Comments Add Comment

प्रधानमन्त्रीज्यू, तपाईं कुन लोकमा हुनुहुन्छ ?

“हलो, पत्रकार ज्यू । यतै हुनुहुन्छ कि गई सक्नु भयो ?” एकजना मित्रले बिहानबिहानै फोन गरेर हाँस्दै यस्तो प्रश्न गरे । ‘यतै छु हजुर, कहाँ जानु र !’ मैले उहाँलाई सामान्य तरिकाले उत्तर दिएँ । उताबाट आवाज आयो ‘हहाहाहाहाहा…, कतै नर्कतिर हिँडिहाल्नुभयो कि भनेर के !’

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार आफ्नो गुट निकट प्रेस संगठनको भेलालाई सम्वोधन गर्ने क्रममा पत्रकारहरुलाई व्यङ्ग्य गर्दै प्रयोग गरेको “नर्क” शब्द टिपेर उनी बिहानै प्रस्तुत भएका हुन् । उनी मात्रै होइन, भेट हुँदा धेरै साथीहरुले जिस्काउँदै भन्छन् “तपाईं प्रधानमन्त्रीका विरुद्ध धेरै कुरा लेख्नुहुन्छ, पक्कै नर्क जानुहुन्छ अब ।”

प्रधानमन्त्री ओली कमरेडले प्रयोग गरेको नर्क शब्द गरुड पुराणमा छ । हिन्दु धर्मसँग सम्वन्धित १८ महत्वपूर्ण पुराणहरुमध्ये “गरुड पुराण” मा तीन लोकको वर्णन गरिएको पाइन्छ । उर्ध्वलोक अर्थात् स्वर्ग, मध्यलोक अर्थात् हाम्रो ब्रम्हाण्ड र अधोलोक अर्थात् पाताल वा हामी रहेको ब्रम्हाण्डभन्दा मुनि ।

गरुड पुराणलाई “बैष्णभ पुराण” पनि भन्ने गरिन्छ । मान्छे मरेपछि के हुन्छ भन्ने पंक्षीराज गरुणको जिज्ञासामा बिष्णुले गरेको बर्णन यस पुराणमा उल्लेख छ । पुराणको दोश्रो अध्यायमा नर्कको चर्चा छ, अर्थात् पाप गर्नेहरु नर्कमा जान्छन् । गरुड पुराण अनुसार धर्म, देउता र पितृको अपमान गर्नेहरु, पापीहरु, सधैं क्रोधित हुनेहरु, अर्कासँग झगडा गर्नेहरु, अरुलाई धोका दिनेहरु वा विश्वासघात गर्नेहरु, मदिरा सेवन गर्नेहरु, हत्या-शिकार गर्नेहरु, अर्काको स्वतन्त्रता हनन् गर्नेहरु, अर्काको सम्पत्ति कब्जा गर्नेहरु, मित्रसँग बिद्रोह गर्नेहरु, महिला र बालबालिकाहरुले जम्मा गरेको धन छिन्नेहरु, व्यभिचारीहरु, कमजोरलाई सताउनेहरु, मानवबेचबिखन गर्नेहरु, निर्दोष स्त्री त्याग गर्नेहरुको जुनी प्रेतको हुन्छ र उनीहरुलाई नारकीय कष्ट सहनुपर्छ र नर्कमा कसुर अनुसारको शारीरिक यातना दिइने चर्चा गरुड पुराणमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले आफ्नो भाषणमा गलत लेख्ने पत्रकारहरु नर्कमा जाने बताए । उनले भने, ‘महात्मा गान्धीका तीन बाँदर जस्तै छन् केही पत्रका-सञ्चारमाध्यमहरु, राम्रो कुरा देख्नु छ भने बरु आँखा छोप्छु, राम्रो कुरा सुन्नुपर्छ भने बरु कान थुन्छु, राम्रो कुरा बोल्न पर्छ भने बरु मुख थुन्छु । तर, सुन्छिनँ, हेर्दिनँ, बोल्दिनँ भन्ने केही छन् भने तिनले झुटो छाप्छन्, गलत छाप्छन्, जनतालाई दिग्भ्रमित पार्न । यो काम राष्ट्रको हितमा छँदैछैन…।’

ओली कमरेडले आफ्नो भाषणमा यसो भनिरहँदा केही उनको गुटमा आवद्ध सञ्चारकर्मी साथीहरु परररर ताली बजाउँदै थिए । आफ्नै बिरुद्धमा लक्षित शब्दहरुमा बजेको तालीले हौसिएका प्रधानमन्त्रीले फेरि थपे ‘त्यसपछि त्यो नर्कमा पर्छ, नर्कमा गइसकेपछि फर्किनै सक्दैन । जीउँदै नर्क जान्छ, के गर्ने अब त्यो लाई निकाल्नै सकिँदैन ।’

“जीउँदै” नर्क जाने र फर्काउनै नसकिने प्रधानमन्त्रीको भनाइले उहाँ स्वयं अहिले कुन लोकमा हुनुहुन्छ भन्ने प्रश्न मनमा आयो । यद्यपि ओलीको “पोलिटिकल स्कुलिङ्ग” ले न त धर्मग्रन्थलाई मान्यता दिन्छ, न स्वर्ग वा नर्कलाई मान्यता दिन्छ । न बिष्णु, यमराज वा अन्य कुनै अदृश्य शक्तिलाई नै मान्यता दिन्छ । देख्न सकिने, सुन्न सकिने, सुँघ्न सकिने, महसुस गर्न सकिने र स्वाद पत्ता लाउन सकिने बाहेक कुनै कुरा पनि अस्तित्वमा छैनन् भन्ने आइडोलोजीबाट निर्देशित र प्रशिक्षित ओलीले कम्तिमा नर्क छ भन्ने कुरा स्वीकार गरेका रहेछन् । तर, दुर्भाग्य, ओलीको “नर्क” पनि धर्मका व्यापारीहरुको भन्दा फरक भएन । आफूले नर्कको डर मान्नु नपर्ने, तर, उनले भनेका आधारमा अरुले नर्कको डर मानिदिनु पर्ने । आफूले जे गरे पनि नर्क जानु नपर्ने, तर अरुलाई नर्कको भय देखाउनुपर्ने ।

ओली गलत समाचार लेखे नर्क जानुपर्छ भन्छन् । पहिलो कुरा “गलत समाचार” को परिभाषा के हो ? ओली सरकारले गरेका गलत कुराको बिरोध गरेर लेखेको समाचार गलत हो वा उनलाई मन नपरेको समाचार गलत हो ? वा सत्य कुरा सञ्चारमाध्यममा आउनु गलत हो ?

ल उनले भने अनुसार झुटा समाचार लेख्नु गलत हो । हो गलतै हो । समाचार गलत हो भने, तथ्यहीन हो भने, भ्रामक हो भने कानूनी प्रक्रियामा गए हुँदैनथ्यो र ? किन “नर्क” को भय देखाउने ? आफैंले वनाएको कानूनप्रति बिश्वास नभएका प्रधानमन्त्रीलाई नर्कप्रति वा यमराजप्रति त्यत्ति विश्वास कसरी जागेछ ?

निर्वाचनका बेला पाँच वर्षसम्म सरकार चलाउँछु, राजनीतिक अस्थिरता अन्त्य गर्छु, सुशासन कायम गर्छु, वेरोजगारी अन्त्य गर्छु भनेर जनतालाई स्वर्णिम  सपना देखाउँदै भोट मागेका ओलीले देश र जनतामाथि विश्वासघात गरेको मान्ने कि नमान्ने ? अनि उनी मध्यलोकमै बसेर यो पाप काटिन्छ त ?

हस, ओलीको कामना अनुसार गतल समाचार लेखेकै कारण पत्रकार नर्कमै जाउन् । तर, गलत समाचार लेख्नेहरुमात्रै नर्क जानु पर्ने हो ? अरु गलत काम गरे नर्क जानु नपर्ने हो ? गरुड पुराण अनुसार अरुको हत्या गरे नर्क गइन्छ, सामान्तवाद सिध्याउने नाममा “झापा बिद्रोह” भयो, सामन्ती-शोषकका नाममा व्यक्तिहत्या भयो । त्यसको भार प्रधानमन्त्रीलाई पनि आउँछ कि ? तीन करोड नेपालीहरुको प्रतिनिधित्व गर्ने संघीय प्रतिनिधिसभाको गैरन्यायिक हत्या गर्ने व्यक्तिलाई हत्याको पाप लाग्छ कि लाग्दैन ? अनि आफू जिउँदै नर्क जानु पर्‍यो कि परेन ?

