
१२ पुस, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको बताएका छन् ।
आइतबार कार्यभार ग्रहण गरेपछि कर्मचारीहरुसँग कुरा गर्दै मन्त्री ढकालले सेवामा समर्पित हुँदै सुनाम कमाउने मात्रै उद्देश्य राखेको बताए ।
मन्त्री ढकालले भने, ‘स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु मेरो राजनीतिक उद्देश्य हैन । जति सक्छु म सेवामा समर्पित हुन्छु । जति कमाउनु छ मलाई सुनाम कमाउनु मात्रै छ ।’
उनले थपे, ‘राज्य दोहन गरेर राज्यबाट मैले के पाउँछु भन्ने कुरा भन्दा पनि राज्यलाई समृद्ध बनाउने कुरामा मेरो योगदान के हुन सक्छ र त्यो संस्थाको उपयोगिता कसरी हुन्छ भन्ने कुरामा अलि बृहत भएर सोचौं ।’
पहिले स्वास्थ्य मन्त्री बनेका ढकाललाई हालै पर्यटन मन्त्रीको जिम्मा दिइएको छ । उनले पर्यटन मन्त्रालयको इतिहासलाई हेर्दा गर्व गर्ने ठाउँ रहेको तर त्यस भित्रका बदनामीहरुले राम्रो नगरेको पनि मन्त्री बताए ।
तारागाउँ समितिको पनि आफ्नै महत्व भए पनि त्यस भित्रको कथा बेग्लै भएको भन्दै उनले त्यसलाई सुधार गर्न आफूले अध्ययन थाल्ने बताए ।
मन्त्री ढकालले कर्मचारीलाई काम गर्न सहज वातावरण निर्माण गर्ने कुरामा आफूले सधैं ध्यान दिने पनि बताए ।
प्रतिक्रिया 4