Comments Add Comment

कोरोना महामारीमा प्रविधिको प्रयोग : पैसा पठाउन कुन माध्यम रोज्ने ?

२८ असोज, काठमाडौं । कोरोना महामारीको जोखिम कायमै छ । त्यसैले नेपाल राष्ट्र बैंकले सकेसम्म विद्युतीय कारोबार गर्न आग्रह गरेको छ । कोरोना महामारीमात्रै होइन अन्य सामान्य समयमा पनि पनि विद्युतीय कारोबार गर्ने हो बैंकसम्म गइरहनु पर्ने झन्झटबाट मुक्ति मिल्छ ।

हाम्रो अमूल्य समयको पनि बचत हुन्छ । पैसा पठाउनका लागि बैंकमा लाइन लाग्नु पर्ने समय अन्य कुनै काममा खर्चिन सकिन्छ । त्यहि भएर पनि सरकारले यो क्षेत्रलाई अत्यावश्यक सेवा क्षेत्रको रुपमा राखेको छ ।

कोरोना संक्रमणको जोखिमको यही अवस्था रहे वित्तीय कारोबारका लागि प्रविधि नै निर्विकल्प हो । आजको आवश्यकता भनेको पनि डिजिटल कारोबारलाई बढवा दिने नै हो । कोरोनाका कारण पछिल्लो समय विद्युतीय कारोबारमा आकर्षण पनि बढेको छ । लकडाउनको अवधिमा पनि प्रविधिमा सर्वसाधारणको आकर्षण निकै राम्रो देखिएको छ । तर प्रविधिको उपयोग कसरी गर्ने भन्ने नजान्दा भने केही समस्या झेल्नुमात्रै परेको छैन अनावश्यक बढी शुल्क तिर्नसमेत बाध्य हुनु परेको छ ।

प्रविधिका विषयमा जानकार नहुँदा महँगो शुल्कमा कारोबार गर्नु पर्नेका उदाहरण पनि धेरै छन् । मानौ, कुनै एक बैंकबाट अर्को बैंकको खातामा रकम पठाउनु पर्यो भने कसरी पठाउने ? मोबाइल बैंकिङ हुनेहरुका लागि फन्ड ट्रान्सफर गर्न सकिन्छ ।

तर यहाँ पनि बुझ्नु पर्ने कुरा के छ भने थोरै जानकारी राख्दामात्रै पनि केही रकम बचत हुन्छ । उदाहरणका लागि, मानौं तपाईंसँग प्रभु बैंकको मोबाइल बैंकिङ छ । तपाईंले कुनै एक बैंकको खाताबाट अर्को कुनै बैंकमा खाता भएको आफन्त वा कसैलाई रकम पठाउनु पर्यो । सीधै मोबाइल बैंकिङबाट फन्ड ट्रान्सफर गर्दा २० हजार रुपैयाँभन्दा धेरै एक पटकमा ट्रान्सफर गर्न मिल्दैन ।

अब तपाईंले २० हजार रुपैयाँ पठाउनु पर्दा पनि ४० रुपैयाँ शुल्क तिर्नु पर्यो । अर्को २० हजार पठाउनु पर्यो भने २ पटकमा ८० रुपैयाँ थप खर्च हुन्छ । साधारण हिसाबले हेर्ने हो भने यो महँगो शुल्क नै हो । तर प्रभु बैंककै खाताबाट अर्को कुनै बैंको खातामा पठाएजसरी भुक्तानी सेवा प्रदायकको सहायता लिनु पर्यो भने सस्तो पर्न आउँछ । न्युनतम शुल्कमा नै तपाईंले फन्ड ट्रान्सफर गर्न सक्नु हुन्छ ।

कसरी ?

नेपालमा कनेक्ट आईपीएस, फोन पे जस्ता धेरै यस्ता सेवाहरु दिने माध्यम छन् । ती माध्यमबाट रकम पठाउनु भयो भने तपाईंको केही रकम बच्छ ।

यी दुवैलाई मोबाइल बैंकिङबाट कारोबार गर्न सकिन्छ । मोबाइल बैंकिङबाट सीधै फण्ड ट्रान्सफर गर्दा महँगो शुल्क तिर्नु पर्छ । अहिले मोबाइल बैंकिङबाट रकम पठाउने हो भने अधिकांशले ५ हजार रुपैयाँ पठाउँदा २० रुपैयाँ एक्स्ट्रा खर्चिनु पर्छ । यो २० रुपैयाँ बैंकले सेवा शुल्क वापत लिने हुन् । फोन पेबाट पनि अहिले ५ हजार पठाउँदा थप २० रुपैयाँ नै तिर्नु पर्छ ।

तर कनेक्ट आईपीएसबाट पठाउँदा भने यति महँगो शुल्क तिर्नु पर्दैन । कनेक्ट आईपीएसबाट पठाउने हो भने ५ हजार रुपैयाँ पठाएको जम्मा ५ रुपैयाँ मात्रै तिर्नुपर्छ । ५० हजार पठाउँदा पनि जम्मा १० रुपैयाँमात्रै कनेक्ट आईपीएसले सेवा शुल्कवापत लिँदै आएको छ ।

५ सय रुपैयाँसम्म रकम पठाउँदा २ रुपैयाँ, ५ सयदेखि ५ हजार रुपैयाँसम्म पठाउँदा ५ रुपैयाँ शुल्क लाग्छ भने ५० हजार रुपैयाँ भन्दा धेरै रकम पठाउँदा १५ रुपैयाँ शुल्क तिर्नु पर्छ ।

एपबाट दिनमा एक लाख रुपैयाँ र महिनामा १० लाख रुपैयाँसम्म पठाउन सकिनेछ भने वेवसाइटबाट कारोबार गर्दा दैनिक १० लाख रुपैयाँ महिनामा ५० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ ।

कसरी गर्ने कनेक्ट आईपीएसबाट कारोबार ?

कनेक्ट आईपीएससँग ५५ वटा बैंक तथा वित्तीय संस्थाहरु आवद्ध छन् । अब तपाई यी बैंकहरुमा ५० हजार रुपैयाँसम्मको कारोबार गर्दा अतिरिक्त १५ रुपैयाँमात्रै शुल्क लाग्छ । यसबाट तपाईंले एक दिनमा एक लाख रुपैयाँसम्मको कारोबार गर्न पाउनु हुन्छ भने महिनामा १० लाख रुपैयाँसम्म कारोबार गर्न पाउनु हुन्छ ।

बैंकमा गएर घण्टौं लाइनमा लाग्नु परेन । महँगो शुल्क पनि तिर्नु पर्दैन । मोवाइल बैंकिङ एपबाट पनि कनेक्ट आईपीएसको माध्यमबाट रकम ट्रान्सफर गर्न सकिने छ भने यसबाट कारोबार गर्नका लागि कनेक्ट आईपीएसको मोबाइल एप डाउनलोड गरेर वा वेब ब्राउजरबाट पनि सीधै खोल्न सकिन्छ ।

मोवाइल बैंकिङबाटै रकम पठाउँदा छुट्टै लगइन गर्नू पर्दैन तर कनेक्ट आईपीएसबाट कारोबार गर्नका लागि कनेक्ट आईपीस खोलिसकेपछि साइन अप गरेर आवश्यक विवरणहरु भर्नुपर्छ । त्यसपछि लगइन गरेर आफ्नो बैंक खातालाई लिंक गराउन सकिन्छ । यति गरिसकेपछि तपाईंले मोबाइल बैंकिङबाट महँगो शुल्क तिरेर रकम ट्रान्सफर गर्नुपर्ने छैन ।

कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकीकृत प्ल्याटफर्म हो, जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिल भुक्तानी लगायतका सुविधा उपलब्ध छन् ।

उक्त प्ल्याटर्फममा सदस्य बैंकका ग्राहकहरूले फण्ड ट्रान्सफर लगायत अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाइल वालेटमा फण्ड लोड, नेप्से अनलाइन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल/कलेज, इन्स्युरेन्स जस्ता कारोबारहरु गर्न सकिने व्यवस्था छ ।

कनेक्ट आईपीएसबाट एक वा एकभन्दा बढी बैंक खाता लिंक गरी फण्ड ट्रान्सफर गर्न सकिन्छ । साथै कनेक्ट आईपीएसबाट सेयर कारोबार, मोबाइल वालेटमा रकम लोड, स्कुल कलेजको फि, इन्टरनेटको शुल्क, बस टिकट काट्न तथा अन्य विभिन्न भुक्तानी गर्न सकिन्छ ।

कनेक्ट आईपीएसको वेबसाइटबाट दश लाख रुपैयाँ र मोबाइल एपबाट एक लाख रुपैयाँसम्मको प्रति कारोबार रियल टाइममा गर्न सकिन्छ । नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको कनेक्ट आईपीएस नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबाट प्रवर्द्धित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment