Comments Add Comment

ब्यालेन्स चेक, ट्रान्सफर र रिचार्जको ‘सर्ट कोड’ परिवर्तन

सबै सेवा प्रदायकलाई एउटै सर्ट कोड

२२ भदौ, काठमाडौं । अब फरक-फरक मोबाइल सेवा सेवा प्रदायकका प्रयोगकर्ताले पनि एउटै सर्ट कोडहरु प्रयोग गर्न पाउने भएका छन् । ब्यालेन्सको थाहा पाउन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न सबै सेवा प्रदायकमा अब एउटै प्रयोग हुने सर्ट कोड हुने भएको छ ।

यो सँगै तोकिएका प्रयोजनमा हाल प्रयोगमा रहेका सर्ट कोडहरु एकवर्षभित्र परिवर्तन हुने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापन कार्यविधि, २०७७’ले हाल कार्यान्यवनमा रहेका विभिन्न सर्ट कोड र टोल फ्रि नम्बरको व्यवस्थापन गर्ने व्यवस्था गरेको हो ।

अहिले सेवा प्रदायकपिच्छे फरक कोडहरु प्रयोग हुने गरेका छन् । अब भने सबै सेवा प्रदायकले एउटै कोड प्रयोग गर्नुपर्ने गरी कार्यविधि आएको छ ।

अब ६ महिनाभित्रै सबै सेवा प्रदायकले ब्यालेन्स थाहा पाउन १४४, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र रिचार्जका लागि १२२ सर्ट कोड प्रयोग गर्नुपर्ने भएको छ ।

सेवाप्रदायकअनुसार फरक-फरक सर्ट कोड हुँदा प्रयोगकर्तालाई समस्या भएको ठहर गरेर नियामक प्राधिकरणले यस्तो व्यवस्था गरेको प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्यालले बताए । धेरै सेवा प्रदायकलाई फरक-फरक सर्ट कोड दिनु पनि उपयुक्त नभएको प्राधिकरणको ठहर छ ।

अहिले प्रयोगकर्तालाई बानी पार्न नयाँ र पुरानो दुबै कोड प्रयोगको अनुमति पनि कार्यविधिले दिएको छ ।

एक वर्षपछि अहिले प्रयोगमा रहेका सर्ट कोड निष्क्रिय हुनेछन् । र, हाल कार्यविधिले व्यवस्था गरेका कोडमात्रै प्रयोगमा आउनेछन् ।

टोल फ्रिको छुट्टै व्यवस्था

त्यसैगरी जानकारीमूलक सेवा प्रदान गर्न चलाइएका टोल फ्रि नम्बर सम्बन्धी व्यवस्थामा पनि हेरफेर भएको छ  । आफ्ना ग्राहक तथा सेवाग्राहीलाई निःशुल्क फोनको सुविधा दिने गरी प्रयोगमा आएका टोल फ्रि नम्बरहरु पनि अब एकै खालको नम्बरिङ प्रणालीमा रहने भएका छन् ।

हाल नेपाल टेलिकमले १६६० बाट सुरु भएका ११ अंकका र एनसेलले १० अंकका टोल फ्रि नम्बर उपलब्ध गराउँछ ।

अब सेवा प्रदायकले १८०० बाट सुरु हुने गरी यस्तो नम्बर दिनुपर्नेछ । जुन १० अंकका हुनेछन् ।

१८०० पछि एउटा नम्बर सेवा प्रदायक छुटि्टने कोड राखिने र बाँकी युनिक सब्स्क्राइभर नम्बर रहनेछन् । यो नम्बर प्रयोग सबै सेवाप्रदायकका टेलिफोन प्रयोगकर्ताले उपयोग गर्न पाउने छन् ।

अहिले फरक सेवा प्रदायकबाट टोल फ्रि सुविधा लिन पाइँदैन । अब भने एनसेलबाट टेलिकम वा टेलिकमबाट एनसेल दुबै खालका टोल फ्रिमा फोन गर्न सकिनेछ ।

यो व्यवस्थाले सेवा प्रदायकले सेवाप्रदायकअनुसार छुट्टै टोल फ्रि नम्बर लिनु पर्ने बाध्यता हट्नेछ । यो व्यवस्था पनि एक वर्षभित्र लागू हुनेछ । अब हाल चलिरहेका टोल फ्रि नम्बरलाई नयाँ कोड लिएर परिमार्जन गर्नुपर्नेछ ।

अंकअनुसार फरक सेवा

हाल ४ अंकको सर्ट कोड प्रयोग गर्दै आएका निजी क्षेत्रका सेवप्रदायकले आगामी फागुनभित्र १० अंकको टोल फ्रि नम्बर लिन लिनुपर्ने छ । टोल फ्रिको महशुल प्राधिकरणले तोके अनुसार लिइने भएको छ ।

अब ३ अंकको सर्ट कोड अत्यावश्यक र आकस्मिक सेवालाई मात्रै उपलब्ध हुनेछ । प्रहरी, बारुणयन्त्र, एम्बुलेन्सलगायतका अत्यावश्यक सेवा दिने संस्थालाई मात्रै ३ अंकको सर्ट कोड दिइने छ । चार अकंको सर्ट कोड सरकारका विभिन्न निकाय एवम् संवैधानिक निकायहरुले मात्रै पाउने छन् ।

त्यसैगरी हाल चार अंकको सर्ट कोड बाट प्रयोग भइरहेका एसएमएस, आइभीआर, यूएसएसडीलगायतका अन्य सेवाहरुलाई ५ अंकको सर्ट कोडमा रुपान्तरण गर्नुपर्नेछ ।

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुलाई एक महिनाभित्र आफूले प्रयोग गरिरहेको सर्ट कोड र टोल फ्रि नम्बरको सबै विवरण उपलब्ध गराउन पनि भनेको छ । यस्तो विवरण वर्षको दुई पटक प्राधिकरणमा पेश गर्नुपर्ने प्रावधान पनि ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment