Comments Add Comment

बर्षौंपछि यसकारण घट्यो फेवातालको पानी

२५ माघ, पोखरा । पोखरा–६ खहरे फेवा किनारमै जन्मिएकी मंगली जलारी ९३ वर्षकी भइन् । मंगलीको परिवारको जीवन फेवासँगै गाँसिएको छ । फेवाको पानी पिएरै हुर्किएकी मंगलीको परिवारको बाँच्ने आधार पनि फेवाताल नै हो ।

बाँध बाँध्नुअगाडि र पछाडिको फेवाताल र अहिलेसम्म यसले कति रुप बदल्यो उनकै आँखाले देखेका छन् । ‘मैले जान्दा फेवाताल अहिले जस्तो थिएन, हामी डुंगा चढेर माछा मार्ने, घाँसदाउरा र मेलापातसमेत गर्थ्यौं,’ मंगलीले अनलाइनखबरसँग भनिन्, ‘बाँध बनाउँदा र भत्किँदा पनि ताल फरक भएको थियो ।’

२०१८ सालमा भारतीय सहयोग मिसनको आर्थिक सहायतामा फेवातालमा बाँध बाँधिएको थियो । सिँचाइका लागि नहर, त्यसैबाट बिजुली निकालिएको थियो । ११ ढोका राखेर बनाइएको २९४ मिटर लामो र ४६ फिट अग्लो बाँध २०३१ सालमा भत्कियो । ‘०३१ साल पुस १७ गते बाँध भत्किएपछि तालमा बगाएर ल्याएका रुख र त्यसका ठूटा देखिए,’ मंगलीले त्यो क्षण सम्झिँदै भनिन्, ‘त्योभन्दा अघि ढुंगामा जानुपर्ने तालबाराही मन्दिरमा हिँडेरै जान सक्ने भयो ।’

त्योबेला आधाजसो ताल सुकेर पानीको भाग पनि जमिनमा परिणत भएको मंगलीको अनुभव छ । मंगलीले भन्छिन्, ‘बाँध बाँधेपछि फेरि ताल पहिलेजस्तै भयो ।’ २०३४ सालमा तत्कालीन प्रधानमन्त्री कृतिनिधि विष्टले शिलान्यास गरेर थालिएको बाँध पुनर्निर्माणको काम २०३८ सालमा सकिएपनि २०४१ सालमा तत्कालीन जलस्रोतमन्त्री पशुपतिशमशेर जबराले उद्घाटन गरेका थिए । त्यसयता फेवातालको पानी ठूलो मात्रामा सुकेको मंगलीलाई याद छैन ।

एक्कासी शुक्रबार तालको पानी धेरै घटेको मंगलीले सुनिन् । शनिबार उनी आफैं हेर्न गइन् । ‘म दंग परे, बाँध बने यता यसरी सुकेको कहिल्यै देखेकी थिइनँ,’ मंगलीले भनिन्, ‘पानी छोडिदिएको हो कि सुकेको केही पत्तै भएन ।’

फेवातालको पानी एक्कासी सुकेपछि मंगलीजस्तै धेरै जनाले आश्चर्य व्यक्त गरेका छन् । सीमांकन तथा नक्सांकनको काम भइरहेका बेला एक्कासी तालको सतह घटेपछि सर्वसाधारण तथा अन्य सरोकारवालाले पनि चासो देखाएका छन् ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका अनुसार अहिले तालको पानी सुक्नुको कारण बाँध मर्मत हो । बाँध निर्माण भएको ४० वर्षसम्म मर्मत भएको थिएन । पानीको बहाब नियन्त्रण गर्ने रबरसिल्ड र डाउनस्टिम साइट मर्मत गर्न शुक्रबार रातिदेखि तालको पानी घटाइएको र अहिले घटाउने क्रम रोकिएको कास्की प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिए ।

‘२ मिटरसम्म तालको सतह घटाउन लागिएको थियो । तर, सर्वसाधारण तथा अन्य सरोकारवालाको पनि धेरै चासो भएपछि तत्काल प्राविधिक बैठक राख्यौं,’ आचार्यले भने, ‘अहिले १ मिटरमात्र पानीको सतह घटेको छ । यही सतह कायम गर्दा मर्मत गर्न सकिन्छ कि सकिँदैन भनेर अध्ययन गरिरहेका छौं । अझै ३/४ दिन यही सतह कायम राखेर परीक्षण गर्छौं ।’

उनका अनुसार फेवातालको पानीको सतह ३ मिटर घटाउँदा ०३१ सालमा ताल फुटेर बनेको तालको आकार बराबर नै हुन आउँछ ।

तालको दक्षिणी भागमा रहेको बाँध मर्मत गर्न पर्वतको हरिबसु निर्माण सेवा प्रालिले १ करोडमा ठेक्का पाएको छ । मर्मतका लागि पानीको सतह घटाइएकाले यसलाई प्राविधिक विषयका रुपमा लिन प्रमुख इन्जिनियर आचार्यले आग्रह गरे । नापी कार्यालय कास्कीका प्रमुख तथा फेवाताल सीमांकन तथा नक्सांकन समितिका सदस्य सचिव खिमलाल गौतमले बाँध मर्मत गर्नुपर्ने प्राविधिक कारणले फेवातालको सतह घटेकाले भ्रममा नपर्न आग्रह गरेका छन् ।

तर तालको पानीको सतह घट्दै छ भन्ने जानकारी नपाउँदा पालेका धेरै माछा मरेको गुनासो ज्ञानबहादुर जलारीले बताए । पानीको सतह घटेपछि ढुंगा घाटमासमेत समस्या भएको फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए ।

तस्वीर : सुदर्शन रञ्जीत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment