Comments Add Comment

नेपाली क्रिकेट टिमको प्रशिक्षक बन्ने दौडमा वाटमोर

१० मंसिर, काठमाडौं । जतिबेला डेभ वाटमोर श्रीलंकन राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भए, अन्तर्राष्ट्रिय क्रिकेटमा भर्खर बामे सर्दै गरेको टोलीमा यति ठूलो रुपान्तरण ल्याउँछन् भन्ने धेरैलाई विश्वास थिएन । कप्तान अर्जुना रणतुङ्गासँग मिलेर उनले श्रीलंकाली टोलीको मुहार परिवर्तन गरेर एकदिवसीय क्रिकेटमा एक जबरजस्त शक्ति बनाए ।

ओपनरहरू सनथ जयसूर्या र रोमश कलुविथराणलाई उनले आक्रामक खेल्ने अनुमति दिए । जबकी त्यसअघि ओपनरहरूका लागि लामो समयसम्म टिकेर खेल्नु महत्वपूर्ण मानिन्थ्यो । धेरै हिसाबमा वाटमोरको फरक अवधारणाले क्रिकेटमा ठूलो प्रभाव पार्‍यो । त्यही अवधारणाको जगमा श्रीलंका सन् १९९६ मा एकदिवसीय क्रिकेटको विश्व विजेता बन्यो ।

उनै सफल प्रशिक्षक वाटमोरले अहिले नेपालको राष्ट्रिय क्रिकेट टिम सम्हाल्ने इच्छा देखाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नयाँ प्रशिक्षकका लागि ७२ जनाले आवेदन दिएका थिए । त्यसबाट सुरूमा २५ जनाको सर्टलिस्ट तयार पारियो । उनीहरूमध्ये पनि लिस्ट ‘ए’मा परेका १४ जनालाई अन्तर्वार्तामा बोलाइएको थियो ।

क्यान स्रोतका अनुसार १२ जनाको अन्तर्वार्ता लिइएको छ, दुई जना यो प्रक्रियामा सहभागी नै भएनन् । भारतीय शुलक्षण कुलकर्णी र वेष्ट इण्डिजका एक जना अन्तर्वार्ता दिन आएनन् ।

६६ वर्षीय वाटमोर पनि अन्तर्वार्तामा सहभागी भए । त्यसक्रममा उनले नेपाली टिमको प्रशिक्षक बन्ने इच्छा भएर नै आफूले आवेदन दिएको बताएका थिए ।

उनीबाहेक २०११ देखि चार वर्ष नेपालको प्रशिक्षक रहेका पुवुदु दशानायके, छोटो समयका लागि व्याटिङ प्रशिक्षक भएर आएका भारतका अपूर्व सुबोधभाइ देसाइ, भारतकै वेन्कट राम, मुकुन्द पारमर, स्कटल्याण्डका नेइल क्याक्रेइ र जिम्बाब्वेका ताइबु पनि प्रशिक्षक बन्न इच्छुक छन् ।

क्रिकेट संघ स्रोतका अनुसार अहिले अन्तर्वार्ता लिइएका १२ बाट तीन जना छनोट गरेर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँग परामर्श गर्ने योजना छ । ‘हामीले अन्तर्वार्ता लिएकामध्ये वाटमोर हेभिवेट उम्मेदवार हुन् । देसाईले पनि हामीसँग काम गरिरहेका छन्’ नाम उल्लेख नगर्ने सर्तमा एक पदाधिकारीले भने, ‘सेवा सुविधा लगायतका विषयमा छलफल भएको छैन । त्यसैले अहिले नै प्रशिक्षक को छानिन्छ भन्न सकिन्न ।’

सकेसम्म छिट्टै क्रिकेट प्रशिक्षक नियुक्त गर्ने आफूहरुको प्रयास रहेको उनले बताए । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले पनि प्रशिक्षक छनोटको प्रक्रियामा रहेको बताए । वाटमोर पनि दावेदार हुन् भन्ने प्रश्नमा उनले भने, ‘हामीले अन्तर्वार्ता लिएकाहरूमा उहाँ पनि हुनुहुन्छ । अरू मैले भन्न मिल्दैन ।’

वाटमोरको गर्विलो इतिहास

वाटमोर श्रीलंकाको कोलम्बोमा जन्मेका हुन् । सन् १९६२ मा परिवार बसाई सरेपछि अष्ट्रेलिया पुगेका उनले त्यहाँको राष्ट्रिय टिमबाट खेल्ने अवसर पनि पाए ।

दशक लामो खेलाडी जीवनबाट १९८८/८९ मा सन्यास लिएका उनी त्यसपछि प्रशिक्षणतिर लागे । श्रीलंकाले १९९६ मा विश्वकप जित्दा वाटमोर प्रशिक्षक थिए ।

श्रीलंकालाई विश्वच्याम्पियन बनाएपछि उनी इंग्लिस काउन्टी क्रिकेट टिम लंकाशायर पुगे । उनले दुई राष्ट्रिय लिग र नेटवेस्ट ट्रफी जिताए ।

त्यसपछि फेरि श्रीलंका फर्किएका उनलाई १९९९ को विश्वकपमा भने सफलता हात लागेन । २००३ को विश्वकपमा भने श्रीलंकालाई उनले सेमिफाइनलमा पुर्‍याए ।

श्रीलंका क्रिकेटको रूपान्तरणबाट प्रभावित बंगलादेशले उनलाई प्रशिक्षक बन्न प्रस्ताव गर्‍यो । उनले श्रीलंकाकै जस्तो सफलता त दोहोर्‍याउन सकेनन्, तर २००५ मा बंगलादेशले (जिम्बाब्वेविरुद्ध) पहिलो टेष्ट म्याच जित्यो भने कार्डिफमा भएको एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई हरायो । २००७ को विश्वकपमा बंगलादेश ‘सुपर–एट’ का लागि छनोट पनि भएको थियो ।

बंगलादेश छाडेपछि उनी भारत र इंग्ल्याण्डको प्रशिक्षकका दावेदार पनि थिए । तर इंग्ल्याण्डले पिटर मोरेस र भारतले रवि शास्त्रीलाई प्रशिक्षक बनायो । २००७ मा उनी भारतको नेसनल क्रिकेट एकेडेमीको निर्देशक बने भने यू–१९ टिम पनि सम्हाले । त्यही बेला भारतले यू–१९ विश्वकप जित्यो । २००८ मा मलेसियामा भएको प्रतियोगितामा भारतीय कप्तान विराट कोहली थिए ।

२०१० र २०११ मा आईपीएल टिम कोलकाता नाइट राइडर्सको प्रशिक्षक रहेका उनले ४ मार्च २०१२ मा पाकिस्तान टिमको प्रशिक्षक नियुक्त भए । उनको प्रशिक्षणमा पाकिस्तानले एसिया कप जितेको थियो । पाकिस्तानमा सम्झौता सकिएपछि जिम्बाब्वे पुगेका उनले त्यहाँ पूरा काम गर्न पाएनन् ।

२०१७–१८ मा केरला क्रिकेट एशोसिएसनको मुख्य प्रशिक्षक रहेका उनी केरला क्रिकेटमा दीर्घकालीन प्रभाव छाड्न सफल भएको मानिन्छ । २०२० फेब्रअरीदेखि वाटमोर सिंगापुर क्रिकेट टिमको मुख्य प्रशिक्षक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment