Comments Add Comment

पोखरामा देशकै दोस्रो ठूलो पेट्रोलियम भण्डारको निर्माण सुरु

२८ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले मुलुककै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह निर्माण सुरु गरेको छ । निगमको गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखरा गगनगौंडामा बन्ने भण्डारण गृह अमलेखगञ्ज पछिको ठूलो डिपो हुनेछ ।

एक करोड लिटर पेटोलियम पदार्थ भण्डारण क्षमता भएको डिपोको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बिहिबार शिलान्यास गरे ।

पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० मा रहेको साविककै डिपोलाई सुदृढ गरेर नयाँ भण्डाण गृह निर्माण थालिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमताको डिपो निर्माण गर्ने सरकारको नीतिअनुसार पहिलो परियोजनाको रुपमा पोखरामा भण्डारण गृह निर्माण थालिएको पौडेलको भनाई छ । हालकै डिपो हाताको ७७ रोपनी क्षेत्रफलमा नयाँ भण्डारण गृह बन्ने निगमको भनाई छ ।

हाल प्रदेशमा सात दिनकालागि डिजेल र दुई दिनको लागि मात्रै पेट्रोलको मौज्दात हुने भण्डारण गृह छ । नयाँ भण्डारण गृह निर्माण सम्पन्न भए डिजेलको भण्डारण मागको तुलनामा एक महिना र पेटोलको खपत १२ दिनलाई पुग्ने निगमले जनाएको छ ।

निगमको गण्डकी प्रादेशिक कार्यालय डिपोका अनुसार प्रदेशमा हरेक दिन तीन लाख ३ लाख २५ हजार लिटर डिजेल र एक लाख ४२ हजार लिटर पेट्रोल बिक्री हुन्छ ।

प्रदेशमा नयाँ भण्डारण गृह निर्माणका लागि दुई अर्ब खर्च गरेर जग्गा खरिद गर्न प्रदेश सरकारले थालेको प्रक्रिया रोकेर निगमले यो परियोजना अघि बढाएको जनाएको छ । पुरानै जमिनमा भण्डार गृह बनाउने निर्णयबाट दुई अर्व रूपैयाँ जोगिएका निगमको दाबी छ ।

इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले प्राविधिक अध्ययन गरेको हो । भण्डारण गृहको कुल निर्माण लागत ७७ करोड नेपाली रुपैयाँ हुने बताइएको छ । परियोजना दुईवर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment