपत्यकामा सञ्चालन हुने खाद्यान्न, तरकारी र मासुका थोक तथा खुद्रा पसलहरूकालागि निषेधाज्ञाले असर नगर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । बुधबार पुनः अर्को सूचना जारी गरेर अत्यावश्यक सेवाबारे स्पष्ट पारेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए ।

समय तोक्दा झन् भिडभाड बढ्ने भएकाले त्यस्ता व्यवसाय पूरै समय चल्न पाउने भन्दै उनले रोकतोक गर्न प्रहरीलाई कुनै निर्देशन नभएको स्पष्ट पारे ।

‘सामाजिक-व्यक्तिगत दुरी र मास्क अनिवार्य गर्ने तथा पसलमा भिडभाड कम गरी सेवा सञ्चालन गर्न सकिन्छ’, सहायक प्रजिअ पौडेलले भने, ‘प्रशासनको आदेश र प्रहरीको बुझाएमा केही फरक परेको पाइएकाले यस विषयमा छलफल पनि थालेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment