Comments Add Comment

नेकपा विभाजनको असर : गाउँपालिका उपाध्यक्षले नदिएको राजीनामा स्वीकृत

१९ पुस, हेटौंडा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर स्थानीय सरकारमा समेत देखिएको छ ।

मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, पार्टीको दुई समूहमा लागेका छन् र, अध्यक्ष एकराज उप्रेतीले उपाध्यक्ष मनिला विष्टको राजीनामा स्वीकृत भएको जानकारी दिएका छन् ।

उपाध्यक्ष विष्टले राजीनामा दिएको दाबी गर्दै शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकले राजीनामा स्वीकृत गरेको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

तर, उपाध्यक्ष विष्टले भने आफूले राजीनामा नै नदिएको बताएकी छन् । अनलाइनखबरसँग विष्टले भनिन्, ‘मैले राजीनामा दिएकै छैन । राजीनामा दिएको भन्नु भ्रमपूर्ण छ, यसमा सत्यता छैन ।’

उप्रेती र बिष्ट दुवै पूर्वएमालेबाट निर्वाचित हुन् । उपाध्यक्ष विष्टले कर्मचारी हाबी भएको, सुशासन कायम हुन नसकेको भन्ने गुनासो गर्दै आएकी थिइन् । त्यसैबीच उपाध्यक्ष विष्टले मंसिर २९ मा राजीनामा दिएको चर्चा चल्यो ।

पुस १ मा बसेको गाउँ कार्यपालिकाको बैठकले पनि उपाध्यक्ष विष्टले राजीनामा दिएको भन्ने समाचारमा सत्यता नरहेको र भ्रमपूर्ण हल्लाप्रति ध्यानाकर्षण भएको निर्णय गरेको थियो । बैठकको निर्णयपछि पुस २ मा बक्तव्य जारी गरेरै उपाध्यक्ष विष्टको राजीनामाबारे भ्रममा नपर्न आग्रह गरिएको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले ५ गते संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा फुट्यो ।

अध्यक्ष उप्रेती ओली समूहमा लागे । उपाध्यक्ष विष्ट कुनैपनि भेलामा नगए पनि नेकपा प्रचण्ड–माधव समूहतिर खुल्ने अनुमान गरिएको छ ।

तर पुस १७ को बैठकमा अध्यक्ष उप्रेतीले उपाध्यक्ष विष्टको राजीनामा आएको जानकारी भन्दै स्वीकृत गरेको बताए ।

उपाध्यक्ष विष्ट भने दिँदै नदिएको राजीनामा स्वीकृत गरिएको भ्रम फैलाइएको भन्दै कार्यालय आउन छोडेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment