Comments Add Comment

प्रदेश २ मा थप दुईजना कोरोना संक्रमितको मृत्यु

२४ मंसिर, जनकपुरधाम । प्रदेश २ मा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिराहा र सर्लाहीका एक/एक जनाको मृत्यु भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामका अनुसार सिराहाको लहहान नगरपालिका वडानम्बर २४ की ६१ वर्षीया महिलाको मृत्यु भएको छ । उनको उपचारको क्रममा विराटनगरको नोबेल अस्पतालमा मंसिर २२ गते राति नै मृत्यु भए पनि जानकारी बुधबार आएको निर्देशनालयका जनस्वास्थ्य अधिकृत विपिन यादवले जानकारी दिए ।

निर्देशनालयका सूचना अधिकारी प्रकाश शर्माका अनुसार ती महिला बिरामी भएपछि गत मंसिर २१ गते अस्पताल भर्ना भएकी थिइन् । र, त्यही दिन स्वाब जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ आएको भोलिपल्टै ती महिलाको मृत्यु भएको शर्माले बताए ।

यस्तै, सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ का ७४ वर्षीय पुरुषको पनि कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको छ । संक्रमित देखिएपछि एनएमसीद्वारा संचालित बाबा होटलको आइसोलेसनमा उपचार गराइरहेका ती वृद्धको मृत्यु भएको हो ।

१८ गते पोजेटिभ देखिएका ती पुरुषको मंसीर २० गते मृत्यु भएको शर्माले बताए । यी दुवैलाई अन्य रोग रहे/नरहेको सम्बन्धमा खुल्न नसकेको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment