Comments Add Comment

क्यानले मंसिरमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

७ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी मंसिरमा महिला र पुरुषको राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ । मंगलबार चितवनमा बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय खेलकुद परिषद (राखेप)सँग समन्वय गरी मंसिरमा महिला र पुरुषको राष्ट्रिय प्रतियोगिता (पीएम कप) गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले २०२० डिसेम्बरमा आइसीसीसँग समन्वय गर्दै मैत्रीपूर्ण अन्तर्राष्ट्रिय सिरिज सञ्चालन गर्न प्रकिया अघि बढाउने निर्णय गरेको छ ।

यसैगरी राष्ट्रिय क्रिकेट टिमको अभ्यास सञ्चालन गर्ने तयारी गर्ने निर्णयसमेत भएको छ ।

चितवनको एक होटलमा बसेको बोर्ड बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ । जसमा यही असोज २८ गते क्यानको साधारण सभा गर्ने निर्णयसमेत भएको छ । क्यान अध्यक्ष चतुर बहादुर चन्दका अनुसार साधारण सभा भर्चुअल माध्यमबाट गरिने र सम्भव भए शारीरिक उपस्थित भएर गरिने छ ।

यस्तै महिला र पुरुषको २०२० को केन्द्रीय सम्झौताको सूची सार्वजनिक गरिएको छ । यसैगरी क्यानको २०७१÷०७२ देखि २०७५÷०७६ सम्मको अडिट रिपोर्ट पनि बैठकले पास गरेको छ ।

यसैगरी कर्णाली प्रदेशको संयोजकमा पदम खड्कालाई नियुक्त गरिएको छ ।

दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेटर ललित भण्डारीको उपचारमा संघले परिवार, नेपाल प्रहरी, ट्रक व्यवसायी सबैसँग समन्वय गर्दै उपचारमा सक्दो सहयोग गर्ने निर्णय गरेको छ ।

यस्तै राष्ट्रिय महिला र पुरुष क्रिकेट खेलाडी र कर्मचारीहरुको दुर्घटना बीमा गर्नका लागि एक हप्ताभित्र प्रतिवेदन बुझाउने गरी क्यानका कोषाध्यक्ष रोशन सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment