+
+

टीकापुर घटना : उच्च अदालतद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

रामहरि ओझा रामहरि ओझा
२०७७ पुष ३ गते ९:२०

३ पुस, डोटी । पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।

उच्च अदालतले थरुहट आन्दोलनका नेता लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला सुनाएको छ । यसअघि जिल्ला अदालत कैलालीले थारूलाई तीन वर्षको सजाय सुनाएको थियो । उनी तीनवर्ष भन्दा बढी पुर्पक्षमा रहेकाले जिल्ला अदालतको फैसलापछि छुटिसकेका थिए ।

उच्च अदालतले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद रेशम चौधरीसहित सात जनाको फैसला सदर गरेको उच्च अदालतका रजिष्ट्रार सीता रेग्मीले जानकारी दिइन् ।

जन्मकैदको सजाय हुनेमा लक्ष्मणसहित रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन् ।

सो घटनामा कैलाली जिल्ला अदालतका तत्कालीन न्यायाधीश पर्शुराम भट्टराईको इजलासले २०७५ फागुन २२ गते रेशमसहित १० जनालाई जन्मकैद (२० वर्ष) को फैसला सुनाएको थियो । घटनामा संलग्न भनिएका श्रवण चौधरी नाबालक भएकाले उनलाई भने आधा कैद अथवा १० वर्ष मात्रै कैदको फैसला भएको थियो ।

लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तकुमार चौधरी, विश्राम भनिने जीत बहादुर डँगौरा, प्रेम बहाखुर चौधरी, किसनलाल चौधरी, रामप्रसाद चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष थारु (चौधरी), विश्राम चौधरी र चुन्नीराम चौधरीलाई तीन वर्षको कैद सजाय भएको थियो ।

२०७२ साल भदौ ७ गते टीकापुर घटनामा ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।

जिल्ला अदालतको उक्त फैसलामा चित्त नबुझेको भन्दै जन्मकैदको सजाय पाएका रेशम चौधरी सहितका ११ जनाले उच्च अदालत दिपायलमा २०७६ सालको वैशाखमा पुनरावेदन परेको थियो ।

प्रतिवादी रेशमलाल चौधरीसहितको तर्फबाट अधिवक्ता गम्भीर सिँह ऐर, गजेन्द्र बहादुर केसी, गंगाराम पाध्याय, नाथुराम महतो र काठमाण्डौंबाट आएका २ जना गरी ६ जना अधिवक्ताले बहस गरेका थिए ।

मुद्दामा वादीका तर्फबाट वरिष्ठ अघिवक्ता राजेन्द्र सिँह साउद, अधिवक्ता विष्णु भट्ट, सरकारी वकिल टेकबहादुर थापा सहितका तीनजना गरी पाँचजनाले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?