Comments Add Comment

पत्रकार पक्राउको विषय आन्तरिक मामिला : चीन

२९ मंसिर, काठमाडौं । ब्लूमवर्गकी पत्रकार हेज फान पक्राउ परेको विषय आफ्नो आन्तरिक मामिला भएको भन्दै चीनले यसमा दखल नदिन युरोपेली संघ (ईयू)लाई चेतावनी दिएको छ । गत साता ब्लूमवर्गमा काम गर्ने चिनियाँ पत्रकार हेज फान राष्ट्रिय सुरक्षामा जोखिम पुर्‍याउने गतिविधि गरेको आरोपमा पक्राउ परेकी थिइन् ।

पत्रकार पक्राउ परेको विषयमा ईयूले चीनसँग फानसहित यसअघि पक्राउ गरिएका सबै पत्रकारहरुलाई रिहाइ गर्न माग गरेको छ । त्यस्तै चीनको फरेन करेस्पोन्डेन्ट क्लब इन चाइना (एफसीसीसी)ले पनि पत्रकार पक्राउको विरोध गरेको थियो । यद्यपि आइतबार ईयूस्थित चिनियाँ दूतावासले फानलाई सुरक्षा कानुनको नियमअनुसार नै पक्राउ गरिएको बताएको हो । अहिले उनीमाथि अनुसन्धान भइरहेको र पत्रकारको अधिकार पूर्णरुपमा सुनिश्चित गरिएको चिनियाँ दूतावासले बताएको छ । फानले सन् २०१७ देखि ब्लूमबर्गमा काम गर्दै आएकी थिइन् । यसअघि उनले रोयटर्स, सीएनबीसी, अलजाजिरा र सीबीएस न्युजमा पनि काम गरेकी थिइन् ।

यस वर्ष चीनमा समस्यामा परेकी फान एकमात्र पत्रकार भने होइनन् । सन् २०२० को सुरुमा चीनले तीन अमेरिकी पत्रकारलाई देशनिकाला गर्ने निर्णय गरेको थियो । गत अगष्टमा चीनमा जन्मिएका अष्ट्रेलियाली पत्रकारलाई पक्राउ गरेको थियो । सेप्टेम्बर महिनामा चीनको रक्षा मन्त्रालयले विभिन्न प्रश्न सोधेको कारण दुई अष्ट्रेलियाली पत्रकारले चीन छाडेका थिए । डिसेम्बरको सुरुमा हङकङमा प्रजातन्त्र पक्षधर मिडिया सञ्चालक जिम्मी लाई पनि पक्राउ परेका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment