Comments Add Comment

रुपन्देहीमा दाहसंस्कार गर्ने बेलामा आयो कोरोना पोजेटिभ रिपोर्ट

७ भदौ, बुटवल । रूपन्देहीको रोहिणी गाउंपालिकाका एक पुरूषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । रोहिणी गाउँपालिका–३, धकधईका ५३ वर्षीय पुरुषको शनिबार उपचारका लागि लैजाँदै गर्दा भारतको नौतनवामा मृत्यु भएको थियो ।

मृत्युपछि उनको शब नेपाल ल्याएर बुटवलको नेशनल प्याथ ल्याबमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले मिश्रको कोरोना रिपोर्ट पोजेटिभ आएको पुष्टी गरे ।

मृतकका आफन्त कृष्णचन्द्र मिश्रले पनि फेसबुकमा कोरोना रिपोर्ट सार्वजनिक गरेका छन् । योसंगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि भएका मृतकको संख्या ५ पुगेको छ ।
दाह संस्कार गर्दागर्दै मलामी भागाभाग

मिश्रको शवलाई आइतबार मध्यान्ह परिवारजनले दाह संस्कार गर्ने अन्तिम तयारी गरेका बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यो खबर पुगेपछि घाटमा पुगेका मलामीको पनि भागाभाग भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन शाहले कोरोना रिपोर्ट पोजेटिभ आएकाले मिश्रको शब नजलाउन आफन्तलाई आग्रह गरे पनि नमानेका बताए । रोहिणी गाउंपालिकाका अध्यक्ष सनोजकुमार यादवले शबलाई चितामा राखेर जलाउनै लागेका बेला कोरोना पुष्टि भएको खबर आएपछि धेरै मलामी भागाभाग भएको र परिवारका सदस्यले जलाएको जानकारी दिए ।

गाउँपालिका अध्यक्ष यादवले १०० जना भन्दा बढी मलामी गएको बताए । मृतकका आफन्त, मलामी गएका सबैलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment