Comments Add Comment

बहुपक्षीयतामा जोड दिँदै ब्रिक्स सम्मेलन सम्पन्न

३ मंसिर, काठमाडौं । ब्रिक्सको १२ औं शिखर सम्मेलन बहुपक्षीयताको प्रवर्द्धनमा जोड दिँदै सम्पन्न भएको छ । कोभिड–१९ का कारण सो सम्मेलन पहिलोपटक भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो ।

सम्मेलनले अहिले विश्वमा देखा परेका समस्याहरु समाधान गर्नका लागि अझ नजिकको सहकार्य गर्नुपर्ने र अन्तर्राष्ट्रिय संगठनहरुलाई अझ सुदृढ पार्नु पर्नेमा जोड दिएको छ । सम्मेलनपछि जारी गरिएको संयुक्त वक्तव्यमा भनिएको छ, ‘हामी बहुपक्षीयता र पारस्परिक सम्मान, सार्वभौम समानता, प्रजातन्त्र, समावेशी र सुदृढ सहकार्यको सिद्धान्तप्रति पुनः जोड दिन चाहान्छौं ।’

सम्मेलनले अन्तर्राष्ट्रिय शासन प्रणालीलाई अझ सुदृढ गर्नुपर्ने र निर्णय प्रक्रियामा विकासोन्मुख देशहरुको सहभागीता बढाउनुपर्नेमा जोड दिएको छ । सम्मेलनले संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, अन्तराष्ट्रिय मुद्रा कोष र अन्य अन्तर्राष्ट्रिय संस्थालाई प्रभावकारी बनाउनुपर्ने र ती संस्थामा सुधारसमेत गर्नुपर्नेमा जोड दिएको छ ।

सम्मेलनाई सम्बोधन गदै चिनियाँ राष्ट्रपति सी चिनफिङले कोभिड–१९ लगायतका महामारीलाई पराजित गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए । उनले सम्बोधनमा क्रममा बहुपक्षीयतालाई विशेष जोड दिएका थिए ।

पछिल्लोपटक चिनियाँ अधिकारीहरुले बहुपक्षीयताको प्रवर्द्धनमा विशेष जोड दिन थालेका छन् । राष्ट्रपति सीले दीर्घकालीन विकास र वातावरण संरक्षणमा जोड दिएका थिए ।

त्यसैगरी सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ भ्याक्सिन उत्पादन र आतंकवाद नियन्त्रणमा सबै मुलुकले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

ब्रिक्स के हो ?

ब्रिक्स विश्वका चार उदयीमान अर्थतन्त्र भएका मुलुक ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको एक संगठन हो । यी पाँच देशको नामको अघिल्लो अक्षरबाट संगठनको नाम राखिएको छ । यसको पहिलो बैठक सन् २००९ मा भएको थियो ।

पहिले यसमा दक्षिण अफ्रिका सहभागी थिएन । त्यतिबेला यो संगठनलाई ‘ब्रिक’ भनिन्थ्यो । सन् २०१० मा दक्षिण अफ्रिका (साउथ अफ्रिका) पनि सामेल भएपछि संगठनको नाम ‘ब्रिक्स’ भयो ।

सन् २००९ यता यो संगठनको सम्मेलन हरेक वर्ष सदस्य देशहरुले पालैपालो आयोजना गर्दै आएका छन् । यस वर्ष रुसमा २१–२३ जुलाइमा हुने तय भएको थियो । तर कोरोना संक्रमणको महामारीका कारण १७ नोभेम्बरमा भर्चुअल विधिबाट गरियो ।

ब्रिक्सको आगामी सम्मेलन भारतमा हुने छ । तर मिति भने तय भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment