Comments Add Comment

भीम रावलको प्रश्न : स्वागत गर्ने मन्त्री, वार्ताचाहिँ सेना प्रमुखसँग ?

१९ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावलले चिनियाँ रक्षामन्त्री वेई फेङहेको नेपाल भ्रमणका क्रममा भएको प्रतिनिधिमण्डल स्तरमा वार्ताबारे प्रश्न उठाएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा सांसद रावलले प्रतिनिधिमण्डल स्तरको वार्ता मन्त्रीस्तरमा हुनुपर्ने बताए । उनले भनेका छन्, ‘विमानस्थलमा लिन र छोड्न मन्त्रीजी गएको देखिन्छ । अनि प्रतिनिधिमण्डल स्तरको वार्ता सेना प्रमुखसँग ? यो कस्तो कूटनीति हो मैले बुझिनँ ।’

उनले अघि भने, ‘एउटा मन्त्रीको प्रधानसेनापतिसँग डेलिगेशनस्तरमा वार्ता हुने चलन मैले त नयाँ सुनेँ । यो कस्तो कूटनीति हामीले आरम्भ गर्न खोजेको मैले बुझिनँ ।’

चिनियाँ रक्षामन्त्री वेईलाई स्वागत गर्न गृहमन्त्री रामबहादुर थापा बादल विमानस्थलमा पुगेका थिए । तर उनको भ्रमणका क्रममा प्रतिनिधिमण्डलस्तरमा सेना प्रमुखसँग वार्ता भएको सरकारले बताएको छ । उनी पनि जङ्गी अड्डा पुगेका थिए ।

सांसद रावलले चिनियाँ रक्षामन्त्रीको भ्रमणका क्रममा भएका भेटवार्ताहरुमा बीआरआईको प्रशंगमा वार्ता भएको विषय वक्तव्यमा नआएको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेकपा सांसद रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीको भेटलाई लिएर समेत प्रश्न उठाएका छन् । साथै भारतीय विदेश सचिवको नेपाल भ्रमणका क्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेकका विषयमा वार्ता भएको ठोस रुपमा नआएको समेत धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment