Comments Add Comment
सेयर शिक्षा ३ :

आईपीओ कसरी भर्ने ? जान्नुहोस् सरल तरिका

आईपीओ भर्न के-के चाहिन्छ ?

पल्लिो समय विभिन्न नयाँ नयाँ कम्पनीहरुले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरिरहेका छन् । चन्द्रागिरी हिल्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ निष्काशन पछि सेयर बजारमा एककिसिमको उत्साह आएको छ ।

नेपाल मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष मेखबहादुर थापा पछिल्लो समय सर्वसाधारणमा सेयर सम्बन्धी चासो निकै बढेको बताउछन् । तर अझै पर्याप्त चेतना भने नभएको उनको बुझाइ छ । धेरैले जानेर आईपीओ आवेदन दिन्छन् भने कतिपयले आफन्त वा साथीभाईहरुको सल्लाहसुझावका आधारमा पनि आईपीओ भर्ने गरेका छन् ।

यो पनि पढ्नुहोस सेयर बजारमा प्रवेश चाहनेलाई टिप्स : के हो आईपीओ ?

सेयर बजारमा दुई किसिमको बजार हुन्छन् । पहिलो-प्राथमिक बजार, जहाँ हामीले आईपीओमा आवेदन दिएर गोलाप्रथाबाट सेयर हात पार्नु पर्ने अवस्था छ । दोस्रो बजारमा भने सिधै प्रवेश गरेर बजार मूल्यअनुसार आफूले चाहेको सेयर खरिद गर्न सकिन्छ । आईपीओमा जोखिम कम हुने र फाइदा हुँदा निकै धेरै नै फाइदा हुने भएका कारण पनि सर्वसाधारणहरुको यसतर्फ निकै आकर्षण छ ।

अहिले पनि ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ खुलिरहेको छ । आगामी ३० माघ देखि महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ खुल्दैछ । अब कसरी आईपीओ भर्ने भन्ने विषयमा जानकारी छैन भने तलको सरल तरिका हेर्नुस्

१. बैंक खाता

आईपीओ भर्नका लागि सबै भन्दा पहिला तपाईंलाई आवश्यक पर्ने भनेको बैंक खाता हो । बैंक खाता नभई तपाईंले यसपछिका प्रक्रियाहरु अघि बढाउन सक्नु हुन्न । बैंक खाता जुनसुकै बैंकको भए पनि हुनेछ । तपाईंसँग बैंक खाता छैन भने बैंक खाता खोल्ने र छ भने तपाईले यसपछिको प्रक्रियाहरु हेर्नुस् ।

२. डिम्याट खाता खोल्ने

बैंक खाता भए पछि तपाईंले डिम्याट खाता खोल्नु पर्ने हुन्छ । डिम्याट खाता भनेको सेयर राख्ने खाता हो । बैंकमा पैसा राख्नका लागि बैंक खाता खोलेजस्तै सेयर राख्नका लागि डिम्याट खाताको आवश्यकता पर्छ । डिम्याट खाता खोल्नका लागि मर्चेन्ट बैंक (क्यापिटल)मा सम्पर्क गर्नुपर्ने हुन्छ । सबै मर्चेन्ट बैंकहरु बैंकहरुकै सहायक कम्पनी भएका कारण तपाईंले खाता भएकै बैंक वा अन्य जुनसुकै बैंकमा गएर पनि डिम्याट खाता खोल्न सक्नुहुनेछ ।

३. मेरो सेयर

डिम्याट खाता खोलिसकेपछिको प्रक्रिया भनेको मेरो सेयर सुविधा लिने हो । मेरो सेयर सुविधामार्फत तपाईंले घरमै बसेर आईपीओ भर्न सक्नुहुनेछ । डिम्याट जहाँ खोल्नु भयो त्यहिँ तपाईंले मेरो सेयरको एउटा फारम भर्नुभयो भने तपाईको इमेलमा युजर आईडी र पासवर्ड प्राप्त हुन्छ । मेरो सेयर सुविधा नलिने हो भने तपाईले बैंकमा गएर पनि आईपीओ भर्न सक्नुहुनेछ ।

मेरो सेयर सुविधा लिएमा भने तपाईंले आईपीओ भर्नका लागि बैंकसम्म पुग्नु पर्दैन । यसका लागि तपाईंले सीआस्वा -सीआरएन) दर्ता भने गर्नु पर्ने हुन्छ । बैंकमा गएर सीआरएनको एउटा फारम भरेर बुझाए तपाईलाई बैंकले सीआरएन नम्बर दिनेछ । त्यो नम्बर तपाईंले सुरक्षित राख्नुपर्छ ।

यसपछिको प्रक्रिया

मेरोसेयरडटसीडीएससीडटकमडटएनपी‘ खोलेर वा मोवाइलमा मेरो सेयर एप डाउनलोड गरेर युजर आईडी राख्र्नुपर्छ । तपाईंलाई इमेलमा उपलब्ध भएको पासवर्ड अब परिवर्तन गर्नु पर्नेहुन्छ । आफूले चाहेको पासवर्ड राख्नुपर्छ ।

तपाईंलाई पुनः ४ अंकको पिन कोड बनाउनु पर्नेछ । आफ्नो इच्छा अनुसार चार अंकको पिन कोड राख्ने ।

यति भएपछि तपाईंको ‘मेरो सेयर’ खुल्नेछ । त्यसपछि ‘माई आस्वा’ ब्लकमा क्लिक गरिसकेपछि करेन्ट इस्यु, अप्लाई फर इस्यु, एप्लिकेसन रिपोर्ट र ओल्ड एप्लिकेशन रिपोर्ट लेखिएको देख्नुहुनेछ ।

‘अप्लाइ फर इस्यु’मा क्लिक गरेपछि कुन कम्पनीको आईपीओ खुलेको छ, त्यहाँ देखिनेछ । जस्तो अहिले ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ खुलेको छ । ग्रीनलाईफ लेखेको छेउमा अप्लाई भन्ने अप्सन छ, त्यहाँ क्लिक गर्नुस् ।

अब तपाईंले बैंक छान्नुहोस् । बैंक छानेपछि बैंक शाखा र खाता नम्बर आफै आउँछ । अब तपाईंको इच्छा अनुसार ‘अप्लाई कित्ता’ गएर कति कित्ता भर्ने हो लेख्नुस् । भर्न चाहेको कित्ता राखेपछि आफैं रकम देखाउछ । रकम भन्दा तल बैंकबाट लिएको सीआरएन नम्बर राख्नुहोस् ।

त्यहाँ शर्त राखिएको हुन्छ । टिक लगाएर प्रोसेस्ड गरेपछि चार अंकको पिन नम्बर माग्छ । त्यो पिन नम्बर हालेर ‘ओके’ गरेपछि तपाईंको आईपीओ स्वीकृत भएको संकेत त्यहिँ आउनेछ । तपाईंले आवेदन दिएको बारे ‘एप्लिकेसन रिपोर्ट’ भन्ने अप्सनमा गएर हेर्न सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस के तपाईं सेयर किन्न चाहनुहुन्छ ? यस्तो छ दोस्रो बजारमा प्रवेशको प्रक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment