Comments Add Comment

शहरी विकासमन्त्रीको कार्ययोजना : गोदावरी सभाहल बनाइसक्ने, दमक भ्यूटावरलाई गति दिने

३० मंसिर, काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो दुई महिने कार्ययोजना सार्वजनिक गरेका छन् ।  योजनामा गोदावरीमा निर्माणाधीन सभाहल बनाइसक्ने र  दमकको भ्यूटावरको निर्माणलाई गति दिनेसम्म उल्लेख छ ।

कार्ययोजना सार्वजनिक गर्दै उनले आफू मन्त्री भएर आउनुभन्दा अघि र हालको योजनालाई व्यवस्थित बनाएर लैजाने बताए । मन्त्रालयमा कार्यभार सम्हालेको दुई महिनाको समीक्षापछि मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अबको आफ्नो काम विकास निर्माणमा मात्र केन्द्रित रहने बताए ।

मन्त्रालय मातहतका सबै निकाय र आयोजना प्रमुखसँग दुई महिनाभित्र सम्पादन गर्ने कामको लिखित कार्ययोजनासहित प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी कामको शुरुवात गरेका मन्त्री श्रेष्ठले विकास निर्माणको कार्यलाई नमुनाको रुपमा अघि बढाउने बताए ।

मन्त्रीको कार्यभार सम्हालेपछि आफूले अनुगमन गरेका सबै विकास निर्माणको कामलाई तोकिएकै समयमा सम्पन्न हुने बताए । ‘माघ मसान्तसम्म गोदाबरीको सभाहल निर्माण सम्पन्न हुनेछ, धोबीखोला करिडोरको बिजुलीबजारको पुलको अन्डरपास तयार भएर सञ्चालनमा आउनेछ,’ उनले भने ।

उनले दुई महिनाभित्र वीर अस्पतालको ५ सय क्षमताको वेड सहितको कोभिड संक्रमितको उपचार व्यवस्था गर्न लागिएको बताए ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव डा. रमेशप्रसाद सिंहले मन्त्रालयले जारी गरेको १८ बुदे कार्ययोजना र भावी कार्यक्रमलाई लागु गराएरै छाड्ने बताए।

दुई महिना अवधिमा मन्त्रालयले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन सुरू गर्ने, उपत्यका लगायत देशभरका नगरपालिकाहरुको फोहोरमैलाको आधुनिक प्रविधि अवलम्बन गरेर व्यवस्थापन गर्ने सम्बन्धमा सम्भाब्यता अध्ययन गरी प्रतिवेदन पेश गर्न विज्ञ प्राविधिकको संयोजकत्वमा उच्चस्तरीय टोली गठन गर्ने, ३७ हजार ५ सय फुसको छानावाला घरमा जस्तापाता हाल्नेलगायतका योजना सम्पन्न गर्ने घोषणा भएको छ ।

त्यस्तै दुई महिना भित्र बुढानिलकण्ठमा निर्माणाधीन कालिका पार्क, नौलिन भद्रकाली, जगन्नाथ र भूकम्प स्मृती पार्क, ललितपुरको गणशेमान पार्क, देवीस्थान पार्क, फ्रेण्डस कोलोनी पार्क, नागदह पार्क निर्माण सम्पन्न गर्ने लक्ष रहेको छ ।

निर्माणाधीन सय मीटर उचाईको दमक भ्यू टावरको निर्माणलाई तिब्रता दिने, मोरङको उर्लावारीको लोपोन्मूख सन्थाल जातिको एकीकृत वस्ती विकास कार्यक्रमको कार्ययोजना तयार गरी निर्माण प्रकया अघि बढाइने, देशभित्रका स्वास्थ्य भवन अन्तर्गतका थप १० वटा रुग्ण आयोजनाहरुको व्यवस्थापन गरिने, शहरी सडक मापदण्ड लागु गराउने , शहरी सडकहरुमा समेत साईकल लेन व्यवस्थापन गर्नका लागि गठित प्राविधिक टोलीका सुझावहरुलाई कार्यान्वयनमा ल्याईने लगायतका विषय कार्ययोजनामा उल्लेख छ ।

कार्ययोजनामा २०७२ सालको विनाशकारी भूकम्पको क्षतिलाई मध्यनजर गरी भूकम्पप्रतिरोधी भवनहरुको निर्माण गर्न भवन संहिता १०५ (एनबीसी)लाई परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको छ । उक्त संहितालाई थप सरलीकरण गरी कार्यान्वयनलाई प्रभावकारी बनाइने उल्लेख छ । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले योजना हचुवाको नभइ ब्यापक छलफल गरेर तयारी गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment