Comments Add Comment

साइकलमा लमजुङ छिचोल्दा (फोटो फिचर)

१७ माघ, काठमाडौं । साइकलका पाइडल घुमाउँदै यसपालि लमजुङको सेरोफेरो छिचोलियो । मेरो ध्येय, पहाडी गोरेटोहरुमा साइक्लिङको आनन्द बटुल्नु मात्र थिएन । लमजुङले आफ्नो गर्भमा लुकाएका ती क्षेत्रहरुको खोजी गर्नु थियो, जो पर्यटकीय आकर्षण बन्न सक्छ । यस हिसाबले लमजुङको यात्रा अर्थपूर्ण रह्यो ।

सुन्दर हिमाल र डाँडाकाँडा हेर्दै ऐतिहासिक बिरासत बोकेको लमजुङको पुरानोकोट पुगियो । कुनैबखत यो चौबिसे राज्यमध्येको एउटा राज्य थियो ।

इतिहासमा उल्लेख भएअनुसार कालु शाह लमजुङका राजा थिए । कास्कीबाट राजा कुलमण्डनका माइला छोरा कालुलाई ल्याएर तुर्लुङकोटका राजा बनाइएको थियो । पछि तुर्लुङकोटबाट दरबार पुरानोकोट सारियो । अहिले पनि दरबारको भग्नावशेष भेटिन्छ, पुरानोकोटमा ।

कालुको हत्यापछि उनकै कान्छा भाइ यशोब्रम्हालाई कास्कीबाट ल्याएर रानोकोट गद्दीमा बसाइयो । उनले गाउँशहर र बेंसीशहरमा दरबार बनाए ।
पुरानोकोट गढी तल पुरानोकोट गाउँ छ । यस भेगमा २०६८ सालदेखि होमस्टे पनि सञ्चालमा ल्याएको रहेछ ।

लमजुङ सुन्दर बजारबाट बसमा साढे १ घण्टामा गढी पुगिन्छ, जहाँ जलदेवी मन्दिर, राजारानीको दरबारका भग्नावशेष र सेना परेड खेल्ने मैदान छ । गढी क्षेत्र र गाउँको छेउबाट छर्लङ्ग हिमालहरु देख्न सकिन्छ । माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ पिक २९, गंगापूर्ण, मनास्लुदेखि बुद्धसम्म डेढ दर्जनभन्दा बढि हिमचुलीहरू देखिन्छ ।

लमजुङमा त्यस्ता मोहक गन्तव्यहरु छन्, जसले आगन्तुकलाई पर्खिरहेका भान हुन्छ । अर्थात पर्यटकिय संभावना बोकेका आकर्षक थलो प्रशस्त छन् यहाँ । स्थानियवासीको सौहार्द्ध व्यवहारले पनि आगन्तुकको मन गदगद बनाउँछ । यद्यपि त्यस क्षेत्रमा अपेक्षाकृत पर्यटकिय पूर्वाधार निर्माण र प्रचार प्रसार हुन सकेको छैन ।

पर्यटकीय महत्वका स्थानहरुको उचित संभार र संरक्षण भएको छैन । पुरानोकोट गढीमा राजरानीको दरबार पनि छ ।तर, दरबारलाई झार जंगलले घेरेको थियो । सरसफाई गरिएको थिएन । स्थानीय सरकारले त्यहाँका ऐतिहासिक सम्पदालाई संरक्षण, संवर्द्धन गरेको अवस्थामा सुनमा सुगन्ध हुन्थ्यो ।

दुई महिनाको अवधीमा लमजुङ दरबार, राजा रानीको दरबार, दुरा डाँडा, तुमलुङ गढी, हलो क्रान्ति, घले गाउँ लगायतको फन्को लगाइयो । खासगरी लमजुङ दरबारदेखि घलेगाँउ साइकल यात्रा निकै रमाइलो रह्यो । यसको दुरी २९ किलोमिटर रहेछ । यो क्षेत्र साइक्लिङका लागि निकै राम्रो लाग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment