Comments Add Comment

टिकटकबाट चिनेको युवकसँग बिहे गर्न भारत पुगेकी नेपाली किशोरीको उद्धार

१ पुस, काठमाडौं । एक भारतीय युवकसँग बिहे गर्न भनी भारतको मध्यप्रदेश पुगेकी नेपाली किशोरीलाई १८ दिनपछि उद्धार गरेर उनको आमालाई जिम्मा लगाइएको छ ।

१६ बर्षीया ती युवती १,३०० किलोमिटर यात्रा गरेर २१ बर्षीय युवकसँग बिहे गर्न भन्दै काठमाडौंबाट मध्यप्रदेशको सिहोर पुगेकी थिइन् ।

काठमाडौंस्थित भारतीय दूतावास र नयाँ दिल्लीस्थित नेपाली दूतावासले ती युवतीको मोवाइलमार्फत उनको लोकेसन र फेसबुकमार्फत गतिविधिलाई नजिकबाट नियालेका थिए ।

उनलाई सिहोर प्रहरीले उद्धार गरेको थियो । साथै, युवतीलाई बिहे गर्ने भन्दै बोलाउने महेश सिलोरियालाई पनि प्रहरीले पक्राउ गरेको छ । ती युवकलाई प्रहरीले मानव बेचविखनको आरोपमा पक्राउ गरेको हो ।

किशोरीकी आमा वेदैशिक रोजगारीमा छिन् र उनी बाबु र परिवारका सदस्यहरुसँग काठमाडौं बस्ने गर्थिन् । उनी सामाजिक सञ्जालमा सक्रिय रहने गरेको र त्यही कारणले ती भारतिय युवकले प्रभाव पारेको बताइएको छ ।

भारतीय प्रहरीका अनुसार ती युवकले किशोरी विवाह गर्न नआए आत्महत्या गर्ने बताएका थिए । उनीहरुको बीचमा दुई वर्षअघि टिकटक मार्फत चिनजान भएको थियो ।

किशोरीका बाबु आमाले उनीहरुको सम्बन्धको बारेमा केही महिनाअघि थाहा पाएका थिए र किशोरीलाई भारत जानबाट रोक्ने प्रयास गरेका थिए ।

गत नोभेम्बर महिना ती युवकले किशोरीलाई फोन गरेर विवाहका लागि मध्यप्रदेश आउन आग्रह गरेका थिए । उनी विभिन्न रेल र बस चढेर त्यहाँ पुगेकी थिइन् ।

किशोरीलाई उद्धार गर्न नेपाली दूतावास नयाँ दिल्लीका अधिकारीहरुसहित किशोरीकी आमा त्यहाँ पुगेकी थिइन् । ती युवकले बिहे नै गर्नका लागि बोलाएको हो कि बेचविखनका लागि हो भन्ने चाहिँ यकीन भएको छैन । दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले दूतावासको पहलमा किशोरीको उद्धार गरेको पुष्टि गरे ।

उनले अनलाइनखबरसँग भने,‘आमा र छोरी दुवै नयाँ दिल्ली आइपुग्नु भएको छ, आज उहाँहरुको ट्राभल डकुमेन्ट बनाउने काम भयो, भोलिको उडानबाट उहाँहरु काठमाडौं फर्कने कार्यक्रम छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment