 
																			२९ कात्तिक, काठमाडौं । ‘यो पार्किङ गर्ने ठाउँ हो ? दिमाग छैन कि क्या हो !‘ सिटी फुक्दै एक प्रहरी जवान स्कुटर रोकिएको छेउमा पुगे ।
‘के भनेको ? बोल्ने तरिका यही हो ?’ स्कुटरवालाले जवाफ फर्काए ।
ड्युटीमा खटिएका प्रहरी जवान र स्कूटरवालाबीचको यस्तो भनाभन केहीबेरसम्म चल्यो । अर्का प्रहरी जवान आएपछि विवाद किनारा लाग्यो । त्यसपछि स्कूटर चलाउँदै ती व्यक्ति अघि बढे भने प्रहरी पनि सिटी फुक्दै काममा खटिए ।
शुक्रबार अपरान्ह ललितपुर, मंगलबजारमा देखिएको यो दृश्य त्यसक्षेत्रको ट्राफिक व्यवस्थापन कति अस्तव्यस्त छ भन्ने बयान गर्न काफी छ ।

काग तिहारको दिन मंगलबजार क्षेत्रमा पैदल हिंड्न पनि गाह्रो थियो । आसपासका व्यापारीहरूलाई भ्याईनभ्याई थियो । तिहारका लागि किनमेल गर्न आएकाहरूलाई भीड छिचोलेर आफूलाई आवश्यक सामान किन्न सजिलो थिएन ।
तामाका भाडा पसल, माला पसल, भाइ मसला बिक्री गर्ने पसल हुन या पान पसल जताततै भीड देखिन्थ्यो । हातमा शुभलाभ लेखेका पोस्टर, क्यान्डल बेन्चेहरु पनि व्यस्त देखिन्थे ।
यस्तो घुइँचो सामान्यतया न्यूरोड, असन इन्द्रचोकम देखिन्थ्यो । तर मंगलबजारको भीड असन र इन्द्रचोकको भन्दा कम थिएन । ‘मखमली फुलको माला कति रुपैयाँ हो ?’ एक महिलाले सोधिन् । ‘५० रुपैयाँ एउटाको’ पसलकी किशोरीले जवाफ फर्काइन् । उनले २ सय रुपैयाँ दिएर ४ वटा माला किनिन् र बाटो तताईन ।
माटाका दियो बिक्री गर्नेलाई पनि उस्तै भ्याईनभ्याई थियो ।
‘नाङलोको कति रुपैयाँ ?’ श्रीमतीसहित आएका पुरुषले सोधे । ‘४६० रुपैयाँ’ पसलेको जवाफ । ४०० रुपैयाँमा देउँ भन्दै ग्राहकले बार्गेनिङ गरे । पसलेले ४५० रुपैयाँसम्म आउने बताए । बल्लतल्ल ४२५ रुपैयाँमा कुरा मिल्यो । अनि नाङ्लो किनेर ति जोडी अरु सामान किन्न थाले ।
‘धेरै महंगो पर्यो क्या हो ?’ अनलाइनखबरको जिज्ञासामा ती व्यक्तिले महंगो पनि अत्यधीक नै भएको बताए । लक्ष्मी पुजाको अघिल्लो दिन भएका कारण यति महंगो परेको उनले बताए ।
‘पुजा गर्न नाङ्लो चाहिन्छ, किन्नै पर्ने भएपछि महंगो परिहाल्छ’ ति व्यक्तिले भने, ‘यो त आजमात्रै महंगो हो, आज ४ सयमा पनि दिएन भोलि यसैले २ सयमा दिन्छ ।’
मंगलबजारमा किन यतिधेरै मान्छे झुमिन्छन् ? यो पनि चासोको विषय हो । चाहिने सामान सबै एकै ठाउँमा पाइने भएकाले मंगलबजार तिहार अघि यस्तै भीड हुन्छ । पुल्चोक हुँदै ग्वार्कोतिर जाने सार्वजनिक यातायातहरू मंगलबजार हुदैँ जान्छ ।
ललितपुरवासीको असन
ललितपुरवासीका लागि मंगलबजार असन जस्तै हो । ‘यहाँ ओखरदेखि भाइमसला, पान-सुपारी, माला सबै चीज सहजै पाइन्छ अलि सस्तो पनि यहिँ हुन्छ’ ग्वार्काेका रमेश बम्जन भन्छन्, ‘एकै ठाउँ सबै थोक किन्नलाई जाने भनेको भाटभटेनी हो, तर भाटभटेनीमा यस्तो सामान पाइदैन पाएको पनि महंगो हुन्छ ।’
बाटामै पाइने भएका कारण पनि किनमेलका सजिलो हुने गरेको रमेश सुनाउँछन् ।
फेरि नजिकै अर्को यस्तो सबै पाइने बजार नभएका कारण पनि मंगलबजार नै हरेक वर्ष आउने गरेको उनले अनुभव सुनाए । ‘जहाँ सजिलो हुन्छ किनमेलका लागि त्यहिँ जाने हो, असन जान हामीलाई धेरै टाढा हुन्छ त्यहिँ भएर पनि सधैं हामी आउँछौं’ उनले भने ।
‘भीड त छ, तर पोहोरको भन्दा कम’
व्यापार व्यवसायको रिपोर्टिङ गर्न जाँदाको एउटा अनौठो अनुभव छ । व्यापारीले कहिले पनि यसपाली व्यापार भयो भन्दैनन् । ‘पोहोर त निकै राम्रो थियो, यसपाली त व्यापार डामाडोल छ’ व्यापारीको सदाबहार जवाफ हो यो ।

शुक्रबार मंगलबजारमा व्यापारीहरूले पनि यो भन्दा फरक थिएन । ‘खै केको व्यापार धेरै हुनु हुनु, पोहोर त धेरै नै थियो यसपाली व्यापार नै छैन’ भाइटिकाका लागि आवश्यक पर्ने सामाग्रीहरू बिक्री गरिरहेकी सुनिता शाक्य बताउँछिन् ।
‘अनि यति धेरै भीड छ त ?’ प्रतिप्रश्नमा उनी भन्छिन्, ‘यो त पोहोरको भन्दा धेरै कम छ नि पोहोर धेरै नै ठूलो भीड थियो, यसपाली त ग्राहक नै खासै छैनन् ।’
कोरोना महामारी अझै रोकिएको छैन । काठमाडौं उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढीरहेको छ । शुक्रबारमात्रै देशभर २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसको आधा त काठमाडौं उपत्यकामा नै छन् ।
कोरोनाका कारण भीड घटेको हो कि ? ‘कोरोनाका कारण यतिबेला व्यापार नै छैन नि’ शाक्य भन्छिन् ।
तर त्यहाँ देखिएको भीडले कोरोनाबाट सर्वसाधारण डराएका छन् भन्ने देखाउँदैन । अधिकांशले चीउँडो वा मुखमा मास्क लगाएका देखिन्थे । भीड छैन भन्दै गरेकी उनलाई राम्रोसँग बोल्न फुर्सद भने थिएन ।
भीडभाड भने थामिनसक्नु छ । ‘खै भीडभाड हेर्दा त राम्रै व्यापार छ कि भन्नुहोला तर बाहिर देखिए जस्तो खासै छैन’ ११ वर्षदेखि मंगलबजारमा भाडाको व्यापार गर्दै आएका पसले भन्छन्, ‘पोहोरको भन्दा त आधा पनि व्यापार भएको छैन होला ।’ भीड भए पनि सबै किन्नकै लागि नआउने उनको तर्क छ ।
धेरै घुम्न तथा रमाईलो हेर्नका लागि पनि आउने गरेको उनको भनाइ छ । ‘तपाईले भीडको कुरा गर्नुभयो त भीड हुने नै ठाउँ हो, अगाडि मन्दिर छ केटाकेटी घुम्नका लागि पनि आउँछन्, ति व्यापारी भन्छन्, ‘व्यापार नै नभएको त होइन, तर भीड देखिए जस्तो व्यापार चाहिँ छैन ।’
उनले यसो भन्दै गर्दा उनकी श्रीमती भने ग्राहकलाई दाम बताउन व्यस्त थिएन् । केहिबेरमा उनी पनि ग्राहकतिर लागे । सबै पसलको अवस्था यस्तै छ । बाटामा थेगिनसक्नु भीड, व्यापारीलाई भ्याई नभ्याईं छ । तर गुनासो उही, ‘पोहोर जस्तो व्यापार छैन ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4