
१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ६ जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौं, ललितपुर, चितवन, पाल्पा, बाँके र मोरङका एकएक जनाको मृत्यु भएको हो ।
- काठमाडौंका ८७ वषीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- ललितपुरकी ६६ वर्षीया महिलाको नेपाल क्यान्सर अस्पतालमा बिहीबार मृत्यु भएको छ । कोरोना संक्रमण भएकी उनी दुई दिनअघि अस्पताल भर्ना भएकी थिइन् ।
- चितवनकी ३६ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- तानसेन नगरपालिका-७, पाल्पाका ५२ वर्षीय पुरुषको बिहीबार मिसन अस्पतालमा मृत्यु भएको छ । मुटुसम्बन्धी रोगबाट पीडित उनी एक साता अघि बिरामी भएर मिसन अस्पताल गएका थिए ।
- नेपालगञ्ज उपमहानगरपालिका-१, बाँकेका ४५ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहीबार मृत्यु भएको छ । अत्याधिक ज्वरो र श्वासप्रश्वासको समस्या लिएर २९ गते नेपालगञ्ज मेडिकल कलेज पुगेका उनलाई कोरोना संक्रमण भएको बुधबार पुष्टि भएको थियो । त्यसपछि भेरी रिफर भएका थिए ।
- कोशी अस्पतालको आइसोलेसन सेन्टरमा बुधबार राति मृत्यु भएको बिराटनगर महानगरपालिका-६, मोरङका ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या लिएर बुधबार राति ११ बजे अस्पताल भर्ना भएको उनको केही घण्टामै मृत्यु भएको थियो ।
१२४६ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा ४२८ महिला र ८१८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा ६१८ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५०७, ललितपुरका ६० र भक्तपुरका ५० जनामा छन् ।
यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । उनीहरुमध्ये ३८३ जनाको मृत्यु भएको छ भने ४२ हजार ९४९ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२४३ जना डिस्चार्ज भएका छन् ।
देशभरीमा १६ हजार २४१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १८२ जनाको आईसीयू र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4