२७ माघ, कर्णाली (सुर्खेत) । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चालु आव २०७७/७८ को ६ महिनामा एक अर्ब ३६ करोडको तरकारी र फलफूलको कारोबार भएको छ ।
कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले सङ्कलन गरेको अर्थ बजारको तथ्याङ्कअनुसार एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६०० कारोबार भएको छ । मुलतः वर्षे तथा हिउँदे तरकारी, बेसार, अलैँची, तरकारी बिउ, वर्षे मकै, बदाम, कन्येच्याउ, लिची, आँप, सुन्तला, वर्षे तथा हिउँदे आलु, जुनार (मौसम), अदुवा र लसुनमा भएको कारोबारलाई पहिलोपटक तथ्याङ्कमा निकालिएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।
‘हामीले सुर्खेत जिल्लामा पहिलोपटक लिएको फलफूल र तरकारी बालीवस्तुको आर्थिक कारोवार हो’, निर्देशक रोकायले भने, ‘उत्पादित बालीवस्तुबाट भएको आन्तरिक तथा बाह्य कारोवार कति भएको छ भन्ने कुरा यो प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।’
उनले भने, ‘सुर्खेत राजधानी भएर कर्णालीका अन्य जिल्लाबाट आएको तरकारी तथा फलफूलको कुरा हुनसक्छ, निर्यात कारोवार तेब्बरले भएको देखिन्छ ।’
उनका अनुसार सुर्खेत जिल्लाभित्र भएको ५३ हजार ५५३ क्विन्टलबाट रु २३ करोड १४ लाख २३ हजार ४०० कारोवार भएको छ भने सुर्खेतबाट बाहिर निर्यात दुई लाख २५ हजार ५८९ क्विन्टलमा रु ८० करोड ५३ लाख ६९ हजार २०० कारोबार भएको छ । यो प्रारम्भिक तथ्याङ्क भएकाले यसको प्रशोधन गरिने निर्देशक रोकायको भनाइ छ ।
निर्देशनालयका अर्थविज्ञ प्रिया थापाले यहाँ उत्पादित कन्येच्याउ दुई हजार ७२५ क्विन्टलबाट ६ करोड २६ लाख ७५ हजार, हिउँदे तरकारी २० हजार ५६७ क्विन्टलबाट ६ करोड १७ लाख एक हजार र वर्षे तरकारी १८ हजार ४८८ क्विन्टलबाट पाँच करोड ९१ लाख ६१ हजार ६०० आन्तरिक कारोवार भएको बताए ।
‘कारोबार भएका तरकारी तथा फलफूल बालीमा आयातभन्दा कर्णालीले उत्पादन गरेका फलफूल र तरकारी बालीवस्तु नै छन्’, अर्थविज्ञ थापाले भने, ‘उत्पादित बालीवस्तुबाट भएको कारोवारमा कर्णालीले कति निर्यात र आयात गर्दोरहेछ भन्ने कुराको निर्क्यौल गरिनेछ ।’ पहिलोपटक लिएका तथ्याङ्कको प्रमाणीकरण गरिने उनले बताए ।
त्यसैगरी निर्यातित वर्षे तरकारी एक लाख ६६ हजार ४६१ क्विन्टलबाट ५३ करोड २६ लाख ७५ हजार २००, हिउँदे आलु २७ हजार ६७५ क्विन्टलबाट १२ करोड ७३ लाख पाँच हजार, हिउँदे तरकारी १७ हजार ५४८ क्विन्टलबाट पाँच करोड २६ लाख ४४ हजार र सुन्तला पाँच हजार ८५६ क्विन्टलबाट तीन करोड ८० लाख ६४ हजार बाह्य कारोबार भएको अर्थविज्ञ थापाले बताए ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4