
हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ले चलचित्र ‘सेन्टी भाइरस’ आफ्नै कारणले उत्कृष्ट बन्न नसकेको स्विकार गरेका छन् । चलचित्र पत्रकार संघ नेपाल, चितवन शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै सितारामले भने–‘सेन्टी भाइरस आफैमा सेन्टी हुनुपर्ने अवस्था आयो । यो पीडामा मनमा धेरै छ । हामीले चलचित्रलाई क्रिकेट रंगशाला निर्माण अभियानसँग पनि जोडेका थियौं । तर, कोरोना महामारीका कारण चलचित्र विदेशका थुप्रै स्थानमा रिलिज हुन पाएन । यो कुरा सोच्यो भने म आफै सेन्टी नै हुन्छ ।’
उनले चलचित्र निर्माण आफूहरुका लागि एउटा सिकाई भएको पनि बताएका छन् । भने–‘चलचित्र दर्शकहरुको चाहना अनुरुप उत्कृष्ट बन्न सकेन । यसको लागि म नै दोषी थिएँ । रंगशाला निर्माण अभियानका कारण मैले नै चलचित्रलाई धेरै समय दिन सकिनँ ।’
सितारामले रंगशालाको सम्पूर्ण काम सकेर आफूहरु चाडै नै अभिनयनमा फर्किन चाहेको पनि बताएका छन् । उनले, रंगशालाको भौतिक प्रगती भैरहेको भन्दै वैशाखसम्म एउटा सुखद समाचार आउन सक्ने पनि खुलाए ।
तर, रंगशाला निर्माणका क्रममा १० करोड भन्दा बढी उधारो रहेको भन्दै आफूहरु निराश नभएको बताए । रंगशाला आफूहरुको मात्र प्रोजेक्ट नभएको भन्दै उनले सबैबाट साथ र सहयोग पाउने आशा व्यक्त गरे ।
प्रतिक्रिया 4