
६ पुस, काठमाडौं । राइड सेयरिङ एप पठाओका चालकहरू कम्पनीले लिने कमिसन घटाउन माग गर्दै आन्दोलनको तयारी गरेका छन् । सोमबार उनीहरूले काठमाडौंको युएनपार्कमा जम्मा भएर कमिसन घटाउन माग गरेका हुन् ।
उनीहरूले आन्दोलनमा थप कार्यक्रम पनि अघि बढाउने तयारी गरेका छन् । पठाओ चालकहरूबाट अहिले कम्पनीले भाडाको २० प्रतिशत रकम कमिसनको रुपमा लिने गरेको छ । धेरै कमिसन लिँदा आफूहरू मारमा परेको भन्दै राइडरहरूले कमिसनलाई ८ प्रतिशतसम्म झार्नुपर्ने माग गरेका छन् ।
पठाओका व्यावसायिक चालकहरूले बाइकको बिमा कम्पनीले गरिदिनुपर्ने माग पनि गरेका छन् । त्यसैगरी, राइड सेयरिङका क्रममा दुर्घटना भएमा यात्रुले पनि क्षतिपूर्ति र उपचार खर्च पाउने गरी बिमा गर्नुपर्ने उनीहरूको माग छ।
कम्पनीले सामान्य नियम नमानेकै करण सस्पेन्ड गर्ने गरेको र कारबाही फर्काउन एक हजार एक सयभन्दा बढी जरिवाना तिर्नुपरेको भन्दै नियम संशोधनको माग पनि गरेका छन् । एक पठाओका राइडरका अनुसार कम्पनीले राइडरलाई नसोधी यात्रुको मात्रै कुरा सुनेर सस्पेन्ड गर्ने गरेको छ । यसले गर्दा आफूहरू पीडित बनेको उनको भनाइ छ।
‘हामीलाई पठाओले गरिखान बाटो दिएको छ तर कमिसन, सस्पेन्डको नियम, बिमाको व्यवस्था लगायतका विषय श्रमजीविको हितमा छैन,’ चालकले भने ।
प्रतिक्रिया 4