
१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।
संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले बिरोध जनाएका थिए ।
बुधबार पौडेलले पुल उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि जिल्ला प्रशासन कार्यालयले भने पुल उद्घाटनको विरोध गर्दै राष्ट्रिय युवा संघलगायतले विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको र झडपको सम्भावना भएको भन्दै पुल क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको थियो ।
तर पौडेल पुल उद्घाटन गर्न कांग्रेस कार्यकर्ताको ठूलो समूहसहित पुगेपछि प्रहरीले निषेधाज्ञा लगाइएको भन्दै नियन्त्रणमा लिएको थियो । निषेधित क्षेत्र तोड्न खोजेकाले पौडेललाई नियन्त्रणमा लिइएको डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

कांग्रेस कार्यकर्तालाई निषेधित क्षेत्रबाट हटाउन प्रहरीले लाठीचार्ज र दर्जनौ सेल अश्रुग्यासको सेल हानेको थियो ।
नेता पौडेलसँगै प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई प्रहरीले पक्राउ गरेको थियो । त्यस क्रममा तत्कालिन संविधान सभा सदस्य रामचन्द्र पोखरेललगायतका केही घाइते भएका ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
तीन घण्टापछि उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको तनहुँ प्रहरी प्रमुख अरुण पौडेलले अनलाइनखबरलाई जानकारी दिए । ‘समन्वय प्रमुखको रोहबरमा रिहा गरेका छौं,’ एसपी पौडेलले भने ।
रिहा भएपछि नेता पौडेलले प्रशासनले नाङ्गो नाच देखाएको र लोकतन्त्र लज्जित भएको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया 4