चीनले सन् २०३० सम्ममा ज्येष्ठ नागरिक र बालबालिकाको हेरचाह गर्ने सुविधाहरूको स्तरोन्नति गर्न नयाँ उपायहरू ल्याउने भएको छ । तीव्र गतिमा बढिरहेको वृद्ध जनसङ्ख्या र घट्दो जन्मदरसँग तालमेल मिलाउन यो कदम चालिएको हो। सोमबार सार्वजनिक गरिएको एक सरकारी खाकाले यो जानकारी देखाएको छ।
अधिकारीहरूले पूर्वाधार लगानी र सेवाको गुणस्तर दुवैलाई अगाडि बढाउनेछन्। ‘ज्येष्ठ नागरिक हेरचाह र बाल हेरचाह सेवाको आपूर्तिलाई सर्वसाधारणको आवश्यकतासँग प्रभावकारी रूपमा मिलाउन’ यो योजना गर्न लागिएको हो। यो योजना नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनको वेबसाइटमा प्रकाशित गरिएको छ। यसलाई नागरिक मामिला, स्वास्थ्य र शिक्षा मन्त्रालयहरूले संयुक्त रूपमा निर्देशित गरेका छन्।
दस्तावेजका अनुसार, सन् २०३० सम्ममा ज्येष्ठ नागरिक हेरचाह संस्थाहरूका कुल शय्यामध्ये ७३ प्रतिशत नर्सिङ केयर शय्या हुनेछन्। ज्येष्ठ नागरिकका लागि सामुदायिक हेरचाह सुविधाको पहुँच ७० प्रतिशत पुग्नेछ। साथै, करिब २ हजार पुराना सार्वजनिक नर्सिङ होमहरूको मर्मतसम्भार गरिनेछ।
बाल हेरचाह क्षमता बढाउन अधिकारीहरूले सबै प्रिफेक्चर-स्तरका सहरहरूमा चाइल्डकेयर सर्भिस सेन्टरहरू विस्तार गर्ने लक्ष्य राखेका छन्। सन् २०२५ को स्तरको तुलनामा ३ वर्षमुनिका बालबालिकाको भर्ना दर ६ प्रतिशत बिन्दुले बढाउने लक्ष्य पनि लिइएको छ।
यो योजनाले २ देखि ३ वर्षका बालबालिकाका लागि कक्षा सञ्चालन गर्न किन्डरगार्टेनहरूको मर्मतसम्भार वा विस्तार गर्न पनि सहयोग गर्दछ। यसले रोजगारदाताहरूलाई कार्यस्थलमै बाल हेरचाह सुविधा दिन आफ्नै परिसर प्रयोग गर्न प्रोत्साहित गर्दछ। यी परियोजनाहरूलाई केन्द्रीय बजेट कोष, स्थानीय सरकारको स्पेसल बन्ड र कमर्सियल क्रेडिटले सहयोग गर्नेछ। ठगी नियन्त्रण गर्न प्रिपेड नर्सिङ होम शुल्कमा कडा निगरानी पनि गरिनेछ।
चिनियाँ अधिकारीहरूले हालका वर्षहरूमा विवाह र सन्तान जन्माउन प्रोत्साहित गर्न विभिन्न उपायहरू लागू गरेका छन्। यसमा पारिवारिक अनुदान, बाल हेरचाह सहयोग र प्रसूतिसम्बन्धी मेडिकल खर्च घटाउने जस्ता कार्यक्रम समावेश छन्। यद्यपि, जन्मदर भने लगातार घटिरहेको छ।
जन्मदर कीर्तिमानी न्यून स्तरमा झरेपछि सन् २०२५ मा चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो। जनसाङ्ख्यिकीविद्हरूले सन् २०२६ मा पनि यस्तै प्रवृत्ति दोहोरिने चेतावनी दिएका छन्।
आधिकारिक तथ्याङ्कले सन् २०२५ मा चीनको वृद्ध आश्रित अनुपातले बाल आश्रित अनुपातलाई पहिलो पटक उछिनेको देखाएको छ। यसको अर्थ त्यहाँको श्रमशक्तिले अब बालबालिकाको तुलनामा बढी ज्येष्ठ नागरिकहरूको पालनपोषण गर्नुपरेको छ।
प्रतिक्रिया 4