३१ साउन, काठमाडौं । नेकपा एमालेका नेता खगेन्द्र राईको सम्झनामा एक प्रतिष्ठान गठन भएको छ ।
राजधानी बस्ने खोटाङबासीहरुको भेलाले ‘खगेन्द्र राई स्मृति प्रतिष्ठान’ गठन गरेको हो । प्रतिष्ठानको अध्यक्षमा राईका पत्नी बिमला र महासचिवमा भवानी लुइँटेल चयन भएका छन् ।
प्रतिष्ठान गठन गर्ने प्रयोजनमा भएको भेलामा एमाले केन्द्रीय सदस्य विशाल भट्टराईले राजनीतिक एवं प्रगतिशील साहित्यको क्षेत्रमा राईले पुर्याएको योगदानहरू प्र्रस्तुत गरेका थिए ।
जनसांस्कृतिक महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवं एमालेका पूर्वकेन्द्रीय सदस्य राईको गत २० फागुनमा चुनावी अभियानकै क्रममा निधन भएको थियो । ४२ वर्ष सक्रिय राजनीति गरेका राईको स्मृतिलाई जिवित राख्न प्रतिष्ठान गरिएको एमाले खोटाङका अध्यक्ष देवविक्रम राईले बताए ।
‘खगेन्द्र राईको निधन हुँदा उहाँको परिवार टुहुरो बन्यो । सँगै हाम्रो पार्टीले पनि एक अभिभावक र एक योद्धा गुमाउनु परेको पीडा छ,’ भेलामा देवविक्रमले भने, ‘यो प्रतिष्ठानबाट हामी खगेन्द्र राई सम्झिरहने काम गर्छौं । नयाँ पुस्तालाई उहाँ चिनाउनेछौं ।’
खगेन्द्र राईका पत्नी विमलाले कुनै विद्यार्थीको मुहारमा आउने चमक र बिपन्न परिवारको खुसीले खगेन्द्र राईको सम्मान हुने बताइन् ।
‘उहाँ हाम्रो परिवारको मुली मात्र हुनुहुन्थेन, चेतनाको धुरी पनि हुनुहुन्थ्यो,’ विमलाले भनिन्, ‘तर अब उहाँ फर्कनु हुन्न । त्यसैले कुनै असहायको मुहारमा खुसी ल्याउँदा उहाँको सम्मान हुन्छ, सम्झना हुन्छ ।’
प्रतिष्ठानको सदस्यहरुमा आशिष राई, मिशन राई, ईन्द्र लिमेल मगर र सुशीला तिमल्सिना चयन भएका छन् । बाँकी पदाधिकारी र सदस्य राईकै गृह जिल्ला खोटाङबाट चयन गरिने भएको छ ।
प्रतिक्रिया 4