+
+

संयुक्त आयोगको बैठकमा सीमा विवादबारे छलफल नगर्ने भारतको संकेत

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १ गते २०:२०

१ माघ, काठमाडौं । भोलिदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा सम्बन्धी विषयमा छलफल नगर्ने संकेत भारतले गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली तीन दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली ओर्लेको केही घन्टामा भारतीय विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले सीमासम्बन्धी विषयमा छलफल नहुने संकेत गरेका हुन् ।

पत्रकार सम्मेलनमा उनलाई के बैठकमा सीमा विवादबारे कुराकानी हुन्छ ? भनी सोधिएको थियो ।  जवाफमा उनले भने, ‘सीमा विवादको बारेमा हाम्रो पोजिसन स्पष्ट छ । जेसीएम (संयुक्त आयोग) र बाउन्ड्री वार्ता दुई पृथक संयन्त्र हुन् ।’

भारतले कालापानी र सुस्ताको विषयमा वार्ता गर्नका लागि सन् २०१४ मा दुई देशका परराष्ट्र सचिव स्तरीय संयन्त्रको गठन भएको र त्यसैले छलफल गर्ने बताउँदै आएको छ । त्यसैले उसले अहिले परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने आयोगको बैठकमा यसलाई एजेण्डा बताउन नहुने बताउँदै आएको छ । तर नेपालले भने भारतले नेपाली भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि विवाद नयाँ चरणमा प्रवेश गरेको भन्दै राजनीतिक तहमा वार्ता गर्नुपर्ने बताउँदै आएको छ ।

भारतले नेपाली भूभाग समेटेर नक्सा जारी गरेको र नेपाली भूभागमा सडकसमेत बनाएपछि नेपालले पनि कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको थियो । संविधानमा रहेको निशान छापमा नयाँ नक्सा अंकित गर्न संसदबाट संविधान संशोधनसमेत गरिएको थियो । तर सीमा विवादबारे नेपाल र भारतबीच अहिलेसम्म औपचारिक छलफल भएको छैन ।

परराष्ट्रमन्त्री ज्ञवाली भारतमा जानु भन्दा अगाडि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने सीमासम्बन्धी विषयमा कुराकानी हुने उल्लेख थियो । केही दिन अगाडि दुई पक्षको बीचमा एजेण्डाको आदान प्रदान भइरहेको छ । सो क्रममा नेपालले सीमा विवादलाई आयोगको औपचारिक एजेण्डा बनाउन आग्रह गरिरहेको छ । तर बिहीबार साँझसम्म सो विषयमा सहमति हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?