Comments Add Comment

२२ दिनपछि ओली समूहमै फर्किइन् राज्यमन्त्री गजमेर

बायाँबाट क्रमश: प्रदेश १ कि सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकी ।

५ माघ, विराटनगर । प्रदेश १ कि सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पुस १२ गते पदबाट राजीनामा दिइन् ।

सोही दिन मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर पनि गरिन् । उनलाई नेकपा ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो । राजीनामा अघि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ओली समूहले बनाएको केन्द्रीय सदस्यमा नबस्ने बताइन् । तर राजीनामा दिएको २२ दिनपछि उनी पुनः ओली समूहमा फर्किएकी छन् ।

उनीसँगै ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली पनि ओली समूहमा फर्किएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाबाट मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् । सोमबार हस्ताक्षर फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयमा गराएका छन् ।

यसअघि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका उदयपुरकी सांसद कला घले र मोरङकी सांसद बसन्तीदेवी यादव ओली समूहमा लागेका थिए ।

मुख्यमन्त्री राई विरुद्ध ३७ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तीमध्ये पाँचजनाले फिर्ता लिएका छन् । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपाका ६७ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment