
१३ माघ, काठमाडौं । ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदरको अनुमानसहित बजेट कार्यान्वयन भइरहेको चालु आर्थिक वर्षमा बहुपक्षीय दाता र सरकारको प्रक्षेपणबीच ठूलो अन्तर देखिएको छ । यस्तै अन्तरसहितको प्रक्षेपण संयुक्त राष्ट्रसंघले पनि गरेको छ ।
विश्वको आर्थिक अवस्थाबारे पछिल्लो रिर्पोट सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ऋणात्ममक हुने अनुमान गरेको हो । संयुक्त राष्ट्रसंघको प्रक्षेपण अनुसार सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर -०.१ प्रतिशतमा झर्नेछ । यसअघि विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा आव २०२०/२१ मा आर्थिक वृद्धिदर ०.६ प्रतिशत रहने अनुमान गरेको थियो । संयुक्त राष्ट्रसंघले एक कदम अगाडी बढ्दै यो वर्ष आर्थिक वृद्धिदर माइनसमा पुग्ने अनुमान गरेको हो ।
कोरोना भाइरसको महामारीका कारण थला परेको अर्थतन्त्र उठाउने प्रयास विश्वका सबैजसो मुलुकले गरिरहेका छन् । नेपालले आगामी आवमा भने ८ प्रतिशतको वृद्धिदर हासिल गर्न सक्ने अनुमान संयुक्त राष्ट्रसंघको छ ।
अघिल्लो आर्थिक वर्षमा ०.६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान सरकारकै एक अंग योजना आयोगले गरेको छ । संयुक्त राष्ट्रसंघले सो आवमा समेत वृद्धिदर माइनसमा पुग्ने उल्लेख गरेको छ । उक्त आवको आर्थिक वृद्धिदर माइनस शून्य दशमलव ५ प्रतिशत रहने प्रक्षेपण राष्ट्रसंघको रहेको छ ।
नेपाली अर्थतन्त्र दक्षिण एसियाकै कमजोर
संयुक्त राष्ट्रसंघका अनुसार यो वर्ष दक्षिण एसियामै सबैभन्दा कमजोर अवस्थामा पुग्नेछ । किनकी नेपालभन्दा माथि पाकिस्तान रहने र उसको आर्थिक वृद्धिदर ०.५ प्रतिशत रहने अनुमान संयुक्त राष्ट्रसंघको रहेको छ ।
सबैभन्दा राम्रो वृद्धिदर माल्दिभ्सले प्राप्त गर्नेछ । उक्त मुलुकको आर्थिक वृद्धिदर ९.९ प्रतिशत रहने अनुमान छ ।
भारतले यो वर्ष अर्थतन्त्रमा ठूलो छलाङ मार्नेछ । किनकी सन् २०२० मा भारत नेगेटिभ वृद्धिदरमा थियो । यो वर्ष भने भारतको वृद्धिदर ७ प्रतिशतको हुने छ ।
सन् २०२१ मा यस्तो रहने छ दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर
माल्दिभ्स : ९.९ प्रतिशत
भारत : ७ प्रतिशत
बंगलादेश : ५.१ प्रतिशत
अफगानिस्तान : ४.३ प्रतिशत
भुटान : ३.५ प्रतिशत
श्रीलंका : ३.१ प्रतिशत
पाकिस्तान : ०.५ प्रतिशत
नेपाल : -०.१ प्रतिशत
दक्षिण एसियाको कुल: ६.९ प्रतिशत
विकसित मुलुकमा के हुन्छ ?
संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार विकसित मुलुकमध्ये अमेरिका सन् २०२० मा नेगेटिभ वृद्धिदरमा थियो । सन् २०२१ मा भने अमेरिकाले ३.४ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने अनुमान छ ।
चीन सन् २०२० मा समेत सकारात्मक अवस्थामा थियो । सन् २०२१ मा उसको अर्थतन्त्रले छलाङ हान्नेछ । यस वर्ष वृद्धिदर ७.२ प्रतिशतमा रहने अनुमान राष्ट्रसंघको छ ।
दक्षिण कोरियाको वृद्धिदर २.५ प्रतिशतमा रहने छ । हङकङमा ४.२ प्रतिशतमा रहने प्रक्षेपण छ ।
प्रतिक्रिया 4