News Summary
Generated by OK AI. Editorially reviewed.- लमजुङको मध्यनेपाल नगरपालिका-१० हाँडीखोला बर्धानमा बडादशैँको फूलपातीदेखि पूर्णिमासम्म २४ पिर्के र ८ पिर्के काठको पिङ हालिएको छ।
- लेखकले बर्धान गाउँका युवाले मौलिक सीप र सामूहिक श्रमबाट २४ पिर्के पिङ बनाउन सफल भएको बताए।
- लेखले काठे पिङ लोपोन्मुख बन्दै गएको र संरक्षणका लागि स्थानीय तहले कार्यक्रम र बजेट छुट्याउनुपर्ने उल्लेख गरेको छ।
पिङ नेपाली चलनचल्तीमा रहेको एउटा मौलिक संस्कृतिका साथै एक किसिमको मनोरञ्जनको साधनसमेत हो। काठबाट निर्मित पिर्के पिङ नेपालका विभिन्न स्थानमा विशेषगरी दशैँ–तिहारमा हाल्ने गरिन्छ। वर्ष दिनको दशैँमा एकपटक धर्ती छाड्नुपर्छ भन्ने आजसम्म पनि विद्यमान रहेको परम्परागत सामाजिक–सांस्कृतिक मान्यता र जनविश्वासका कारण पनि दशैँ–तिहारमा पिङ हाल्ने र खेल्ने गरिन्छ। त्यसैका लागि भए पनि गाउँघरतिर काठका पिर्के पिङलगायतका पिङहरू बनाउने चलन चलेको हुनसक्छ।
काठबाट बनाइने यस्ता पिर्के पिङलाई ठाउँअनुसार फरक–फरक नामले पुकार्ने गरेको सुनिन्छ। यस्ता पिङलाई ठाउँविशेषअनुसार चौराली/चौडाली पिङ, चङ्ग्रेली पिङ, चर्खे/चर्के पिङ, रङ्गटे पिङ, रोहोटे/रोटे पिङ, गट्टे पिङ, पिर्के पिङ, काठे पिङ आदि भनेर चिनिने गरेको सुनिन्छ।
त्यसैगरी, यसमा जडान गरिएका पिर्का वा बस्ने ठाउँको सङ्ख्याका आधारमा ४ पिर्के, ६ पिर्के, ८ पिर्के, १२ पिर्के, १६ पिर्के, २४ पिर्के, २८ पिर्के आदि पिङका नामले समेत पुकारिने गरेको पाइन्छ। यस्तो पिङको बनोट र संरचना रोचक तथा जटिल हुने गर्दछ। यस्ता पिङ प्राय: वर्गाकार हुन्छन्, जसमा अत्यन्तै मौलिक सीप र कला जडित हुने गर्दछ। यस्ता पिङ निर्माण गर्नुलाई मौलिक शब्दमा ‘पिङ हाल्ने’ भनिन्छ।
यस्ता पिङ हाल्न त्यति सहज छैन। यसका लागि बलिया, लामा र सिधा ठूलाठूला दरो काठको जरुरत पर्दछ। एक त प्राकृतिक रूपमै त्यस्ता खालका सग्ला काठ पाउनै मुस्किल हुन्छ भने प्रचलित विद्यमान वनसम्बन्धी कडा कानुनी व्यवस्थाका कारण त्यसरी जङ्गलबाट आवश्यक रूप, आकार र जातको रूख रोजेर आवश्यकतानुसार काठ काट्न पाइने चलनको अन्त्य भइसकेकाले पनि होला यस्ता पिङ हाल्ने चलन कम हुँदै गएको छ।
यसका साथै यस्ता पिङ हाल्न एकैपटक धेरै व्यक्तिहरूको बल आवश्यक हुने गर्दछ। दशैँ बिदा सुरु हुनेबित्तिकै गाउँमा यस्ता पिङ हाल्नका लागि निकै उत्साह हुने गर्थ्यो तर आजकल पछिल्लो पुस्ताको बेवास्ता र बढ्दो युवा पलायनका कारण यस्ता काठका पिङहरू करिब–करिब लोपोन्मुख अवस्थामा पुगेका छन् भन्दा अत्युक्ति नहोला।
पछिल्लो समयका युवा तथा बालबालिकाहरूमा मोबाइल फोन, टेलिभिजनलगायतका डिजिटल प्लेटफर्मको सहज पहुँच र भर्चुअल मनोरञ्जनका विभिन्न साधनहरूको उपलब्धताले यस्ता पिङप्रतिको चासो कम बनाएको हुनुपर्छ। आधुनिकताको विस्तारसँगै अचेल नेपालका धेरै सहरमा विद्युत्बाट चल्ने आधुनिक पिङ, फलामका ठूला पिङहरू देखिन थालेका छन्, तर हाम्रा मौलिक काठे पिङहरूको इतिहास, स्थापित मूल्य–मान्यता, यसको मौलिक कला तथा सीप र रैयाने इन्जिनियरिङ (इन्डिजिनस इन्जिनियरिङ) एवं यसमा जोडिएको सामाजिक–सांस्कृतिक मिठास र मिलापले छुट्टै महत्त्व बोकेको हुन्छ।
यसपालिको बडादशैँको अवसरमा यो पङ्क्तिकारलाई सपरिवारका साथै दाजुभाइको परिवारसहित लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. १०, हाँडीखोला बर्धानमा रहेको २४ पिर्के पिङ खेल्ने, खेलाउने र अवलोकन गर्ने अवसर मिल्यो।

पङ्क्तिकार यस्तो प्रकृतिको पिङ निर्माण प्रक्रिया जरैदेखि बुझ्दछ, त्यसको अनुभव पनि छ। तर, पङ्क्तिकारले २४ वटा पिर्का भएको काठे पिङचाहिँ पहिलोपटक देख्यो अनि खेल्यो र खेलायो पनि ! लोप हुनै लागेको दशैँ–तिहारको मौलिक संस्कृति र परम्पराको एउटा गजबको नमुना २४ पिर्के काठे पिङ बनाउन साधारण सीप र मेहनतले सम्भव हुँदैन।
पङ्क्तिकारका बाल्यकालका हरेक दशैँहरू पनि काठे पिङकै वरिपरि बिते। गाउँमा ४ पिर्के काठको पिङ हाल्न दाजु, साथीभाइ जुट्दाको त्यो माहोल, पिङका साजबाज जुटाउँदाको सहकार्य र पिङ हालिसकेपछि पालैपालो खेल्ने–खेलाउने आनन्दले नै बाल्यकाल समृद्ध बनेको थियो।
साधारणतया यस्ता पिङ कसरी बन्छन् भन्नेबारे केही चर्चा गरौँ। आधा–आधा हाँगा खुलेर चोका परेको बलियो, सिधा, सग्लो र अग्लो रूखबाट यस्तो पिङको खाँबो (खम्बा) बनाउनुपर्छ। गाउँनजिकैको वनमा यस्ता रूख भेटाउनै मुस्किल पर्छ। त्यो पनि एउटा भएर भएन, दुई वटा खाँबो चाहिन्छ, जसले पिङको पूरा भार थाम्छ। यो पिङको सक्कल मेरुदण्ड हो अथवा खुट्टा नै खाँबाहरू हुन्।
उक्त दुई खाँबोको वारपार गर्ने गरी सिङ्गो पिङलाई धान्ने एउटा मादल हुन्छ, त्यसको लागि पनि उपयुक्त रूख भेट्न उस्तै मुस्किल पर्छ। मादललाई कतैकतै ‘धुरी’ भनेको पनि सुनिन्छ। त्यही खाँबोको वारपार हुने गरी राखिएको मादललाई आधार बनाएर बन्ने उक्त पिङमा २४ जना एकैपटक बसेर खेल्न मिल्ने गरी २४ वटा पिर्का अडिएका हुन्छन्। मादल पिङको केन्द्रमा रहेर मुख्य घुम्ने भाग हो, जसले पूरै पिङको सन्तुलन र घुमाइलाई नियन्त्रण गर्दछ।
उक्त पिङमा चार वटा ठूली बाहाँहरू हुन्छन्, हरेक ठूली बाहाँको बीच भागमा प्वाल पारेर उक्त प्वालभित्र मादल छिराइन्छ। बाहाँ घुमाउँदा मादलसहित सिङ्गो पिङ घुम्ने हो, जुन खाँबोमा अडिएको हुन्छ। ठूली बाहाँसँगै माहिली बाहाँ, साहिँली बाहाँ, कान्छी बाहाँ र पखेटाहरू एकापसमा अडिएका र ठेडी ठोकी एकअर्कामा कसिएका हुन्छन्। बाहाँ पिङलाई फैलाउने र संरचनात्मक बल प्रदान गर्न जोड्ने जोडी पाटाहरू हुन्, जसले पिङको आकार र घेरा निर्धारण गर्न मुख्य भूमिका खेल्दछन्।
२४ पिर्के पिङ बनाउन ती बाहाँमा छिनोले ५ ठाउँमा प्वाल पारेर पाँचै प्वालबाट डाँडी छिराउनुपर्छ। उक्त डाँडीहरूमा एक–एक जोडी हुर्रा झुन्ड्याएर हुर्रामा पिर्का अड्याउने हो। पिर्का अड्याउन पिर्काको पिँधमा ठेडी राखिएको हुन्छ। ठेडीहरू पिङ खेल्ने मान्छे बस्ने पिर्का र त्यसलाई सुरक्षित रूपमा अड्याउने साना–साना काठका सिधा लौरीहरू हुन्। यी सबै काठका टुक्राहरूलाई एउटा निश्चित नाप र सन्तुलनमा नजोडिएसम्म पिङ सुरक्षित रूपमा घुम्नै सक्दैन।
