Comments Add Comment

दुर्घटनामा ज्यान गुमाएका तीन पुस्ताका तीन सदस्य

२१ मंसिर, डोटी । काखमा तीन बर्षीय छोरा, संगैको सिटमा सासुआमा, कच्ची सडकमा बोलेरो जीपको यात्रा । उनको यात्रा करीव चार घण्टाको मात्रै थियो । तर, त्यो यात्रा अनन्त यात्रा भयो ।

बैतडी सूनार्या गाउँपालिका–६ मूल खटालीकी २८ बर्षीया मञ्जु त्रिपाठी र उनकी सासुआमा डम्बरीदेवी अवस्थीको घटनास्थलमै मृत्यु भयो । छोराको उपचारका लागि दिपायल लैजाँदै गर्दा बाटोमा मृत्यु भयो । उज्वल भविष्यको सपना बोक्दै गत बर्ष माघ २३ गते लोकसेवा आयोगको परीक्षा पास गरी नायब सुब्बा पदको नियुक्ति पाएकी थिइन् उनले ।

२०६६ सालमा प्रमाण पत्र तह पढ्दै गर्दा मञ्जुको बिहे मदनराज अवस्थीसंग भयो । श्रीमान्को सहयोगमा उनले अंग्रेजी मूल बिषयमा स्नातकोत्तर तह उत्तीर्ण गरिन् । उनले स्थायी जागिरका लागि कम्मर कसिन् ।

लोकसेवा आयोगको खरिदार पदमा उत्तीर्ण भइन् पनि । बझाङको केदारस्यूँ गाउँपालिकामा पदस्थापन भएकी उनी खरिदार पदमा कार्यरत हुँदै खुला प्रतिस्पर्धाबाटै नायव सुब्बामा नाम निकाल्न सफल भइन् ।

श्रीमान् जीवन बिमा कम्पनीमा शाखा प्रवन्धक, आफू सरकारी जागिरे । घरमा आमाजस्तै माया गर्ने सासुआमा, भाइले जस्तै माया गर्ने एक देवर र आफ्नो मुटुको टुक्रा दुधे बालक । हाँसीखुशी थियो, मञ्जुको संसार । तर कसलाई थाह उनको यो खुशीको संसार यति छोटो छ भन्ने !

बोगटान फुड्सिल गाउँपालिका, वडा नं. ७ को कार्यालयमा सचिव पदमा कार्यरत मञ्जुले आफू पदस्थापन हुँदैदेखि छोरा मुकुन्दलाई हेर्न ६१ बर्षीया सासुआमा डम्मरीदेवी अवस्थीलाई संगै लिएर गएकी थिइन् ।

श्रीमान् बैतडी जिल्ला सदरमुकाममा बस्ने, देवर कैलाली बस्ने, सासुआमालाई एक्लै छोड्नु पनि भएन । दसैंको बेला घर जाँदा मञ्जुले सासुआमा र छोरालाई घरमै छोडेर आइन् । तिहारमा पनि उनी घर गइन् । फेरि पूजाका लागि फर्कनुपर्ने भएका कारण उनले छोरालाई नल्याएरै कार्यक्षेत्रमा फर्किइन् ।

चाडपर्व र मेलाजात्रा सकिएपछि शनिबार मञ्जु सासुआमा र छोरोसंगै कार्यक्षेत्रका लागि हिँडिन् । राति भएपनि आफ्नो कोठामा पुग्ने र भोलिपल्ट कार्यालयमा हाजिर हुने लक्ष्य थियो उनको । तर यो यात्राले उनीहरुलाई नियमितको गन्तव्यमा पु¥याएन । घरबाट निस्कँदा छिमेकीलाई उनले अर्को पल्ट आउँदा भेट्ने भनेकी थिइन् । छिट्टै भेट्ने बाचाका साथ उनी श्रीमान्संग छुट्टिएकी थिइन् । तर मञ्जुले अब न त श्रीमान्लाई दिएको बाचा पुरा गर्नेछिन्, न छिमेकीलाई भेट्ने छिन् । न त उनलाई नै अब कसैले भेट्न सक्नेछ ।

हिजोमात्रै खुशीले हात हल्लाउँदै आमा, श्रीमती र छोरालाई बिदाई गर्ने मदन आज तिनै आमा, श्रीमती र छोरोको शवको पर्खाइमा छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दुर्घटना जिल्ला सदरमुकामबाट टाढा भएकाले शव ल्याउन ढिलाइ भएको छ । पाण्डेय भन्छन् ‘अव शब परीक्षण त भोलि मात्रै हुन्छ ।

दिपायलबाट चवाराचौताराका लागि हिँडेको म १ च ५५० नम्बरको जिप मध्यराति दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिकाको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत हरिनारायण भट्टले पनि ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment