Comments Add Comment

वीरगञ्जमा २५ गतेसम्म लम्बियो निषेधाज्ञा

तोकिएको समय र स्थानमा पसल खोल्न पाइने

१८ भदौ, वीरगञ्ज । वीरगञ्जमा जारी निषेधाज्ञा एक साताका लागि थपिएको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ २५ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बसेको बैठकले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र लगाइएको निषेधाज्ञा भदौ २५ गतेसम्मलाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्जमा साउन १० गतेदेखि नै निषेधाज्ञा छ । साउन १९ गतेबाट पर्सा जिल्लाभर निषेधाज्ञा लगाईएको थियो ।

साउन ३१ गतेको निर्णयबाट सेना परिचालनसहित भदौ १३ गते बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा लगाइएको थियो । भदौ १२ गतेको बैठकले जिल्लाभर लगाईएको निषेधाज्ञा वीरगञ्जमा मात्रै सीमित थियो ।

यो पनि पढ्नुहोस पर्साको निषेधाज्ञा अब वीरगञ्जमा सीमित

निषेधाज्ञाको उलघंन गर्दै वीरगञ्जमा केही दिनयता कतिपय व्यापारीले पसल र व्यवसाय सञ्चालनसमेत गर्दै आइरहेका थिए । १८ जना व्यापारीलाई प्रशासनले कारबाहीसमेत गरेको थियो । तर यसपटकको निषेधाज्ञा विगतको भन्दा फरक हुनेछ । किन कि निषेधाज्ञामा यसअघिको निर्णय अनुसार वीरगञ्जमा पसलहरु खुल्नेछन् ।

भदौ १२ गते बसेको जिल्ला सुरक्षा समिति र संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १९ गतेबाट पसल खोल्न दिने निर्णय गरेको थियो । भदौ १९ गतेदेखि बजार खोल्न दिने भनिए पनि पूर्णरुपमा खोल्न पाइने छैन ।

आइतबार, मंगलबार र बिहीबार पश्चिम र उत्तरतर्फ फर्केका र सोमबार, बुधबार, शुक्रबार पूर्व र दक्षिणतर्फ फर्केका पसलहरु खोल्न पाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । पसलहरु बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खोल्न र शनिबार पूर्णरुपमा बन्द गर्नुपर्नेछ ।

तरकारी तथा फलफूल बिक्री वितरणको लागि रेल्वे रोडमा घण्टाघरदेखि २ सय मिटर स्कुलदेखि दक्षिणतर्फ एकतर्फी रुपमा मात्रै पसलहरु राख्ने, दुई पसलबीचको दुरी पसल बीचको दुरी कम्तिमा १५ फिट हुनुपर्ने उल्लेख छ । तोकिएको ठाउँमा बिहान ५ देखि ८ बजेसम्म मात्रै फलफूल तथा तरकारी बिक्री गर्न पाइनेछ ।

तोकिएको समय र स्थान बाहेक अन्य समय वा स्थानमा कुनै पनि प्रकारले पसल खोलेको, समान बेचेको वा भिडभाड गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

आ-आफ्नो पसलमा आउने ग्राहकबीचको सामाजिक दुरी कायम गर्ने, भिडभाड नियन्त्रण गर्ने सम्पूर्ण जिम्मेवारी व्यवसायीको हुने र स्वास्थ्य सुरक्षा मापदण्डको उलघंन भएको खण्डमा व्यवसायीलाई नै कारबाही गर्ने प्रशासनको निर्णयमा उल्लेख छ ।

पसल सञ्चालन र तरकारी तथा फलफूल बिक्री गर्दा सामाजिक दुरीलगायतको मापदण्ड पालना नगरेको खण्डमा संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

सञ्चालन गर्न नपाइने सेवाहरु

जिल्लाभित्रका सबै प्रकारका नीजि तथा सार्वजनिक सवारी साधनहरु सञ्चालन गर्न, मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला हुन, जुलुस गर्न, चार जनाभन्दा बढी मानिस एकै ठाउँम जम्मा हुन, शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्र, ट्युसन सेन्टर, भाषा कक्षालगायतको गतिविधि, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, शैलुन, व्युटिपार्लर, स्वीमिङ पुल, समूहमा खेलिने खेलकुद र पुस्तकालय आदि । चिया पसल, खाजा घर, होटल रेष्टुरेन्ट पनि खोल्न नपाइने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment