+
+
Shares

कलंकीबाट युवक अपहरण : अर्धनग्न बनाएर पाइपले कुट्दै गर्दा प्रहरी पुग्यो घटनास्थल

१८ लाख फिरौती माग, उद्देश्य क्रिप्टो

कलंकीको भेटघाट क्याफेमा पुगेका रायलाई ट्याक्सीमा राखेर नागार्जुन नगरपालिका–५ स्थित छेग्डोलस्थित रेनुका महर्जनको घरको भुइँतलामा बन्धक बनाएर राखिएको थियो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ साउन ३१ गते १९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलंकीबाट अपहरणमा परेका नवीन रायलाई सकुशल उद्धार गरेको छ ।
  • प्रहरीले अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा मनोज बुढाथोकीसहित सात जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
  • अभियुक्तहरूले क्रिप्टो कारोबारको पासवर्ड माग्दै १८ लाख रुपैयाँ फिरौती माग गरी पीडितलाई कुटपिटसमेत गरेका थिए ।

३१ साउन, काठमाडौं । कलंकीबाट एक युवकलाई ट्याक्सीमा राखेर अपरहण गरी बन्धक बनाइएको पाइएको छ । अपहरण गरी एउटा घरमा लगेर बन्धक बनाई कुटपिट गर्दै गरेको अवस्थामा प्रहरीले ती युवकलाईको उद्धार गरेको छ ।

यो प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुन्सन्धान कार्यालयको टोलीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ का ३२ वर्षीय मनोज बुढाथोकी, मकवानपुर बागमती गाउँपालिका–५ का २० वर्षीय निशान रुम्बा तामाङ, सर्लाही लालबन्दी नगरपालिका–४ का २२ वर्षीय जेनिश चौधरी, ओखलढुंगा लिखु गाउँपालिका–५ का २४ वर्षीय निमेश कार्की, चितवन राप्ती नगरपालिका–२ का २४ वर्षीय अमित ओली, अर्घाखाँची मालारानी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप पोखरेल र काभ्रे भुम्लु गाउँपालिका–८ का २३ वर्षीय देवकुमार श्रेष्ठ छन् ।

पक्राउ परेका सातै जनाविरुद्ध अपहरण तथा शरीर बन्धकका कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

अपहरणमा परेका नवीन रायलाई प्रहरीले घटनास्थलबाट उद्धार गरेको थियो । रायलाई कुटिपट गर्न प्रयोग भएको पाइप, नाइलनको डोरी, चक्कुसमेत बरामद गरिएको प्रहरीले बताएको छ ।

सामाजिक सञ्जालमा कुराकानी, भेट्न बोलाएर अपहरण

अपहरणको घटना २८ साउन दिउँसोको हो । अपहरणका मुख्य योजनाका मनोज बुढाथोकी हुन् । बुढाथोकी र रोहित नाम गरेका भारतीय नागरिकबीच सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्क भएको थियो । प्रहरी स्रोतका अनुसार रोहित नाम गरेका ती व्यक्तिले डलर कार्डमा लोड गर्ने भन्दै सामाजिक सञ्जालमा एड राखेका थिए ।

उनै रोहितले डलरको भाउ बढी दिन्छु भन्दै बुढाथोकीसँग कुराकानी गरेको बताइन्छ । त्यसका लागि बुढाथोकीलाई सहयोग गर्न एक जना व्यक्ति पठाउँछु भन्दै नवीन रायलाई पठाइएको थियो । उनै रायलाई पछि बुढाथोकीको समूहले अपहरण गरेको हो ।

कलंकीको भेटघाट क्याफेमा पुगेका रायलाई ट्याक्सीमा राखेर नागार्जुन नगरपालिका–५ स्थित छेग्डोलस्थित रेनुका महर्जनको घरको भुइँतलामा बन्धक बनाएर राखिएको थियो ।

यो सूचना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आएपछि अपरहण तथा गुण्डागर्दीको अनुसन्धान गर्ने जिम्मा पाएको ४ नम्बर पिलरले उद्धार गर्नुका साथै ७ जनालाई पक्राउ गरेको हो ।

ट्याक्सीमा राखेर अपहरण, मोटरसाइकलमार्फत स्कर्टिङ

ट्रस्ट वालेट एपमा डलर लोड गर्न सहयोग गर्ने भन्दै मनोज बुढाथोकीलाई भेट्न क्याफेमा पुगेका राय एकाएक फिल्मी शैलीमा अपहरणमा परेका थिए । राय आउँदैछन् भन्ने थाहा पाएपछि बुढाथोकीले मान्छे आएको छ कि छैन भन्दै निगरानी गर्न टोली नै खटाएको पाइएको छ ।

राय आएको भन्ने सूचना पाएपछि बुढाथोकी आफैं उक्त क्याफेमा पुगेका थिए । त्यसपछि धारिलो हतियार देखाउँदै ट्याक्सीमा राखेर अहपरण गरी लगिएको थियो । केही व्यक्तिले भने मोटरसाइकलमार्फत उक्त ट्याक्सीलाई स्कर्टिङ गरेको एक अनुसन्धान अधिकारी बताउँछन् ।

अपहरण गरी बन्धक बनाएर कुटपिट गर्र्दै रायको परिवारसँग १८ लाख फिरौती माग गरिएको थियो । त्यसपछि यो सूचना प्रहरीेमा पुगेको थियो । तत्कालै अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरबाट खटिएको टोलीले उद्धार गर्नुका साथै ७ जनालाई पक्राउ गरेको हो ।

प्रहरी टोली बन्धक बनाएर राखिएको घरमा पुग्दा रायलाई कुट्टु मात्रै लगाउन दिएर हातखुट्टा नाइलनको डोरीले बाँधिएको थियो । उनको शरीरमा प्लास्टिकको पाइपले पिटिएको थियो । शरीरभरि निलडाम थिए ।

रोहितले भनेअनुसार सहयोग गर्न भने पुगेका रायलाई क्रिप्टोको कारोबार गरेको हुन सक्ने भन्दै त्यसको पासवर्ड माग्दै यातना दिइएको प्रहरी अधिकारीहरू बताउँछन् । दिउँसो २ बजेतिर अपहरणमा परेका रायलाई अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले टेक्निल एनालाइसिस र इन्टेलीजेन्सको सहयोगमा साँझ साढे ६ बजे उद्धार गरेको थियो ।

कसको भूमिका के ?

प्रहरीका अनुसार अपहरणको मुख्य योजनाकार मनोज बुढाथोकी हुन् । अपहरण गरेर बन्धक बनाइएको घरसमेत उनीहरूले अनलाइन बिजनेस गर्ने भनेर भाडामा लिएको पाइएको छ । बुढाथोकीले रोहित नाम गरेका भारतीयसँग सम्पर्क गरेको र उनैले पठाएका रायलाई अपहरण गरेका थिए ।

त्यसका लागि मान्छे आएको छ कि छैन भनेर निगरानीका लागि प्रदीप पोखरेललाई मोटरसाइकलमा पठाएका थिए । मान्छे आएको भन्ने जानकारी आएपछि बुढाथोकी आफैं क्याफेमा गएर अपहरण गरेका थिए । थप मद्दतका लागि निमेश कार्की र देवकुमार श्रेष्ठलाईसमेत बुढाथोकीले क्याफेमा बोलाएका थिए ।

रायलाई जबरजस्ती ट्याक्सीमा राखेर बुढाथोकीसमेत उक्त ट्याक्सीमा चढेका थिए । रायलाई ट्याक्सीमा राख्न सहयोग गर्ने व्यक्ति प्रदीप पोखरेल पनि हुन् । ट्याक्सीमा राखेपछि मोटसाइकलबाट स्कर्टिङ गर्दै घटनास्थलसम्म लैजाने र कुटपिट गर्नेमा पनि उनको भूमिका देखिएको प्रहरीले बताएको छ ।

रायलाई राखिएको ट्याक्सीमा निमेश कार्की पनि चढेका थिए । जेनिश चौधरी र निशान रुम्बा तामाङ भने मनोज बुढाथोकीको अफिसमा काम गर्ने व्यक्ति हुन् । मनोजले भाडामा लिएको उक्त घरमा उनीहरू बस्थे । जहाँ अपहरण गरेर रायलाई राखिएको थियो । पक्राउ परेका सातै जनाको मिलेमतोमा अपहरण गरी बन्धक बनाई कुटपिट भएको प्रहरीले बताएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?