
१ असोज, बुटवल । पाल्पाका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन नगरपालिका-७ का ५२ वर्षीय पुरुषको बिहीबार बिहान निधन भएको हो ।
एक साताअघि बिरामी भएर मिसन अस्पताल तानसेन गएका उनमा कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि उपचारको लागि बुटवल र भैरहवा पुर्याइए पनि अस्पतालले भर्ना नलिएपछि पुनः पाल्पा फर्केका थिए ।
‘कोरोना पोजेटिभ देखिएपछि बुटवल रिफर गरेका थियौं तर कोरोना संक्रमित बिरामीलाई उपचार गर्न तोकेका बुटवल र भैरहवाका कुनै पनि अस्पतालले भर्ना नगरेपछि फर्केर यहिँ ल्याइएको थियो,’ मिसन अस्पतालका व्यवस्थापक जीवन भट्टराईले भने, ‘तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको बृद्धाश्रमको आइसोलेसनमा उपचार भइराखेकामा बिहीबार बिहान निधन भयो ।’
लुम्बिनी प्रादेशिक अस्पतालले धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा बेड नभएको भन्दै राख्न नमानेको र भैरहवाको भीम अस्पतालले पनि बेड नभएको भन्दै बिरामी फर्काएको भट्टराईले बताए ।
‘लुम्बिनी प्रादेशिक र भीम अस्पतालले फर्काएपछि बुटवलको मुटु अस्पताल पनि पुर्यायौं तर मुटु अस्पतालले पनि राख्न नमानेपछि पाल्पा फिर्ता ल्याउनुपर्यो,’ एम्बुलेनस चालक सुरज खत्रीले भने ।
मृतक कलेजो रोगी भएको भट्टराईले बताए ।
प्रतिक्रिया 4