गरुड पुराणले विश्वासघात गरे पनि नर्क गइन्छ भन्छ । निर्वाचनका बेला दुई वर्षमा, तीन वर्षमा, पाँच वर्षमा १० वर्षमा, १५ वर्षमा यति काम गर्छु, जनतालाई धनी बनाउँछु, देशलाई समृद्ध बनाउँछु, पाँच वर्षसम्म सरकार चलाउँछु, राजनीतिक अस्थिरता अन्त्य गर्छु, सुशासन कायम गर्छु, वेरोजगारी अन्त्य गर्छु भनेर जनतालाई स्वर्णिम  सपना देखाउँदै भोट मागेका ओलीले देश र जनतामाथि विश्वासघात गरेको मान्ने कि नमान्ने ? अनि उनी मध्यलोकमै बसेर यो पाप काटिन्छ त ?

गरुड पुराणले भन्छ- महिला बालबालिकाहरुले थुपारेको धन लुट्ने नर्क जान्छ । गिट्टी कुटेर, ढुङ्गा बोकेर, मजदुरी गरेर, पसिना बगाएर आमा-दिदीहरुले राज्यको ढुकुटीमा थुपारेको धन लुट्ने भ्रष्टहरुलाई संरक्षण दिँदा तपाईं नर्क जानुभयो कि भएन ? तपाईंले नै भन्नु भएको होइन र भ्रष्टाचारीको अनुहार पनि हेर्दैन भनेर ? अनि खै त भ्रष्टाचारहरुको अनुहार नहेरेको ?

हत्या, बलात्कार, चोरी, मानवबेचबिखनका घटनाहरु बढ्दै गएका छन्, अपराधी पत्ता लाग्दैन, कारवाही हुँदैन । कानून कार्यान्वयन गराउने मुख्य जिम्मेवारी तपाईंको हो, यो जिम्मेवारी बहन नगरेका कारण तपाईंलाई पाप लाग्छ कि लाग्दैन ? अनि शान्ति सुरक्षा कायम हुन सकेन, सरकारले चुनावताका गरेका बाचा पुरा गर्न सकेन, सुशासन कायम गर्न सकेन, राजनीतिक अस्थिरता फेरी सुरु भयो भनेर लेख्न पनि नपाईने हो र कमरेड !

तपाईं यो देशको जिम्मेवार व्यक्ति हो, कार्यकारी हिसावले तपाईं देशको पहिलो व्यक्ति हो । सरकारका हरेक निकायले गरेको कामको जस वा अपजस तपाईंसँगै ठोक्किन्छ । त्यसकारण तपाईंको आलोचना हुन्छ । यहाँ केपी शर्मा ओलीको आलोचना गरेर कसैले समाचार लेख्दैनन्, त्यो लेख्न जरुरी पनि छैन । यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना हुन्छ । देशकै कार्यकारी प्रमुखको आलोचना हुन्छ, सरकारले, सरकारका कार्यकारी प्रमुखले, सरकारका अंगहरुले, सरकारका निकायहरुले गरेका गलत कामको वारेमा लेख्दा पत्रकारहरुलाई तपाईंले “नर्क” पठाउने तयारी गर्दै हुनुहुन्छ भने त्यो स्वीकार्य छ ।

ओली कमरेड, तपाई पहिले-पहिले त झुटो मात्रै बोल्दै हुनुहुन्थ्यो अब त किर्ते समेत पो गर्न थाल्नु भएछ । राजपत्र “तपाईंले प्रचण्ड र प्रचण्डले तपाईंलाई” लेखेको पत्र जस्तो होईन भन्ने तपाईंलाई राम्रोसंग ज्ञात छ, अनि त्यसैमा किर्ते ? अध्ययनका हिसावले तपाईं धर्मशास्त्रको ज्ञाता नै हुनुभएको छ । अब आफै निक्र्यौल गर्नु पर्‍यो कमरेड, यो किर्तेका लागि तपाईं अध्यलोक जानु भयो कि मध्यलोकमै हुनुहुन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment