
३ पुस, काठमाडौं । नाइजेरियामा बोको हरामले अपहरण गरेका करिब ३५० विद्यार्थीहरु रिहा भएका छन् । बिहीबार नाइजेरियाको उत्तरपश्चिमी प्रान्त कात्सिनाको विद्यालयमा भएको आक्रमणपछि उनीहरु अपहरणमा परेका थिए ।
अपहरणपछि उनीहरुलाई घना जंगलभित्र लगिएको थियो । कात्सिनाका गभर्नरले विद्यार्थीहरुलाई अपहरणमुक्त गराइएको बताएका हुन् । यद्यपि हराएका सबै विद्यार्थीहरु भेटिएका हुन् वा होइनन् भन्ने स्पष्ट भने भएको छैन ।
गत साता भएको यो अपहरणले नाइजेरियामा असुरक्षाको त्रास फैलाएको थियो । यसअघि सन् २०१४ मा पनि नाइजेरियाको उत्तरपूर्वी चिबोकबाट २७० भन्दा धेरै छात्राहरु अपहरणमा परेका थिए ।
कात्सिनाका गभर्नर अमिनु बेल्लो मासारीले अधिकांश विद्यार्थीहरु अपहरणमुक्त भएको बताएका छन् । उनका अनुसार ३४४ विद्यार्थीहरु रिहा भएका छन् । उनले कति विद्यार्थीहरु हराएका थिए र उनीहरु कसरी रिहा भएका हुन् भन्ने विषयमा भने केही जानकारी दिएका छैनन् । उनीहरुलाई छिमेकी राज्य जम्फराबाट अपहरणमुक्त गरिएको मासारीको भनाइ छ । उनीहरुलाई मेडिकल परीक्षण गरी कात्सिना ल्याइनेछ ।
नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले विद्यार्थी रिहाको स्वागत गरेका छन् । उनले आफ्नो सरकारले सुरक्षाको मुद्दामा काम गरिरहेको भन्दै सबैलाई धैर्य धारण गर्न आग्रह गरेका छन् । उनले अझै धेरै काम गर्न बाँकी रहेको र सबै मुद्दाहरु समाधान हुने बताएका छन् ।
स्रोत :रोयटर्स
प्रतिक्रिया 4