Comments Add Comment

बाइडन–पुटिन फोनवार्ता, न्युक्लियर सम्झौता अघि बढाउने सहमति

१४ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेका छन् । मंगलबार रुसले दिएको जानकारीअनुसार उक्त वार्तामा उनीहरुको बीचमा न्युक्लियर हतियार नियन्त्रण सन्धी ‘न्यु स्टार्ट’ लम्ब्याउने सहमति भएको थियो । यो सन्धि आगामी फेब्रुअरीमा सकिँदै थियो । यो सन्धिले अमेरिका र रुसले प्रयोग गर्न पाउने न्युक्लियर हतियारको संख्या तोकेको छ ।

रुसले बाइडनसँगको वार्ता कोशेढुङ्गा भएको बताएको छ । गत साता बाइडनले पदभार ग्रहण गरेपछि पुटिनसँग उनले पहिलोपटक वार्ता गरेका हुन् । यसअघि डोनाल्ड ट्रम्पको प्रशासन यो सन्धि लम्ब्याउन तयार भएको थिएन । अमेरिकाले यो सन्धि अघि लम्ब्याउन केही शर्तहरु थप गर्ने प्रस्ताव गरेको थियो । तर, यसमा रुसले असहमति जनाएको थियो ।

रुसले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले अबको केही दिनमा नै यो सन्धि लम्ब्याउनका लागि आवश्यक प्रक्रिया सुरु गर्ने बताएको छ । बाइडनसँगको वार्तापछि पुटिनले यो सन्धि लम्ब्याउने विधेयक संसद्मा पेस गरेका थिए । अमेरिकामा भने यो सन्धि लम्ब्याउन संसद्को अनुमति आवश्यक पर्दैन । रुसका सांसद्हरुले बुधबारसम्म यो विधेयक पारित हुने विश्वास व्यक्त गरेका छन् ।

विश्वमा न्युक्लियर हतियारको प्रयोग नियन्त्रणको लागि सन् २०१० मा अमेरिका र रुसबीच ‘न्यु स्टार्ट’ सन्धिमा हस्ताक्षर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment