Comments Add Comment

बागमती प्रदेशका १३ वटै जिल्लामा कोरोना खोप अभियान सुरु

१४ माघ, हेटौंडा । बागमती प्रदेशका १३ वटै जिल्लामा एकैसाथ कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा भएको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै अभियान सुरुवात गरेका हुन् । बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्यमन्त्री पौडेलको उपस्थितिमा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रविण श्रेष्ठले पहिलो खोप लगाए ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले सरकारको अथक प्रयासपछि जनतालाई कोरोनाविरुद्धको लडाइँ जिताउन सुरु गरेको बताए ।

काम गरेन भन्ने आरोप खेपिरहेको सरकारले विश्वका अन्य धेरै मुलुकभन्दा पहिले नेपालमा भ्याक्सिन ल्याएर जनताको स्वास्थ्यमा चासो राखेको उनले बताए । उनले कोरोनाविरुद्धको अभियानमा क्रियाशिल सबैलाई धन्यवाद दिएका थिए ।

३ समूह बनाएर खोप

बागमती प्रदेशका १३ जिल्लाका लागि ३५ केन्द्रबाट कोरोना भाइरसविरुद्धको खोप लगाइने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईँले जानकारी दिए । खोप लगाउँदा खोप कार्ड दिने र ३ समूहमा विभाजन गरेर खोप दिने उनले जानकारी दिएका छन् ।

पहिलो समूहमा फोहोर संकलक र चालक, एम्बुलेन्स तथा शव बाहनका चालक र सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिएकाहरू, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइने छ । यस्तै दोस्रो समूहमा ४० वर्षभन्दा माथि रोग लागेको समूह र तेस्रो समूहमा जोखिममा रहेका १८ वर्षभन्दा माथिका युवालाई दिइने सेढाईंले बताए ।

खोपको लागि ३५ केन्द्र तय भए तापनि खोप लगाउनेहरुको संख्या र भौगोलिक आधारमा केन्द्र थपघट हुनसक्ने उनले बताएका छन् । आजबाट बामगती प्रदेशको चितवन, ललितपुरमा ३–३ वटा केन्द्रबाट खोप लगाइने छ । यस्तै, सिन्धुली, धादिङ, काभ्रे, नुवाकोट, रामेछाप, भक्तपुर, दोलखा जिल्लामा २–२ वटा केन्द्रबाट खोप लगाइनेछ । मकवानपुर र रसुवा जिल्लामा एक–एक वटा केन्द्रबाट कोभिडविरुद्धको खोप लगाइने निर्देशक सेढाईंले जानकारी दिए ।

उनले खोपको असर देखापरेमा तुरुन्त चिकित्सकको टोली उपलब्ध हुने स्थानमा मात्र खोप केन्द्र स्थापना गरिएको जानकारी दिए । खोपको लागि प्रत्यक्ष र भर्चुअल माध्यमबाट स्वास्थ्यकर्मीहरुलाई तालिम दिइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा ५७ जनाको अवस्था गम्भिर

बागमती प्रदेशमा बुधबारसम्म कोरोनाको कारण ४४ जना आईसियुमा, १३ जना भेन्टिलेटरमा र ५७ जना गम्भिर अवस्थाका विरामी छन् । यस्तै अहिले बागमती प्रदेशमा २ हजार ३ सय १९ जना कोरोना संक्रमितहरु उपचाररत छन् । अहिलेसम्म बागमती प्रदेशमा ९८ प्रतिशत संक्रमितहरुको सफल उपचार भइसकेको छ ।

बागमती प्रदेशमा हालसम्म ९ सय ८६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । मंगलबार मात्रै दुई जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment