Comments Add Comment

सबै खुल्यो, फिल्म क्षेत्र किन खुलेन सरकार…?

लकडाउन सकिएसँगै चलचित्रकर्मीमा आशा थियो, अब चलचित्र क्षेत्र खुल्छ । यसैले, चलचित्र प्रदर्शकहरु भदौबाट चलचित्र चलाउन पाउने आशामा थिए । केही प्रदर्शकहरुले त दशैंका लागि चलचित्र रिलिज गर्न निर्मातासँग आग्रह पनि गरे । दशैंमा चलचित्रको व्यापार राम्रो हुने भएकाले पनि चलचित्र क्षेत्र सुचारु हुने र करिब ७ महिनादेखिको घाटामा केही हदसम्म मल्हम लाग्ने आशा प्रदर्शकको थियो । तर, दशैंमा पनि चलचित्र क्षेत्र खुलेन ।

आन्तरिक हवाई उडान, लामो दुरीका गाडी पूर्ण क्षमताका साथ संचालन हुँदा पनि चलचित्र क्षेत्र खुलेन । चलचित्र विकास बोर्डसँगको छलफलमा तिहारमा हल खुल्ने आश्वासन पाएका चलचित्र प्रदर्शकले । यो विचमा केही चलचित्रका निर्माताले छायांकन भने सुचारु गरिसकेका थिए ।

हल नखुलेपछि चलचित्र क्षेत्रको चहलपहल नै ठप्प जस्तो देखिएको छ । हलमा काम गर्ने हजारौ मजदुर ८ महिनादेखि बेरोजगार छन् । चलचित्र प्राविधिकहरुले पनि पूर्ण रुपमा काम पाउन सकेका छैनन् । यसले, यो चलचित्रमा आवद्ध हजारौ चलचित्रकर्मीलाई समस्या उत्पन्न हुन थालेको छ ।

तर, सरकारले अझै पनि चलचित्र क्षेत्रका लागि कुनै पनि खालको सम्बोधन गर्न सकेको छैन । हल खोल्नका लागि प्रदर्शकहरुले आन्तरिक तयारी गरेपनि सरकारले यस बिषयमा चासो नराख्दा उनीहरु निराश छन् ।

भारतमा समेत हल खुलिसकेको एक महिना बढी भयो । पुराना चलचित्र चलाएरै भएपनि भारतमा हल संचालकहरुले केही मात्रामा राहतको श्वास फेरेका छन् भने दर्शकलाई हलमा फर्काउने माहोलको सिर्जना भैरहेको छ ।

निर्माता तथा वितरक करण श्रेष्ठले सामाजिक संजालमा फोटो राख्दै ‘सबै खुल्यो, चलचित्र क्षेत्र किन खुलेन सरकार ? हाम्रोमा पनि मजदुर छन्’ भनेर स्टाटस लेखेका छन् । उनको जस्तै भनाई आम चलचित्रकर्मीको पनि हो । आखिर, चलचित्र क्षेत्र कहिले खुल्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment