
१९ भदौ, ललितपुर । जिल्ला प्रशासन कार्यालय, ललितपुरले रातो मत्स्येन्द्रनाथको रथ भएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन निषेध गरेको छ ।
प्रशासनको सहमतिविना निषेधाज्ञाको समयमा रातो मत्स्येन्द्रनाथको रथयात्रा गर्न खोज्दा बिहीबार स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो । प्रहरी-स्थानीय दुवैतर्फ एक/एक जना घाइते भए ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास नै हान्नु परेको थियो भने शुक्रबार चक्रपथभित्र कफ्र्यू लगाइएको थियो । शुक्रबार नै पुल्चोकमा पुजारी र अन्य केही व्यक्तिले क्षमा पुजा गरेका छन् ।
साँझ जिल्ला प्रशासन कार्यालय, ललितपुरले शनिबारदेखि लागू हुने गरी निश्चित क्षेत्रमा बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्म लागू हुने गरी ५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको छ । प्रशासनले जारी गरेको सूचना अनुसार रथ रहेको क्षेत्र आसपासमा हिँडडुलमा रोक लगाइएको छ ।
पूर्वमा मदन स्मृति स्कुल अगाडिको चोक, पश्चिममा महानगरपालिकाको कार्यालय, दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तरमा बल्खुडोलमा भेला हुन निषेध गरिएको छ । त्यस्तै, मिननाथको रथ रहेको क्षेत्र आसपास पनि ५ जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ ।
प्रतिक्रिया 4