बाल्यकालदेखि नै यी काठका अङ्गहरूसँग सामीप्य रहेकाले र यसको बनावटको चासो भएकाले आज पनि काठे पिङ देख्दा पङ्क्तिकारको उत्सुकता र पुराना सम्झनाहरू एकाएक ताजा भएर आउँछन्। आजकल सहरमा आयोजना हुने मेला–महोत्सव आदिमा ठूलाठूला क्रेनका सहायताले एकैछिनमा ठड्याइने फलाम, टिन आदि धातुबाट बनाइने वा विद्युत्बाट चल्ने कुनै सहज पिङ होइन यो। माथि उल्लेख गरिएको व्यहोरा यो पङ्क्तिकारले आफ्नो गाउँ–समाजमा देखे, भोगेको सिकाइ र अनुभवका आधारमा उल्लेख गरिएको हो, यो ठाउँअनुसार फरक हुनसक्छ।
यस्ता पिङहरू लोपोन्मुख अवस्थामा त छन् नै, यदि गाउँघरमा कहीँकतै भेटिहालियो भने पनि साधारणतया ४ वा ८ पिर्के पिङहरू बढी देखिन्छन्। तर, २४ पिर्के पिङ बनाउनु भनेको कुनै साधारण विषय होइन। यसको लागि अत्यन्तै लामा, मजबुत र सन्तुलित खाँबो, मादल र बाहाँहरूका साथै व्यापक जनसहभागिता, श्रम तथा मौलिक कला र सीपको आवश्यकता पर्छ। त्यसैले यो बनाउन त्यति सहज छैन, सानो प्रयासमा यो पिङ बन्दैन।
पोखरादेखि बेगनासताल, माझीकुना, रूपा तालको शिर–तालबेसी, सग्रबास, करापुटार, भोर्लेटार हुँदै बाङ्ग्रेबेसी, हाँडीखोला, बर्धान गाउँ पुगिन्छ, जहाँ बडादशैँको फूलपातीदेखि पूर्णिमासम्मका लागि एउटै चौरमा २४ पिर्के र ८ पिर्के काठको पिङ हालिएको छ। थोरैबाहेक अधिकांश सबै बाटो कालोपत्रे छ, सहज यात्रामा उक्त गाउँ पुग्न सकिन्छ।
बाङ्ग्रेबेसीदेखि बर्धान गाउँसम्म पुग्न उकालो बाटो लाग्नुपर्छ, जहाँ करिब ४–५ किलोमिटर जति कच्ची र अलि अप्ठ्यारो बाटो पार गर्नुपर्छ। सानो र शान्त बर्धान गाउँमा पुग्दा, त्यहाँका मेहनती बुवाआमा–दाजुभाइहरूले बनाएको २४ पिर्के पिङ देख्दा पङ्क्तिकारको मनै अचम्मित र रोमाञ्चित भयो।
यो सिभिल इन्जिनियरिङ वा आर्किटेक्चरको कुनै प्रोजेक्ट होइन। न त यसको कुनै विश्वविद्यालयमा औपचारिक अध्ययन–अध्यापन नै हुन्छ। यो त इतिहासमा पुराना पुस्ताबाट जिजुहजुरबुबा, हजुरबुबा, बुबाबाट छोरा–नाति–पनातिमा सर्दै आएको मौलिक कला र सीप पुस्तान्तरण हुँदै आएको रैथाने इन्जिनियरिङ र सामूहिक भावनाको एउटा उत्कृष्ट उदाहरण हो। हाँडीखोला, बर्धान गाउँका आजका युवा पुस्ताले यो सीपलाई निरन्तरता दिए र त यो आज सम्भव भयो।
हाँडीखोला, बर्धान गाउँका मानिसहरूले यत्तिकै सहजै २४ पिर्के पिङ बनाउन सकेका पक्कै होइनन् ! यो एकै दिनमा सम्भव भएको पक्कै होइन। यो कतै लेखिएको ठाउँबाट बुझ्ने, पढेर जान्न पाइने विषय होइन। यो त गर्दै, हेर्दै, सिक्दै र भेटिएका कमजोरीलाई सुधार्दै जाने प्रक्रियाबाट वर्षौं बित्दै आज यहाँसम्म आइपुगेको अवस्था हो।

सुरुमा ४ पिर्के हालियो होला, त्यसपछि ८ पिर्के, १२ पिर्के, १६ पिर्के हुँदै अनुभव, ज्ञान र सीपको विकाससँगै आज २४ पिर्केसम्म पुग्न सफल भएको हुनुपर्छ। यो यात्रापछाडि कति धेरै साधना, सहकार्य र अनुशासन होला, सायद हामी सहजै अनुमान लगाउनसमेत सक्दैनौँ। यो केवल एउटा पिङको निर्माण मात्र होइन, हाम्रो परम्परा, सभ्यता र पुस्तान्तरणको एक जीवन्त र भव्य उदाहरणसमेत हो।
हाँडीखोला, बर्धान गाउँ कम बस्ती भएको ठाउँ भए पनि आफ्नो मौलिक संस्कृति जोगाउन त्यहाँका दाजुभाइ तथा सम्पूर्ण गाउँलेले देखाएको यो एकता र जाँगर साँच्चै प्रशंसनीय छ। पङ्क्तिकारको परिवारका सबैजना मिलेर त्यो २४ पिर्के पिङ खेल्दाको आनन्द र अनुभूति शब्दमा बयान गर्न सकिन्न।
मौलिक, दुर्लभ संस्कृति र परम्परालाई संरक्षणसहित यो दुर्लभ पहिचान बोकेको २४ पिर्के पिङ हाल्न प्रोत्साहन गर्ने स्थानीय मध्यनेपाल नगरपालिका र विशेषगरी हाँडीखोला, बर्धानका सिपालु मौलिक स्रष्टाहरूप्रति हार्दिक धन्यवाद तथा आभार एवं उच्च सम्मान प्रकट छ।
आजको आधुनिक युगमा हाम्रा रैथाने सीप, कला र संस्कृतिहरू हराउँदै गएका छन्। यस्तो अवस्थामा गाउँका युवाहरूले पुरानो पुस्ताको सीपलाई पछ्याउँदै २४ पिर्के जस्तो जटिल काठे पिङ बनाउनुले हाम्रा मौलिक परम्पराहरू अझै मरेका छैनन् भन्ने आशा जगाएको छ। यस्ता प्रयासहरूलाई प्रोत्साहन गर्नु र जोगाउनु स्थानीय सरकार तथा सम्पूर्ण समाजको दायित्व हो।
संस्कृति संरक्षणका लागि पुराना पुस्ताले आवश्यक ज्ञान, सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्न र नयाँ पुस्ताले पनि यसप्रति उत्तिकै चासो दिनुपर्ने आवश्यकता देखिन्छ। यस्ता पिङ संरक्षणका लागि स्थानीय तहहरूले निश्चित कार्यक्रम बनाएर सालबसाली बजेट नै छुट्याउन आवश्यक छ, त्यसो नगरे भविष्यमा यस्ता पिङ देख्नै नपाइने अवस्था आउन सक्छ। वनसम्बन्धी विद्यमान कानुनमा आवश्यक संशोधन गरेर यस्ता पिङ हाल्नका लागि काठ काट्न पाइने व्यवस्था गर्नुपर्ने देखिन्छ।
त्यसो त यस्तै पिङ खेल्ने, खेलाउने निहुँमा युवाहरूको अनावश्यक जमघट हुने, मादक पदार्थ सेवन गर्ने, विभिन्न विषयमा झैझगडा–भिडन्त, लडाइँ हुने, हत्या–हिंसासमेत हुने गरेको पुरानो इतिहास जीवितै रहेकोले त्यसलाई कडाइका साथ नियमन गरी रोक्नुपर्ने आवश्यकता पनि देखिन्छ। हाँडीखोला, बर्धानमा उक्त पिङनजिकै खानेपानीको सहज पहुँच, शौचालयको स्तरोन्नति, रैथाने खाजा–खानाको व्यवस्था गर्नुका साथै कालोपत्रे हुन बाँकी बाटोको स्तरोन्नति गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ।
पङ्क्तिकारको बाल्यकालको त्यो ४ पिर्के पिङको सम्झनादेखि हाँडीखोला, बर्धानको २४ पिर्के पिङसम्मको यात्रासम्म आइपुग्दा एउटा कुरा प्रस्ट हुन्छ— हाम्रो नेपाली सभ्यता र दशैँको वास्तविक मिठास यस्तै मौलिकता, सहकार्य र पुस्तान्तरणमै निहित छ। यस्ता मौलिक कर्महरू पर्यापर्यटन र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने आधार बन्नसमेत सक्छन्। दशैँ–तिहारको हाम्रो मौलिक, सामाजिक–सांस्कृतिक पहिचान, परम्परा र इतिहास यसरी नै पुस्तौँपुस्तासम्म बाँचिरहून् !
तस्वीरहरु : सुरज गुरुङ/लमजुङ
प्रतिक्रिया 4